|
तस्विर–गोरखापत्र दैनिक

ओखलढुंगा : आमनेसामने दुई भिन्न संरचना छन्, एउटा मान्द्रो (चित्रा) ले बेरेको र मान्द्राले नै छाएको छाप्रो र अर्को चाहिँ ढुङ्गाको गारोको र जस्ताले छाएको। झट्ट हेर्दा यी दुई बेग्लाबेग्लै परिवारका संरचना जस्तो लाग्छ तर यी एकै परिवारका संरचना हुन्– एउटा घर र एउटा शौचालय। 

सोमबारको गोरखापत्र दैनिकमा समाचार छ, यी ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका–३ का छत्र दर्जीका संरचना हुन्। मान्द्रो परिवार बस्ने घर हो र सुविधासम्पन्न जस्ताले छाएको शौचालय। शौचालयको छानो जस्ताको छ भने मान्छे बस्ने घर मान्द्रोले बारिएको छाप्रो छ। 

छाप्रामा बस्ने दर्जी परिवारलाई शौचालय ओखलढुंगा सामुदायिक अस्पताल अन्तर्गतको समुदायमा आधारित पुनस्र्थापना (सीबीआर) ले बनाइदिएको हो। पुसको कठ्याङ्ग्रिँदो जाडोमा यो टहरामा १५ महिने बालकसहित अपांगता भएका दर्जी दम्पती बस्छन्। बस्ने घर चिसो रहेको तर शौचालय भने न्यानो रहेको अनुभूति दर्जी दम्पतीको छ। 

४० वर्षीय दर्जी र उनकी श्रीमती २३ वर्षीय शर्मिला  दुवै जना अपाङ्गता भएका व्यक्ति हुन्। छत्रलाई मानसिक स्वास्थ्य समस्या छ भने शर्मिला बोलीसम्बन्धी अपाङ्गता भएका हुन्। दर्जीले नियमित मानसिक स्वास्थ्यसम्बन्धी औषधी सेवन गरिरहेको खिजिदेम्बा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख इन्द्र गौतमले बताए। 

ज्याला मजदुरी गरेर घर चलाउँदै आएका विपन्न दर्जी परिवारलाई बस्ने घरको आवश्यकता रहेको छिमेकी ज्योति नेपालीले बताए। कतैबाट जस्तापाता र केही आर्थिक सहयोग प्राप्त भए हामी स्थानीयले घर बनाइदिने सल्लाह भएको छ’, नेपालीले भने। मान्द्रोले बारेर बनाइएको छाप्रोभित्र चिसो भुइँमा सुत्दा उनीहरूका १५ महिने छोरा पटक पटक बिरामी परेको छिमेकी बताउँछन्। 

रामेछाप जिल्लाका विभिन्न स्थानमा ज्याला मजदुरी गर्दै हिँडेका दर्जी करिब दुई वर्षदेखि मात्र गाउँमा नियमित बस्न थालेको वडाध्यक्ष टङ्कराज सुनुवारले बताए। गाउँमा बस्न थालेपछि छिमेकीको सहयोगमा मान्द्रोको अस्थायी छाप्रो घर बनाइएको वडाध्यक्ष सुनुवारले जानकारी दिए। दर्जी परिवारलाई जनता आवास कार्यक्रममार्फत घर बनाउने पहल भइरहेको वडाध्यक्ष सुनुवारले बताए।  ओखलढुंगा सामुदायिक अस्पताल अन्तर्गतको समुदायमा आधारित पुनः स्थापना कार्यक्रम (सीबीआर) ले दर्जी परिवारलाई आधुनिक शौचालय निर्माण गर्न सहयोग गरेको प्रमुख तुलाराम कार्कीले बताए। 

संस्थासँग घर बनाउने बजेट नभएकाले शौचालय बनाउन सहयोग गरिएको प्रमुख कार्कीको भनाइ छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.