|

काठमाडौं : सरकारको एक मात्र डाटा सेन्टर राष्ट्रिय सूचना प्रविधि केन्द्रबाट सञ्चालनमा रहेका करिब तीन हजार ५०० वेबसाइटमा एकैपटक समस्या आएको छ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलगायतका केन्द्रबाट सञ्चालनमा रहेका सबै सरकारी वेबसाइटमा आइतबार र सोमबार समस्या आउँदा सेवाग्राही समस्यामा परेका हुन् ।

मंगलबारको गोरखापत्र दैनिकमा समाचार छ, राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक प्रदीप शर्मा पौडेलले केन्द्रमा साइबर आक्रमणको प्रयास भएको र ह्याकरले केन्द्रको सर्भरमा एकै पटक धेरै ट्राफिक पठाएकाले यस्तो समस्या आएको बताए। ‘सर्भरमा डोमेन नेम सिस्टम (डीएनएस) भन्ने हुन्छ । त्यसमा समस्या आउँदा डीएनएस अवरुद्ध भयो । त्यसो गर्दा सेन्टरको सेवा अवरुद्ध भएको हो’, उनले भने। 

उहाँले ह्याकरले भीपीएन प्रयोग गर्ने भएकाले आक्रमण कहाँबाट भयो भन्न नसकिने र सो कुरा महत्वपूर्ण पनि नभएको बताए। ‘सर्भरमा आक्रमण नहुने भन्ने हुँदैन। साइबर आक्रमण जस्तोसुकै सुरक्षित सर्भरमा पनि हुने गर्छ। जोखिम कम गर्न डाटा सेन्टरको प्रविधि र जनशक्तिमा पर्याप्त लगानी बढाउनु पर्छ’, उनले भने।

उनका अनुसार यस्तो समस्या आउन नदिन जगेडा सर्भर (मिरर सर्भर) राख्नु पर्छ तर त्यस्तो सर्भर नहुँदा सरकारी वेबसाइटहरू असुरक्षित भएका हुन्। ‘एक ठाउँको ‘सर्भर डाउन’ भएमा अर्को स्थानमा रहेको जगेडा सर्भर सञ्चालन गर्ने विषयमा हामी चुकेका छौँ । यस्तो अवस्थामा सेवा अवरुद्ध हुन नदिन दुई–तीन ठाउँमा डाटा सेन्टर राख्ने गरिन्छ’, कार्यकारी निर्देशक पौडेलले भने। उनका अनुसार भूकम्प वा अन्य प्राकृतिक विपत् हुँदा समस्या नहोस् भनेर त्यस्तो सर्भर बेग्लै भौगोलिक स्थान र दूरीमा राख्नु पर्छ तर त्यसका लागि बजेट अभाव छ। 

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका प्रवक्ता नेत्र सुवेदीले सरकारका वेबसाइट रियल टाइम चौबिसै घण्टा निगरानी गर्ने सिस्टममा बस्ने सर्भिलेन्स टिमले आइतबार समयमै साइबर आक्रमणको प्रयास भइरहेको भन्ने जानकारी दिएको बताए। सर्भर डाउनको समस्या समाधान गर्न प्राविधिक टोलीले पहल गरिरहेका छन्। यसो हुनुको कारण पहिचान पनि भएको छ । यो समस्या केही समयमा समाधान हुन्छ । काठमाडौँको सर्भर हेटौँडामा रियल टाइममा मिररिङ हुनु पर्छ। यसतर्फ हामी छिट्टै लाग्छौँ’, उनले भने। 

साइबर सुरक्षाविद् राजनराज पन्तले सर्भरको सुरक्षाका लागि फाइयरवाल, डिडस (डिस्ट्रिब्युटेड डिनायल अफ सर्भिस अट्याक) सुरक्षा सेवाका साथै विभिन्न सुरक्षा कवच सेवा विश्वासिलो कम्पनीबाट लिनुपर्ने बताए । उनले बारम्बार साइबर आक्रमणबाट केन्द्रको सर्भर डाउन हुनु भनेको राम्रो नभएको बताए। उपयुक्त सुरक्षा प्रणालीका साथै दक्ष प्राविधिक विज्ञ राख्न उनले सुझाव दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.