|

पर्वत : राष्ट्रियसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) बाट महिला ‘क्लष्टर’ बाट पर्वतकी मनरुपा सुवेदी उम्मेदवार बनेकी छिन्। सत्तारुढ गठबन्धनमा ‘सिट’ बाँडफाँटको क्रममा माओवादीले छ ‘सिट’ पाउँदा एक ‘सिट’ पर्वतले पाएको छ।

मनरूपाको मनमा राष्ट्रियसभा सदस्यमा उम्मेदवार बन्छु भन्ने आश थियो थिएन उनैलाई थाहा होला, तर उनले पाएको यो मौकामा माओवादी समर्थकहरू मात्रै नभई पर्वतवासीले पनि खुसी मानेका छन्।

माओवादीले मनरुपालाई उम्मेदवार बनाउने खबर पाएसँगै आइतबार उनलाई जिल्लाका फरक–फरक राजनीतिक दलका व्यक्तिहरूले समेत ‘फोन’ मार्फत यो निर्णयले खुसी मिलेको बताउँदै थिए।

तत्कालीन जनयुद्धको बेलामा ‘विमला’ उपनामले माओवादीको तर्फबाट भूगोलमा खटिएकी उनी एकल महिला बनेको १९ वर्ष भइसकेको छ। ०६० सालमा तत्कालीन माओवादीले म्याग्दी सदरमुकाम बेनीमा गरेको कारबाहीदेखि कास्की, पर्वत, स्याङ्जा र गुल्मीका विभिन्न भूगोलमा खटिएकी उनले जनयुद्धकै क्रममा श्रीमान् गुमाउन पुगिन्।

जिल्लाको फलेवास नगरपालिका–४ मुडिकुवाको रुग्दीमा बुबा हरि शर्मा सापकोटा र आमा जुनादेवी सापकोटाबाट २०३७ सालमा जन्म लिएकी उनको विवाह २०५७ सालमा भएको थियो। २० वर्षको उमेरमा विवाह बन्धनमा बाँधिएकी उनको दाम्पत्य जीवन चार वर्षमा नै अन्त्य भयो।

हालको कुश्मा नगरपालिका–१० पिपलटारीका यवन सुवेदी विजय सुवेदी (विकास) को नामले माओवादीमा सक्रिय थिए। जनयुद्धकै बेलामा मागी विवाहमार्फत मनरुपाले यवनसँग विवाह गरेकी थिइन्।

भारतको पन्जाबस्थित लुधियनामा बसेर पार्टी सङ्गठनमा काम गरेका यवन पार्टीमा सांस्कृतिक कलाकारको रूपमा पनि काम गर्थे। नेपाल आएपछि पनि माओवादीमा निकै सक्रिय रहेका थिए। यवन सहितका ११ जनालाई माओवादीले २०६१ साल मङ्सिर १७ गते स्याङ्जामा खटाएको थियो। पार्टीको निर्देशन अनुसार खटिएको ११ जनाको समूहलाई तत्कालीन शाही नेपाली सेनाले स्याङ्जाकै शिर्शिकोटमा फेला पार्‍यो। सेनाले घेराबन्दीमा पारेर कारबाही गर्दा सुवेदी सहितका पाँच जनाको देहावसान भयो भने छ जनाले भागेर ज्यान बचाउन सके।

श्रीमानको सहादतलाई शक्तिमा बदलेर आफू निरन्तर रूपमा राजनीतिमा सक्रिय रहँदै आएको मनरुपा सुनाउँछिन्। जनयुद्धको क्रममा प्राणको प्रवाह नगरी विभिन्न जिल्लामा खटिएर परिवर्तनका लागि तयार रहेको व्यक्ति विचलित हुन नहुने उनी बताउँछिन्। ‘जनयुद्धको डरलाग्दो अवस्थाका बेलामा पनि प्राणको आहुति गर्न हामीमा कुनै डर नै थिएन। त्यसमा पनि श्रीमान्लाई जनयुद्धकै क्रममा गुमाएकी म मा पीडा सहने बानीको विकास भइसकेको थियो’, उनले भनिन्, ‘म पार्टीमा पदको लागिभन्दा पनि पार्टीको हितका लागि काम गर्दै आइरहेकी छु। मेरो कर्ममा पार्टीले पनि राम्रो मूल्याङ्कन गर्दै आइरहेको छ र अहिले पनि गरेको छ।’

श्रीमान्को सहादतले  विचलित नभई निरन्तर रूपमा राजनीतिमा सक्रिय रहँदै आएकी उनले पार्टीमा आफूले अवसर पाउनुपर्ने भनेर त्यति धेरै ध्यान दिइनन्। यद्यपि पार्टीका तर्फबाट उनी राम्रो मूल्याङ्कनमा रहँदा बेला बेलामा अवसर पनि पाउँदै आएकी छिन्।

२०५७ सालमा अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीमा आबद्धता जनाउँदै राजनीतिक यात्रामा प्रवेश गरेकी मनरुपा त्यही बेलामा माओवादीबाट तत्कालीन पिपलटारी गाविसको सदस्यसमेत बनिन्।

विस्तारै खरो राजनीतिमा सक्रियता बढाएकी उनी माओवादीको एरिया कमिटी सदस्य हुँदै २०६३ सालमा जिल्ला कमिटी सदस्य बनिन्। त्यसयता नेपाल महिला सङ्घ क्रान्तिकारीको जिल्ला अध्यक्ष र केन्द्रीय सदस्यसमेत बनेकी मनरुपा अहिले सोही सङ्गठनको केन्द्रीय सचिवालय सदस्य रहेकी छिन्।

माओवादीको जिल्ला कोषाध्यक्ष हुँदै प्रदेश कमिटी सदस्यसमेत बनेकी मनरूपा अहिले पनि विभिन्न सामाजिक सङ्घ संस्थाहरूमार्फत राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय छिन्। २०६४ सालमा भएको संविधान सभा सदस्यमा पार्टीबाट ‘टिकट’ पाए पनि उनले नेपाली कांग्रेसका नेता अर्जुनप्रसाद जोशीसँग पराजय भोग्नुपरेको थियो। २०७० सालमा समानुपातिकतर्फको बन्द सूचीमा रहे पनि उनी संविधानसभा सदस्य बन्न सकिनन्।

२०७४ सालको निर्वाचनमा समानुपातिकतर्फ नै गण्डकी प्रदेशसभाका लागि बन्द सूची र २०७९ सालको निर्वाचनमा समानुपातिकतर्फको उम्मेदवारको रूपमा बन्द सूचीमा उनको नाम रहेको भए पनि उनीसमक्ष त्यो अवसर आइपुग्न सकेन।

निरन्तरको असफलताले नै अभ्यास बढाउने र अभ्यासले नै व्यक्तिलाई सफल बनाउने आफ्नो मानसिकताका कारण पनि आफू कहिल्यै विचलित नभएको मनरुपाले सुनाइन्।

राजनीति व्यक्ति केन्द्रित भन्दा पार्टी र राष्ट्र केन्द्रित हुनुपर्ने आफ्नो मान्यता रहेकोले निर्वाचन हार्नुले वा समानुपातिकमा नपर्नुले आफूलाई चोट नलागेको उनको भनाइ छ।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.