|

काठमाडौं : जंगबहादुर राणाको शासनकालमा महिलामाथि हुने विभेदको विरोध गरेकी समाज सुधारक महिला योगमायालाई नेपालको इतिहास लेखनका क्रममा नसमेटिएको एक बहस कार्यक्रमका वक्ताहरुले बताएका छन्। भोजपुर जिल्लामा वि. सं. १९२४ (योगमायाको जन्ममिति यहीँ हो भन्ने थाहा नभएपनि उनीबारे लेखिएका केही पुस्तकमा यो मिति उल्लेख छ।) मा जन्मेकी योगमाया न्यौपानेबारे आवश्यक अध्ययन नगरिएको सहभागीले बताए।

'आह्वान' समूहले काठमाडौंमा आयोजना गरेको नियमित बहस कार्यक्रममा योगमायाबारे नेपालको इतिहास पूर्वाग्रही रहेको प्रकाशक तथा लेखक डा. अर्चना थापाले बताइन्। उनले भनिन्, 'योगमायालाई नेपालको इतिहासमा ठाउँ दिइएको छैन। उहाँका बारे ओरल हिस्ट्री (कथ्य इतिहास) मात्र छ।'

उनले अगाडि भनिन्, 'हाम्रो इतिहासमा योगमायाबारे छैन। परापूर्वकालका राजा महाराजाहरुको बारेमा छ तर तीन पुस्ता पहिलेकी भोजपुरमा जन्मेकी योगमायाबारे भने इतिहासमा केही भेटिँदैन।' तत्कालीन समयमा समाजका कुरीति, भ्रष्टाचार, जग्गाजमिन हडप्ने, वाहुनवादी परम्परा, महिलामाथिको विभेदबारे विद्रोह गर्ने महिलालाई इतिहास लेखकको राजनीतिले गर्दा नसमेटिएको थापाको भनाइ थियो। उनले 'अब नेपालको इतिहासलाई सच्याउने बेला आएको', बताइन्।

अनुसन्धाता उत्तमप्रसाद पन्तले योगमायाबारे नेपालमा थोरै मात्र अध्ययन भएको बताए। उनले भने, 'जति अध्ययन हुनुपर्ने हो त्यति भएको छैन। अध्ययन गर्नुपर्ने विषय प्रसस्त छन्।' योगमायाबारे अध्ययन गर्न क्रमको अनुभव सुनाउदै उनले भने, 'चन्द्र शमशेर र जुद्ध शमशेरलाई भेटेरै आफ्ना माग राखेको र माग पूरा नहुँदा आत्मदाह गर्नु त्यतिखेरका लागि विद्रोह थियो।' योगमायाको त्यतिबेलाको विद्रोहले राणा शासनलाई समेत धक्का दिएको उनले बताए।

योगमायाको जीवनबारे अनुसन्धान गरेर उपन्यास लेखिरहेकी साहित्यकार निलम कार्की 'निहारीका' अनुसन्धानका क्रममा योगमायाबारे नयाँ नयाँ तथ्य भेटिँदै गरेको बताइन्। 'अनुसन्धानका क्रममा योगमायाको विवाह, आन्दोलनका नयाँ कुरा खुल्दै भेटिँदै गएका छन्।' योगमायालाई धार्मिक, कवि र समाज सुधारकका रुपमा बुझ्नुपर्ने भन्दै उनको जीवनबारे खोज गर्नुपर्ने कुरा धेरै रहेको बताइन्।

तीनजना महिला श्रष्टा प्रकाशक एवं लेखक डा. अर्चना थापा, समिक्षक एवं लेखक कुमारी राई र लेखक उमा सुवेदी रहेको समूह 'आह्वान'ले योगमायाबारे गरेको बहस कार्यक्रममा कविहरु ज्योति जंगल, हरिमाया भेटवाल, सविता विमली र विना थिङ तामाङले योगमायाका बारेमा लेखिएका कविता वाचन गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.