|

काठमाडौँ : सोमवारदेखि पश्चिमी वायुको प्रभावका कारण सामान्य पानी पर्नसक्ने सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार आज (आइतवार) आंशिक प्रभाव परेको छ। जसका कारण पहाडी क्षेत्रका १/२ स्थानमा आंशिक बदली भएर बाँकी स्थानको मौसम सफा रहनेछ।

विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार भोलिदेखि पश्चिमी वायुको प्रभाव अलि बढी हुने भएकाले सामान्य वर्षाको सम्भावना रहेको छ। 

उनले भने, ‘आज पश्चिमी वायुको प्रभाव आंशिक रूपमा रहेको छ। रातिदेखि अलि बढी प्रभाव रहने भएकाले सोमवार र मंगलवार सामान्य वर्षाको सम्भावना रहेको छ। तराईमा भने वर्षाको सम्भावना छैन।’

वर्षा भए पनि १० मिलिमिटरभन्दा थोरै नै पानी पर्ने उनको भनाइ छ। सोमवार रातिदेखि गण्डकी, कोशी र बागमती प्रदेशका पहाडी भूभागका १/२ स्थानमा सामान्य वर्षा तथा देशका उच्चपहाडी तथा हिमाली भूभागका १/२ स्थानमा हलुका हिमपातको सम्भावना छ।

मंगलवार केही ठाउँमा वर्षा हुनेछ भने कोशी र गण्डकीका केही ठाउँ र बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका १/२ स्थानमा हलुका हिमपातको सम्भावना रहेको मौसमविद् अधिकारीले बताए।

उनका अनुसार तराईमा लागिरहेको हुस्सुसमेत भोलिदेखि हट्दै जानेछ। उनले भने, ‘तराई क्षेत्रमा वायुमण्डल स्थिर रहँदा वाहानदेखि हुस्सु लागेको छ। पश्चिमी वायुको प्रभावका कारण भोलिदेखि वायुमण्डल चलायमान हुने भएकाले तराई क्षेत्रमा लागेको हुस्सु हट्दै जानेछ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.