|

विराटनगर : विराटनगरमा असार ४ गते मनोनयन दर्ता हुँदै गर्दा अन्य दलका उम्मेदवारहरु कार्यकर्ता र समर्थकका हुलसहित नाराबाजीका साथ मुख्य निर्वाचन कार्यालय वीरेन्द्रसभा गृह पुगे। कांग्रेस पनि हुलसहित जान नसक्ने पार्टी होइन। तर, प्रमुखका उम्मेदवार भीम पराजुली एक्लै दिउँसो २ः१५ बजे लुसुक्क निर्वाचन आयोगको कार्यालय पुगे र नाम दर्ता गराए। पछि भेद खुल्यो पराजुलीले साइत हेराएर मनोनयन दर्ता गरेका रहेछन्। 

यस्तै भोटिङको समय आयो। अरु उम्मेदवार भोट हाल्न बिहान–बिहानै लाम लागे, तर पराजुली बिहान १०ः३० बजेको समयमा भोट खसाले। पराजुलीले भोट हाल्दा पनि साइत हेराएरै भोट खसाले। 

पराजुलीले किन साइत हेराउँछन् धेरैको जिज्ञासा होला। तर उनी धार्मिक आस्था राख्ने मानिस हुन्। ‘म ईश्वरप्रति विश्वास राख्ने मान्छे हुँ,’ पराजुलीले प्रमुखमा निर्वाचित भएपछि भने, ‘मेरो आस्था र विश्वासले गर्दा यो ठाउँमा आउन सफल भएको छु, अब पनि मैले विराटनगरको समृद्धि र विकासका लागि ध्यान गर्ने र साइत हेरेर काम गर्नेछु।’ अहिले पनि पराजुली बिहान घरमा १ घण्टा आराधना र पूजा अर्चना गर्ने गर्छन्। 

नगर प्रमुखमा निर्वाचित भएपछि पराजुलीले आफ्नो पहिलो प्राथमिकता नगरका सडकलाई दुरुस्त बनाउने तथा धुलो र हिलोबाट सडकलाई मुक्त गर्ने रहेको बताएका छन्। जनतालाई सहज रुपमा सेवा प्रवाह गर्ने र सय दिनमा राहत अनुभव हुनेगरी काम गर्ने उनले बताए। एसियाली विकास बैङ्कबाट भइरहेको सडक र ढलको निर्माण कार्यलाई तीव्र बनाउने उनले बताएका छन्।

विरानगरको वडा नं. ३ मा निम्नमध्यम वर्गीय परिवारमा जन्मिएका ४२ वर्षका भीम पराजुली नेपाल विद्यार्थी संघमा संलग्न हुँदै राजनीतिमा सक्रिय भएका हुन्। उनी २०४६ सालको जनआन्दोलनमा जनता माविमा पढ्दैगर्दा जनआन्दोलनमा सरिक हुन्थे। 

महेन्द्र मोरङ क्याम्पसमा २०५५ सालमा स्ववियु सदस्य, २०५७ मा कोषाध्यक्ष र २०५९ मा सचिव भएका उनले २०६१ को निर्वाचनमा भने सभापति पदमा पार्टीको टिकट पाएनन्। टिकट नपाएपछि उनी टिमसहित बागी उम्मेदवार भए र आफूसहित आफ्नो टिमलाई नै जिताए। उनी २०६८ सालमा पहिलो पटक र २०७२ सालमा दोस्रो पटक पार्टीको नगरसभापति निर्वाचित भए।

विराटनगरमा धार्मिक, सामाजिक र शैक्षिक कार्यक्रमहरूमा पनि बाक्लो उपस्थिति राख्ने भीम विभिन्न स्कुल, कलेज र एक अस्पतालका सञ्चालक पनि हुन्। युवाहरुमाझ लोकप्रिय उनले प्रमुखमा विराटनगरका लोकप्रिय मत पाएका छन्। सबै वडामा कांग्रेसका अन्य उम्मेदवारभन्दा धेरै मत उनले पाएका छन्।

सफल पराजुली

प्रजातन्त्रको पुनर्स्थापनापछि २०४९ सालमा भएको पहिलो स्थानीय निर्वाचनमा विराटनगरका २२ मध्ये २० वटा वडाअध्यक्षसहित कांग्रेसका अशोक कोइराला प्रमुख र गङ्गा भगत उपप्रमुखमा निर्वाचित भएका थिए। त्यसको ५ वर्षपछि २०५४ मा भएको निर्वाचनमा १३ वडाध्यक्षसहितम एमालेका रमेशचन्द्र पौडेलले प्रमुख र भुराज राईले उपप्रमुखमा जित निकाले।

अहिले २५ वर्षपछि विराटनगरमा भीमले पुनः कांग्रेसको साख फर्काएका छन्। उनलाई प्रमुखको उम्मेदवार बन्न नदिन पार्टीका सांसद र पूर्वजिल्ला सभापति अमृत अर्यालयले ठूलो जोडबल लगाएपनि असफल भएका थिए। अन्ततः २०५४ सालमा अर्यालले जित्न नसकेको विराटनगरमा भीमले जितेर आफ्नो क्षमता देखाइदिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.