|

काठमाडौँ : मधेश प्रदेशले प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल एपिएफ क्लबलाई ५ विकेटले पराजित गरेको छ।

जितसँगै मधेशले ४ खेलमा ४ अंक जोडेको छ। पहिलो पराजय बेहोरेको एपिएफको पनि ३ खेलबाट ४ अंक नै छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एपिएफले प्रस्तुत गरेको २४७ रनको लक्ष्य मधेशले ४८ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो। 

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित ५० ओरभमा ९ विकेट गुमाउँदै २४६ रनको योगफल तयार पारेको थियो। 

शेर मल्लको उत्कृष्ट बलिङ र किरण ठगुन्नाको उत्कृष्ट ब्याटिङप्रेरित सुदूरपश्चिम प्रदेशले प्रतियोगितामा लगातार तेस्रो खेल जितेको छ।

सुदूरपश्चिमले गण्डकी प्रदेशमाथि १०८ रनको फराकिलो जित निकालेको हो। जितसँगै सुदूरपश्चिम ३ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ। तीनै खेलमा पराजित गण्डकी अंकविहीन छ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा सुदूरपश्चिमले प्रस्तुत गरेको २०२ रनको लक्ष्य पछ्याएको गण्डकी ३० ओभर २ बलमा ९३ रनमै समेटियो।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएका सुदूरपश्चिमले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २०१ रनको योगफल तयार पारेको थियो। आजै भएको अर्को खेलमा कोशी प्रदेशलाई नेपाल आर्मीले ९ विकेटले हराएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.