|

धनकुटा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले धन कमाउन नभई देश बनाउन लागेकाले एमालेमा जनलहर आएको बताएका छन्। स्थानीय तहको निर्वाचनमा धनकुटाको सबै ७ वटा तह जितेपछि बधाई दिन शनिबार धनकुटा आएका ओलीले यस्तो बताएका हुन्।

धनकुटा राजनीतिक केन्द्र बनेको भन्दै ओलीले अब एमालेको नेतृत्वमा धनकुटा चीन र भारत बीचको एक व्यापारिक केन्द्र बन्ने बताए। धनकुटा कृषि, पर्यटन र शैक्षिक क्षेत्रमा अगाडि रहेको सन्दर्भमा धनकुटाको तमोर नदीमा हाइड्रोपावर सञ्चालन गरेर धनकुटालाई थप समृद्ध बनाइने ओलीले बताए।

धनकुटालाई व्यापारिक केन्द्र बनाउनको लागि भारतको जोगवनीबाट चीनको किमाथांकासम्म जोड्ने तमोर करिडोरको तीव्र विकास र विस्तार गरिने ओलीले बताए। विराटनगरमा एमाले पछि परेकाले पनि अब धनकुटालाई प्राथमिकता दिइने अध्यक्ष ओलीको भनाइ थियो।

ओलीले नेकपा एमाले जनताको पार्टी भएकाले स्थानीय तहमा ठूलो पार्टी भएको भन्दै जनताको काम गर्न सधैं तत्पर रहेको बताएका छन्।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले एमालेले जाति, धर्मको राजनीति नगरेर जनताको पक्षमा राजनीति गर्ने बताउँदै त्यहीँ कारणले २ नम्बर प्रदेशमा पनि आगामी चुनावमा पहिलो पार्टी एमाले बन्ने बताए। तराईका जनता बन्दले आजित भएका कारण त्यहाँका जनताले एमाले आओस् भन्ने पक्षमा रहेको ओलीको दाबी थियो।

एमाले धन कमाउन नभई देश बनाउन लागेकाले जनलहर एमालेमा उर्लिएको भन्दै ओलीले नेपालको भविष्य उज्यालो भएकाले यसलाई सफल बनाउन एमालेले मात्रै सक्ने दाबी गरे। एक अर्को प्रसंगमा ओलीले आगामी चुनावपछि एमालेले बहुमत ल्याएर सरकारमा जाने र सरकारमा धनकुटाको मन्त्री पक्का भएको घोषणा गरे। धनकुटाका सात वटै स्थानीय तहमा एमालेले विजयी हासिल गरिसकेकाले धनकुटा आधुनिक विकसित, सुन्दर ठाउँ बन्ने ओलीको भनाइ थियो ।

धनकुटाको सातै तहमा एमालेलाई जिताउन महत्वपूर्ण भूमिका खेलेको भन्दै ओलीले एमाले धनकुटाका अध्यक्ष राजेन्द्र राईलाई माला लगाएर सम्मान गरेका थिए भने धनकुटाको पाख्रिबास नगरपालिकामा ५२ पदमा ५२ जिताउन सफल भएकोमा एमाले पाख्रिबास नगर कमिटी संयोजक शान्तिराम गौतमलाई सम्मान गरेका थिए । कार्यक्रममा एमाले सचिव प्रदिप ज्ञवालीले एमाले विरुद्धको चक्रव्युह तोडिएको भन्दै प्रदेश न २ मा एमालेले बहुमत ल्याउने बताए।

कार्यक्रममा एमालेका अर्का सचिव भीम आचार्य, केन्द्रीय सदस्यहरु सुर्य थापा र हिक्मत कार्कीले पूर्वप्रधानमन्त्री स्व सुर्यबहादुर थापा र उनका छोरा सुनिल बहादुर थापाप्रति इंगित गर्दै धनकुटामा पुरानो शासन व्यवस्था बाबुबाट छोरामा शासन सार्ने प्रवृत्ति अन्त्य भएको बताए।कार्यक्रममा काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख केशव स्थापित,धनकुटाका प्रमुख तथा उपप्रमुखहरुको तर्फबाट धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ लगायतले बोलेका थिए।

गत असार १४ गते सम्पन्न स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा एमालेले धनकुटाका सात वटै स्थानीय तहमा प्रमुख र उपप्रमुख जितेको थियो भने धनकुटा जिल्लामा ३ सय १३ पदका लागि भएको निर्वाचनमा एमाले २ सय ६० स्थानमा विजयी भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.