|

सर्लाही : नेपाल सरकारका कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसालले सिँचाइका लागि चुरेको फेदीबाट नहर नबनाए तराई मरुभूमि बन्ने चेतावनी दिएका छन्।

सर्लाहीको हरिवनमा आजबाट शुरु भएको ‘दोस्रो डेरी कृषि अनुसन्धान उत्पादन तथा कृषि औजार प्रदर्शनी’ मेलामा सम्बोधन गर्दै उर्वरभूमि भएर पनि सिँचाइको अभाव किसानले आकाशे पानीमा भर पर्नुपरेको बताए।

उनले निकट भविष्यमै सरकारले सिँचाइको व्यवस्था नगरे देशमा ठूलै खाद्य संकट निम्तिने खतरा रहेको बताएका छन्। त्यसैले खाद्य संकट समाधान गर्नुपर्ने वेला आइसकेको उनको कथन छ। अहिले तराईका १७ प्रतिशतमात्र भूमि सिंचित रहेको बताए। उनले नेपाल कृषि प्रधान देश भएर पनि कृषिलाई प्रधानता दिएर काम नगरेको उनको भनाइ छ।

‘मधेश प्रदेशको सान, दुग्ध र कृषि क्षेत्र हामी सबैको पहिचान’ भन्ने मूल नाराका साथ दोस्रो डेरी कृषि अनुसन्धान उत्पादन तथा कृषि औजारको प्रदर्शनी महोत्सव माघ ७ गतेसम्म चल्ने आयोजकले जानकारी दिएको छ।

मेलाको आयोजक हरिवन नगरपालिका, प्रदेश दुग्ध विकास बोर्ड मधेश र कृषि अनुसन्धान निर्देशनालय परवानीपुर मुख्य आयोजक छन् भने कृषि ज्ञानकेन्द्र सर्लाही, इन्दुशंकर चिनी उद्योग हरिवन, हेल्भेटास नेपाल, हेफरइन्टरनेशनल सह–आयोजक छन्।

कृषि पेशाको विकास, प्रवर्धन, बजारीकरण र यन्त्रीकरणमार्फत कृषि उत्पादन बढाउने मेलाको उद्देश्य रहेको छ। मधेशका किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको हरिवन–४ का वडाध्यक्ष तथा मेला मूल आयोजक समितिका संयोजक केशवराज थापाले जानकारी दिए। मेलामा कृषि उत्पादन, दुग्धजन्य पदार्थ र कृषि यन्त्र लगायतका स्टल, पशु उपचार, माटो, गोबर परीक्षण गर्ने व्यवस्था मिलाइएको जानकारी दिए।

मेलामा कृषिसँग सम्बन्धित ६० वटा स्टल रहेका छन्। महोत्सव सम्पन्न गर्न करिब २६ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको हरिवन–३ का वडाध्यक्ष तथा महोत्सव आर्थिक समितिका संयोजक दीपमान लोप्चनले जानकारी दिए। ३० हजारभन्दा बढीले मेला अवलोकन गर्ने अपेक्षा राखेको उनले बताए।

हरिवन नगरपालिकालगायत विभिन्न संघसंस्थाबाट आर्थिक सहयोग संकलन गरिएको महोत्सव आर्थिक संयोजक लोप्चनले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.