‘शिक्षामा सुधार ल्याउँदै अध्यापन गर्नेछु’
‘शिक्षामा सुधार ल्याउँदै अध्यापन गर्नेछु’
काठमाडौं : ‘पहिला मेरी छोरीले धेरै दुःख भोगेकी छिन्, त्यही दुःख र संघर्ष गरेको फल पाउँदा हामीमा खुशीको सीमै छैन,’ थाहाखबरसँगको पहिलो कुराकानीमै वीरमाया तामाङले हामीसँग खुशी साटिन्। उनै वीरमायाकी छोरी हुन् लेकीडोमा तामाङ। जो २० वर्ष नपुग्दै कोशी प्रदेशबाट गणित विषयमा निम्न माध्यमिक तहको शिक्षकमा नाम निकालेर सिफारिश हुन सफल भइन्।
त्यसो त कान्छी शिक्षक भनेर अहिले सामाजिक सञ्जालदेखि समाजसम्म चर्चा कमाइरहेकी छिन् उनी। बधाई र शुभकामना थाप्न उनलाई भ्याइनभ्याइ छ।
उनै कान्छी शिक्षक हुन् त भनेर शिक्षक सेवा आयोग र शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा बुझ्न खोज्दा १९/२० वर्षको उमेर स्थायी शिक्षक भएको जानकारी नभएको प्रतिक्रिया दिएका छन्। यस हिसाबले पनि उनी कान्छी शिक्षक नै देखिन्छ।
उनका आमा वीरमायाका अनुसार उनी २० वर्षकी भइन्।
पाँचथरको फिदिम नगरपालिका-६ सिवा फेदामकी लेकीडोमाको अन्तिम नतिजा गत पुस ३० गते प्रकाशित भएको थियो। उनको नाम सिफारिश भएपछि परिवारसँगै उनमा खुशी छाएको छ। यसरी नाम निकाल्नुपछाडि उनका संघर्षका कथा धेरै छन्।
‘पहिला हातमुख जोर्न खेती किसानी गर्नुपर्थ्यो, उही मेरी छोरी फिदिम बजारमा साग बेच्न जान्थिन्,मनपर्ने शैक्षिक सामग्री किन्दै पढ्थिन्,कहिले पत्रिका पढ्थिन, तर कहिल्यै पढाइ भने छुटाउँदिनथिन्,’ उनकी आमा वीरमायाले भनिन्।
अहिले पनि समाजमा सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरू कमजोर हुन्छ भन्ने मानसिकता बसेको छ तर उनी सामुदायिक विद्यालयमा पढ्दा कमजोर नभइ अब्बल बन्दै प्रतिस्पर्धा गर्न सकिन्छ भन्ने उदाहरण छरेकी छिन्। लेकीडोमा सिवा फेदामको सिद्ध कालिका माविमा कक्षा १ देखि १० सम्म पढिन्।
लेकीडोमा परिवारसँग
‘पहिला सानोमा पनि पढ्दा धेरै पढाइमै ध्यान दिन्थिन्, घरायसी काममा पनि सहयोग गर्थिन्, अहिले पनि गर्छिन्,’ वीरमायाले भनिन्। २०७८ सालमा पाँचथरकै फिदिमस्थित कन्चनजङ्गा एकेडेमी माध्यमिक विद्यालयबाट गणित र शिक्षा लिएर कक्षा १२ सकेकी थिइन्। २०७९ सालमा भने अध्यापन अनुमतिपत्रको परीक्षा उत्तीर्ण गरेकी थिइन्।
‘चनचले स्वाभावकी थिइन,तर पढाइमा दख्खल’
आमा वीरमायाका अनुसार बाल्यकालमा लेकीडोमा चनचले स्वाभावकी थिइन्। उत्तिकै पढाइमा पनि दख्खल। ‘कक्षा ४ मा पढ्दै भाषणहरू गर्थिन्,’वीरमायाले भनिन्,‘पछि भविष्यमा केही न केही गर्छिन्,जागिर खान्छिन् बन्ने लाग्थ्यो,जे सोचे त्यो भयो।’
आफ्ना छोराछोरीहरू सानैबाट जे चाहान्छन्,जे लक्ष्य लिन्छन् त्यसमा अभिभावकहरू खम्बा भएर उभिनुपर्ने उनको भनाइ छ। ‘आमा,बुबाले सधैं साथ दिए छोराछोरीले आफ्नो लक्ष्य हासिल गर्न सक्छन्,त्यो उपलब्धि उसको मात्रै होइन,आम परिवारको हो,समाजलाई टेवा पुग्ने हो,’उनले भनिन्।
परिवार नै शिक्षण पेसामा
पहिला जति नै दु:ख र संघर्ष गरे पनि अहिले भने त्यो अवस्थामा उनीहरू छैनन्। लेकीडोमा मात्रै होइन उनका परिवारका बुबा,आमा शिक्षणमै संलग्न छन्। त्यसैले पनि उनलाई शिक्षिका बन्ने प्रेरणा मिल्यो। लेकीडोमाले भनिन्, ‘आमाबुबा नै शिक्षक हुनु भएकाले सानैमा उहाँहरूले आदर, सत्कार शिक्षा दिनुभयो, त्यही प्रेरणाबाट म पनि पछि शिक्षक बन्छु, यसैगरी संस्कार सिकाउँछु, पढाउँछु भन्ने प्रेरणा मिल्यो।’
उनकी आमा वीरमाया राहत शिक्षक हुन। जहाँ लेकीडोमाले पहिलो ज्ञान आर्जन गरेको स्कुल थियो। त्यही स्कुलमा उनकी आमा वीरमाया तामाङले पढाएकी थिइन्। अब भने उनले अरू विद्यार्थीहरूलाई भविष्य कोर्न सिकाउने छिन्।
उनका बुबा सन्तवीर तामाङले भने अस्थायी शिक्षक भएर पढाए र २०७६ सालमा स्थायी शिक्षक भइसकेका छन्। उनका भाइ र एक बहिनी पनि छन्। बुबा तामाङका अनुसार लेकीडोमा सानैबाट पढ्नमा अध्ययनशिल थिइन्। जिज्ञासु थिइन्। कक्षा १० मा पढ्दै गर्दा नै गणित विषयमा ट्युसनसमेत पढाउँथिन्।
‘मेरी छोरीलाई मैले नै पढाएको हुँ,उनी हाजिरी जवाफ होस या अन्य शैक्षिक कार्यक्रममा होस सँधै प्रथम हुन्थिन्, उनले कक्षा ९ पनि गणित पढाइन्, १० मा त ट्युउसन नै पढाउँथिन, बुझ्ने गरि पढाएकै कारण सरभन्दा छोरीले नै राम्रोगरि पढाउनुहुन्छ भन्ने प्रतिक्रिया आउँथ्यो,’ उनले भने।
उनी आफ्ना छोराछोरीलाई गुणस्तरीय शिक्षा दिन निजीमै भर्ना गर्नुपर्ने भन्ने मानसिकता बोक्न नहुने बताउँछन्। उनले भने,‘मेरी छोरी सामुदायिक विद्यालयमै पढेकी हुन्,र त अहिले यो उपलब्धि प्राप्त गरिन्।
‘सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्दै गणितमा अब्बल बनाउँछु’
पछिल्लो समय सामुदायिक विद्यालयमा गणित, विज्ञान र अंग्रेजी शिक्षकको अभाव छ। राज्यले समेत यसलाई व्यवस्थापन गर्न सकेको छैन। त्यसो त त्यही अभाव पदपूर्ति गर्ने लक्ष्य लेकीडोमाको छ।
‘पहिलो त अहिले गणित शिक्षक पाउनै मुस्किल छ, त्यसैले म अब जहाँ मेरो सिफारिश भए पनि उहाँहरूलाई मैले जानेका ज्ञानहरू दिने छु,’ उनले प्रण गरिन्, ‘ती ज्ञानबाट अन्य थुप्रै गणितका शिक्षकहरू जन्मिने छन्।’ शिक्षण पेशामा आउन धैर्य चाहिने उनको बुझाइ छ।
‘एक दुई पटक फेल भएपछि शिक्षक बन्ने रहर र सपना बोकेकाहरू विदेशतिर पलायन हुने चलन बढेको छ, म चाहीँ त्यो गर्नुहुँदैन भन्छु, मिहिनेत गर्नुपर्छ, धैर्य गर्नुपर्छ अवश्य सफलता मिल्छ,’ उनले अरूलाई सुझाइन्। हाल उनी मोरङको सुकुना बहुमुखी क्याम्पसमा बिएड म्याथ लिएर पढ्दैछिन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।