|

इलाम : राष्ट्रिय जागृति क्लब इटहरीको चुनौती ३–० गोल अन्तरले पन्छाउँदै विर्तामोड युनाइटेड झापा इलाममा जारी प्रथम इलाम गोल्डकपको अन्तिम ४ मा प्रवेश गरेको छ।

विर्तामोडको जितमा हिसुव थपलिया र प्रशान्त लक्समले गोल गरे। खेलको ३९औँ मिनेटमा थपलियाले विर्तामोडका लागि पहिलो गोल गरे।

खमिर गिल्सन कन्दङवाको प्रहार बारमा लागेर फर्किएपछि बललाई थपलियाले गरेको प्रहार गोलमा परिणत भयो। पहिलो हाफमा १–० ले अग्रता बनाएको विर्तामोडका लागि ५१औँ मिनेटमा थपलियाले अग्रता दोब्बर बनाए। 

पेपेले बल क्लियर गर्ने क्रममा कर्नर भएपछि लक्समले गरेको प्रहारमा देवेन्द्र तामाङको हेडर पासमा थपलियाले हेडरमार्फत नै गोल गरे।

८६औँ मिनेटमा लक्समले विर्तामोडका लागि तेस्रो गोल गरे। इटहरीका गोलरक्षक राजेश खड्का बल क्लियर गर्नका लागि डिबक्स बाहिर आएको मौकामा लक्समले गोल गरे। 

खेलको म्यान अफ दि म्याच घोषित हुँदै थपलियाले नगद ५ हजार रुपैयाँ प्राप्त गरे।

प्रतियोगिताको तेस्रो क्वार्टरफाइनल खेल सोमवार न्युरोड टिम (एनआरटी) र बागमती युथ क्लबबीच हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.