|

दाङ : शान्तिनगर गाउँपालिका-३ बस्तीखोलामा सिस्नोको पाउडर उत्पादन गर्ने उद्योग सञ्चालनमा आएको छ।

गत वर्षदेखि आमा समूहले बस्तीखोला सिस्नो पाउडर उद्योग सञ्चालनमा ल्याएको भए पनि उद्योगबाट उत्पादित पाउडरले बजार नपाएको समूहकी अध्यक्ष नन्दिका स्वर्णकारले बताइन्।

उनका अनुसार गाउँघरमा रहेका दिदीबहिनीले सिस्नो टिपेर उद्योगमा ल्याउन र त्यसलाई पाउडर बनाउने गरेका छन्।  उनले अन्य उत्पादन गर्न उद्योगका लागि धेरै सामग्रीको अभाव रहेको भन्दै सहयोग गरिदिन गाउँपालिकालाई आग्रह गरेकी छन्।

उनले भनिन्, ‘गाउँघरमा खेर गइरहेको सिस्नोलाई हामीले पाउडर बनाएर आर्थिक उपार्जन गर्न खोजेका हौँ तर हामीलाई धेरै समस्या छन्। एक त विकट ठाउँ, त्यसमा पनि पर्याप्त मात्रामा सामाग्रीहरू छैनन्, जसोतसो उत्पादन गरे पनि बिक्री हुँदैन।’

उनका अनुसार अहिले समूहमा ८ जना दिदीबहिनी आबद्ध रहेका छन्। अहिले उद्योगले उत्पादन गरेको करिब २५ किलो सिस्नोको पाउडर रहेको र त्यस बजार नपाएको उनको गुनासो छ।

उनले भनिन्, ‘अहिले दिदीबहिनीहरूले काम गर्न जाँगर मान्नु हुन्न। उत्पादन गरेको वस्तुले बजार पाउँदैन। एक केजी पाउडरको होलसेलमा ५ सय र फुटकर मूल्य ७ सय रहेको छ । तर ३/४ सयमा दिँदा पनि  बिक्री हुँदैन।’

उनका अनुसार गाउँमा सिस्नो प्रशस्त पाइन्छ तर उत्पादन भएको पाउडरले बजार नपाउँदा समस्या भएको छ। उनले बजार मूल्य पाएको खण्डमा मासिक १ सय केजीभन्दा बढी पाउडर उत्पादन गर्न सक्ने पनि बताइन्।

अहिले आफूहरूलाई  विभिन्न मेसिनरी सामग्री नभएर समस्या  रहेको उनको भनाइ छ। शुरुमा आफूहरूलाई डिकोस र ग्रीन फाउन्डेसन नेपाल संस्थाले सिस्नोको पाउडर बनाउने तालिमलगायत सामाग्रीहरू सहयोग गरेको थप सहयोगको लागि गाउँपालिकामा पहल गरेको उनले बताइन्।

बजारीकरण गर्न गाउँपालिकाले सघाउँछ : अध्यक्ष बस्नेत

​शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले उत्पादन भएका वस्तुहरू गाउँपालिकाभित्र मात्र नभइ बाहिर पठाउन सकेमात्र यहाँ पैसा भित्रिने र यहाँको आर्थिक उन्नति हुने भन्दै त्यसका लागि गुणस्तरमा ध्यान दिनुपर्ने बताए।

उनले यहाँ उत्पादन भएको सिस्नो पाउडरको बजारीकरणका लागि गाउँपालिकाले भरपुर सहयोग गर्नेसमेत बताए। उनले बस्तीखोलामा सिस्नो पाउडर उद्योग सञ्चालनमा आएको भन्ने कुरा कतिपयलाई थाहा नभएको भन्दै यसको प्रचारप्रसार गर्न जरुरी रहेको हुँदा सबैले आ–आफ्नो ठाउँबाट काम गर्नुपर्नेसमेत बताए।

उनले खेर गइरहेको समयलाई कुनै न कुनै माध्यममा जोडिएर आर्थिक आयआर्जन गर्नतर्फ लाग्न आग्रह गरे। उनले गाउँपालिका दुई भेगमा बाँडिएको भन्दै उनले माथिल्लो भेगमा गर्ने व्यवसाय र तल्लो भेगमा गर्ने व्यवसाय फरक किसिमको हुने गरेको बताए।

उनले भने, ‘हामीले जहाँ जे व्यवसाय राम्रो हुन्छ, त्यो गर्नु पर्छ। हाम्रो समयलाई त्यतिकै खेर जानु दिनु हुँदैन। हामीले गर्ने व्यवसायले बजार पाउनुको साथै उचित मूल्य पाउनु पर्छ भन्ने मान्यता पनि राख्नु पर्छ।’

यसैगरी गाउँपालिकाको कुन भेगमा कुन खेती गर्न सकिन्छ भन्ने परियोजना शुरु हुन लागेको भन्दै माथिल्लो भेगमा अदुवा, टिमुर र बेसार खेती गर्न सक्ने सम्भावना रहेको उनको भनाइ छ।

शान्तिनगरको वडा नं. ३ र १ को पहाडी भेगमा कफी खेती गर्न मिल्ने सम्भावना रहेको उनको भनाइ छ। केही दिन अगाडि काठमाडौँबाट आएको टोलीले यो ठाउँमा कफी खेती हुने सम्भावना आफूलाई जानकारी दिएको भन्दै उनले यहाँका धेरै बासिन्दाले रोजगारी पाउनेसमेत बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.