ब्लग

चुनावको रिपोर्टिङ अनुभूतिः देखेको कुरा लेख्‍न डर…
SHARES

असार २५, २०७४

    नयाँ संरचनामा पहिलोपटक हुन लागेको स्थानीय चुनावले गाँउघर धपक्कै बलेको थियो। गएको असार १४ गते हुने मतदानको लागि मौन अवधि सुरु भयो। उम्मेदवार तथा दलका नेताहरू साम, दाम, दण्ड, भेद सहित मतदाता लोभ्याउन दौडेका थिए।

    म पनि विभिन्न कोणबाट चुनावी रिपोर्टिङको दौडधुपमा थिएँ। बजार राजनीतिक दलका चुनाव प्रचार प्रसारले सामग्रीले सजिएको थियो।

    नेपालीमा समाजमा तीन वर्गका मतदाता छन्- उच्च वर्ग, मध्यम वर्ग र निम्न वर्ग। यसरी पनि भन्न सकिन्छ- सहरिया जीवन बिताउनेहरू, ग्रामीण भेगमा वर्षभरी खेतबारीबाट जीवन चलाउने र बिहान बेलुका ज्यामी काम गरेर जीविका चलाउनेहरू।

    अति विपन्न र गरिव वर्गका मतदाता धेरै समस्यामा छन्। मध्यम र उच्च वर्ग चुनाव घोषणा भएसँगै भोट मागिरहेका थिए। तर, निम्न वर्ग चुपचाप काम गर्न दौडिरहेका थिए। मेरो चासोको रिपोर्टिङ पनि त्यही ज्यामी गरेर खाने वर्गमा केन्द्रित थियो।

    म कहिले मुसहरको बस्ती पुगेँ त कहिले सदा बस्ती। फेरि गाईघाट बजारमा निर्माण भइरहेका नयाँ घरमा काम गर्ने मजुदरसँग भेट गर्न पनि पछि परिनँ। बस्तीको नाम र ठेगाना भन्दिनँ। अति विपन्न आर्थिक स्रोत भएको बस्ती हो। त्यही बस्तीमा बस्ने अधवैंशे सदा दिदीले भनिन्- ‘२०७० सालको चुनावमा हयिसाँ हथौडाले खसी काटेर खान दियो, सूर्यले हाम्रा लोग्नेहरूलाई रक्सी अनि रुखले घर खर्च।’ हलो चुनाव चिह्न लिएर उनका 'मुखिया' पनि चुनावमा उठेका थिए जसले हरेक घरमा एक एक बोरा चामल पुर्‍याएका थिए।

    सोचेँ- अति विपन्न परिवारका मतदातालाई किन्न दलका नेताहरूले केही बाँकी राखेनछन्। यो ७० सालको कुरा थियो।

    यसपटक रुख, सूर्य र हसियाँ हथौडावालाहरूले यिनीहरूलई के के दिए होलान्?

    तीनचार जनाले एकै स्वरमा भने- ‘कसैलाई नभन्नु भनेको छ।’

    थाकले छाएको फुसको घर। केटाकेटीहरू नाङ्गै मामाटो खेलिरहेका छन्। गर्मीको परबाह छैन। कुनै कुनै घरमा मात्र शौचालय छन्। नजिकैको बाँसघारीबाट दुर्गन्ध आइरहेको छ।

    दलका नेता कार्यकर्ताहरू रातको समय पारेर बस्तीमा छिर्थे। उनीहरू पनि के कम? 'मौकाका चौका हान्न' उनीहरू दलका नेता कार्यकर्तालाई पालैपालो बोलाउँदा रहेछन्।

    कुनै कुनै घरमा पार्टीका झण्डा पनि गाडिएका छन्। बस्तीका मानिसहरू सबै घरमै छन्। उनीहरू किन काममा गएका छैनन्?

    सबैले एकै स्वरमा भने- ठेकेदारलाई चुनाव लागेर काम दिएको छैन।

    'भनेको माने' ठेकेदारले वर्षभरी काम दिने भनेका छन्। सायद ठेकेदारको चासो पनि 'भोट' नै हो।

    मतदानको दिन कटारी सरर !

    असार १४ गते बिहान ६ बजे म भोट हाल्न कटारी नगरपालिका हानिएँ। मतदानको रिपोर्टिङ गर्न सवारी पास लिएको थिएँ। ७ बजे बिहानदेखि मतदान थियो। स्थानीय निर्वाचनको पहिलो मतदान त्रियुगा नगरपालिका ६ पात्लेवासको मतदान हेरेँ। फेसबुकबाटै 'थाहाखबर लाइभ अपडेट' मा फोटो प्रकाशन गरेँ।

    पात्लेवासको मतदान स्थलबाट बाहिर निस्केको के थिएँ ३०० मिटर पर सुँगुर काटेर भोज लगाइएको जानकारी आयो। केही नेताले प्रस्ताव राखे- 'खाजा खाएर जानुहोस् न पत्रकार ज्यू।'

    पानी परिरहेको थियो। मलाई खाजा भन्दा पनि भोट हाल्ने पिरलो थियो। म कटारी हानिएँ।

    जब म प्रदेश नम्बर २ मा पर्ने सिरहाको लाहान हुँदै कटारी नगरपालिका प्रवेश गरेँ, तब मैले देखेँ- सवारी पास लिएका सवारी साधनले राजनीतिक दलका झण्डा फरफराउँदै मतदाता ओसारपसार गरिरहेका थिए।

    इलाका प्रहरी कार्यालय कटारीका डिएसपी चिरञ्जिवी कोइरालाले पास दुरुपयोग गर्नेलाई नियन्त्रणमा लिए। उनीसँग फोनमा सम्वाद भैरहेको थियो। तर सवारी पास दुरुपयोग गरेका धेरै सवारी साधन भेटिन थालेपछि कोइरालाले भने- 'सिडिओ कार्यालयबाट अनावाश्यकलाई पनि पास बाँडेको पाइयो।'

    देखेको कुरा बोल्न डर…

    २० वर्षपछि नयाँ संरचनामा पहिलोपटक हुन लागेको स्थानीय चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न गर्नु सबै पेशाकर्मी, राजनीतिक दल तथा सरोकारवालको दायित्व थियो। त्यो दायित्व म आफैमाथि पनि थियो । निष्पक्ष रहेर समाचार प्रकाशन/प्रशारण गर्नु। तर मेरो अनुभव भन्छ- फिल्डमा जे देखियो, त्यो बोल्नुमा डर पनि छ।

    म १० भन्दा बढी मतदान केन्द्र पुगेँ। नानी बोकेका महिला, बृद्ध हजुरबुबा र हजुरआमाहरूको बाक्लो भीड थियो। युवाहरू कम थिए। सायद युवाहरू विदेशमा भएकोले पनि हो कि?  

    रिपोर्टिङमा देखिएको अर्को रोचक कुरा मतदानस्थल बाहिर खाजा नास्ताको भव्य व्यवस्था थियो। मतदाताहरू मतदान गरेपछि चाउचाउ, मासु र चिउरा खाइरहेको धेरै ठाउँमा देखेँ। बेलुका गाईघाट आएपछि सुनेँ- त्रियुगा नगरपालिका भित्रका मुसहर, सदा, दनुवार बस्तीहरूमा दुई लाखदेखि ५ लाखसम्म खर्च भयो।

    मलाई लाग्यो- लोकतन्त्रमा चुनाव भनेको वैधानिक धाँधली हो। जनता सचेत र शिक्षित नहुँदा मत खरिद बिक्री सामान्य बन्यो।

    दलको गुलामी गर्ने पत्रकार र पर्यवेक्षकको भूमिकामा रहेका गैह्रसरकारी संस्थाका प्रतिनिधिले मतदाताको लाइनमा बसेको भोट माग्नु कुनै नौलो भएन। आफूलाई 'स्वच्छ छवि' को भन्नेहरू पनि दलको झण्डा बोकेर चुनावमा हिँडेपछि के नै पो लाग्दो रहेछ र !

    मतगणनाको रमाइलो

    मतगणनामा पनि रोचक भयो। त्रियुगा नगरपालिकामा मतदानको भोलिपल्ट १५ गतेदेखि मतगणना सुरु भयो। मतगणनामा बसेका कर्मचारी पनि थरीथरी दलका कार्यकर्ता नै हुने रहेछन्। जुन बेला आफ्नो पार्टीको मत आउँछ, त्यो बेला ठूलो स्वरले कराउने। जुन बेला आउँदैन- सानो स्वरमा बोल्ने।

    आफू अनुकूल मत नदेखिए मतगणना छाडेर पानी पिउन जाने वा शौचालय जाने गरेका दृश्य पनि देखियो। त्यो पनि लोकतन्त्रको उपहार नै रहेछ।

    जनताले तिरेको करबाट तलब भत्ता खाने 'राष्ट्रसेवक' हरूले जनताकै मतलाई मेरो पार्टी र तेरो पार्टीको भनिरहेको दृश्य लोकतन्त्रकै लागि व्यंग्य थियो।

    र, कस्तो लोकतन्त्र?

    आमूल परिवर्तनपछिको स्थानीय तहको चुनाव यस्तै रह्‍यो।

    ३० प्रतिशत मतले ७० प्रतिशतमाथि शासन गर्ने व्यवस्था कसरी लोकतान्त्रिक भयो भन्ने प्रश्न उठिरह्‍यो। हार्नेहरू पनि त जनताले मत दिँदा दिँदै हारेका हुन्। जनताले मत दिएर पनि हारेको उम्मेदवारको मतको कदर गर्ने नयाँ कानुन चाहियो। नत्र जो ज्यामी, मजदुरी गरेर खाने वर्ग छ, त्यो विक्री भइरहने भयो। जुन वर्गको चेतना छैन, त्यो वर्गलाई राज्यको शासक बन्न पशु झैँ कहिलेसम्म किनिरहने?

    हुनेखानेका आआफ्नै राजनीतिक पार्टीका उम्मेदवार थिए। तर निम्न वर्गका न उम्मेदवार थिए न त कुनै पार्टी नै। उनीहरूलाई त मासुभात, रक्सी वा एक हजार रुपैयाँ सँगै एक पाकेट चुरोट उपहार थियो मतदानका लागि।

    उनीहरूलाई 'जनप्रतिनिधि' हरूबाट न आशा छ न त निराशा नै। चुनाव त उनीहरूलाई बिहे वा ब्रतबन्ध जस्तै थियो। आयो र गयो। चुनाव सकियो र मासुभात पनि।

विदुर कटुवाल

कटुवाल थाहाखबरका उदयपुर संवादाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

  • padam badal

    वास्तविक लाेकतन्त्रकाे अनुभूति गर्न र गराउन अझै पाँच दशक लाग्छ कि जस्ताे छ ।

  • सामाजिक संजाल

    सम्पर्क

    थाहा खबर प्रा. लि.
    मुक्तिश्री टावर
    नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    इमेलः
    समाचार विभाग: news@thahakhabar.com
    फोन : ९७७-१- ४७८६५६२
    बिज्ञापनः ad@thahakhabar.com
    फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

    हाम्रो बारेमा

    प्रधान सम्पादक: तीर्थ कोइराला
    सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

    [विस्तृत]