|

इलामा : गोलरक्षक प्रिसो जाङ्गा नायक बन्दा न्युरोड टिम (एनआरटी) इलाममा जारी प्रथम इलाम गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

उनले टाइब्रेकर प्रहारमा घरेलु टोली रेड हर्सको कप्तान नवयुग श्रेष्ठ र छिरिङ गुरुङको प्रहारलाई रोक्न सफल भए। 

निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि निर्णयका लागि टाइब्रेकर रोजिएको थियो। टाइब्रेकरमा खेल ४–३ अन्तरले एनआरटीले जीत निकालेको हो। निर्धारित ९० मिनेटको खेलमा सुरुवाती अग्रता रेड हर्सले लिएको थियो। 

खेलको ४२औँ मिनेटमा कप्तान श्रेष्ठले अग्रता दिलाए। विनोद धमलाको पासलाई सदुपयोग गर्दै श्रेष्ठले जाली चुमाएका थिए। पहिलो हाफमा १–० ले पछि परेको एनआरटी ८४औँ मिनेटमा खेल बराबरी गर्न सफल रहयो। 

टाइब्रेकरमा प्रहारमा एनआरटीका सुमित श्रेष्ठ, गोलरक्षक प्रिसो, राजिव लोप्चन र जय गुरुङले गोल गरे। सनम लिम्बुको प्रहार बारमा लागेर बाहिरिएको थियो।

ग्लोरीको प्रहार इलामका गोलरक्षक विवेक मगरले बचाएका थिए। इलामका तर्फबाट विशाल ग्लान तामाङ, पिकेश लोक्ताम र शरणविक्रम सिंह बस्नेतले गोल गरे। श्रेष्ठ र गुरुङको प्रहार गोलरक्षक प्रिसोले बचाए। 

एकराज बुढाथोकीको प्रहार बाहिरिएको थियो। जीतसँगै एनआरटीले कम्तिमा ३ लाख रुपैयाँ सुरक्षित गरेको छ। खेलको म्यान अफ दि म्याच गोलरक्षक प्रिसो घोषित हुँदै नगद ५ हजार प्राप्त गरे। उनलाई अधिवक्ता एवम  स्पोटिङ इलाम डी मेचीका अध्यक्ष सुहाङ नेम्वाङले नगद र ट्रफी प्रदान गरे। 

अन्तिम सेमीफाइनल खेलमा पाँचथर फुटबल क्लबले विर्तामोड युनाइटेड झापाको सामना गर्नेछ। पाँचथरले नेपाल सुपर लिग क्लब बुटवल र विर्तामोडले राष्ट्रिय जागृति इटहरीलाई हराउँदै अन्तिम ४ मा स्थान सुरक्षित गरेको हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.