पर्वत : हार्मोनी पोखरा र एभरेस्ट एफएम ९३ मेगाहर्जको सहआयोजनामा शनिवार पोखरामा अरुणा लामा–तारादेवी स्मृति साँझ २०८० कार्यक्रम हुँदै छ।
एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमले पोखरेली महिला कलाकारहरूको साझा संस्था हार्मोनीसँग मिलेर स्वर साम्राज्ञी अरुणा लामा र तारादेवीको स्मृति दिवसको सन्दर्भ पारेर उनीहरूप्रति समर्पित ‘अरुणा लामा–तारादेवी स्मृति साँझ’ कार्यक्रम गर्न लागेको हो।
पोखरा–९ न्यूरोड सङ्गम मार्गमा साँझ साढे पाँच बजेदेखि साढे सात बजेसम्म चल्नेछ। स्वर साम्राज्ञी अरुणा लामा र तारादेवीको स्मृति दिवसको सन्दर्भ पारेर स्वर साम्राज्ञी अरुणा लामा र कालजयी स्वरकी धनी तारादेवीलाई हार्मोनीका कलाकारले उनीहरूकै गीत गाएर सम्मान गर्नेछन्।
प्रकाश सायमीले स्मृति प्रवचनबाट कार्यक्रमको सुरुवात गर्नेछन्। त्यसपछि पोखरेली महिला कलाकारहरूले अरुणा लामा र तारादेवीका डेढ दर्जन गीत प्रस्तुत गर्ने श्रेष्ठले बताए।
मितु पालले अरुणा लामाको ‘म त चुपचाप बसेँ’ र तारादेवीको ‘आमा कुनै’ गीतबाट साङ्गीतिक प्रस्तुतिको सुरुवात गरेपछि इतु जोजिजुले अरुणा लामाको ‘यहाँ फूल नफुलेछ, तारादेवीको ‘तिम्रो माया पत्थरको’, अरुणा लामाको ‘चौतारीमा बसेर रुन पाउँ र तारादेवीको मनको निश्चलतामा’ गीत गाएर सम्मान दिनेछन्।
त्यसपछि शीतल थापाले अरुणा लामाको ‘लहरे बर घुमाउने चौतारी’ र तारादेवीको ‘एक फूल झरेर के भो’, कौशल्या गुरुङले अरुणा लामाको ‘म आँखैमा राखिन योग्य’ र तारादेवीको ‘फूलैफूलको मौसम तिमीलाई’ तथा अजुदा थापाले अरुणा लामाको ‘काल काल सल सल‘ र तारादेवीको ‘तिम्रो नाउँ झैँ छ ओठमा’ बोलको गीत अरुणा लामा र तारादेवीप्रति समर्पण गरिनेछ।
अघिल्लो वर्षदेखि सुरु भएको अरुणा लामा–तारादेवी स्मृति साँझ हरेक वर्ष आयोजना गरिने आयोजकले बताएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।