|

पर्वत : बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली समेत संलग्न रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाकी कोषाध्यक्ष पुर्पक्षका लागि जेल चलान भएकी छिन्।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार सहकारी संस्थाको ठगी प्रकरणमा सहकारी ऐन, २०७४ अन्तर्गतको कसुर मुद्दामा बागलुङ जिल्ला अदालतबाट गत असार १० गते कोषाध्यक्ष लक्ष्मी सेन सुनारलाई पक्राउ अनुमति जारी भएको थियो। बागलुङको निसीखोला गाउँपालिका–१ घर भएकी २७ वर्षीया सुनारलाई गत माघ १० गते केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका–३ धोबीघाटबाट पक्राउ गरेको थियो।

सिआईबीमार्फत जिल्ला प्रहरी कार्यालय कास्कीमा पेश गरिएकी सुनारलाई बागलुङ प्रहरीले सोमबार जिल्ला अदालत बागलुङमा पेश गरेकोमा अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएअनुसार उनलाई कारागार चलान गरिएको बागलुङ प्रहरीले बताएको छ।

बागलुङ र पोखरामा गरी दुई ठाउँमा रहेको इमेज सहकारीमा चार हजार बचतकर्ताको दुई अर्बभन्दा बढी रकम अपचलन गरेको आरोपमा ढोरपाटन नगरपालिकाका प्रमुख समेत रहेका सहकारीका अध्यक्ष देवकुमार नेपालीसहित १३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। लगत्तै नेपाली गत जेठ ५ गतेदेखि बागलुङकै बुर्तिबाङ बजारबाट फरार छन्।

प्रमुख नेपाली र उनकी श्रीमती तिब्बती मूलकी नेपाली नागरिक छेला नेपालीविरुद्ध यसअघि नै रेड नोटिस जारी भइसकेको छ। यद्यपि उनीहरू पक्राउ पर्न सकेका छैनन्। फरार १३ जनामध्ये पाँचजना यसअघि नै पक्राउ परिसकेका छन्। चित्रबहादुर भण्डारी, लालमती रोका, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढामगर यसअघि नै पक्राउ परेका हुन्।

अध्यक्ष नेपाली लगायत सहकारी सञ्चालकविरुद्ध एक हजार ४८१ जनाले उजुरी दर्ता गराएका छन्। नेपालीसहितका सञ्चालकविरुद्ध गत असार २५ मा बागलुङस्थित जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.