|

घोराही : नेपाली कांग्रेसका नेता एवं पूर्व उपसभापति विमलेन्द्र निधिले अहिलेको गठबन्धन भत्काउनु आफ्नै खुट्टामा बन्चरो हाने सरह हुने बताए। बुधबार दाङको घोराहीमा नेपाल प्रेस युनियन दाङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताए।

उनले गठबन्धनको सरकार हुँदा आफ्नो चाहनाअनुसारको काम नहुने भन्दैमा अहिलेको सरकार वा गठबन्धनविरुद्ध लाग्न नहुने समेत बताए।

उनले भने, ‘दुःख, पीडा, असहमति सहेर पनि यो गठबन्धनलाई २०८४ का निर्वाचनसम्म निरन्तरता दिनुपर्छ। त्यसैले सचेत रहन सबै साथीहरू मेरो आग्रह छ।’

उनले २०८४ सम्मको निर्वाचनसम्म अहिले गठबन्धन कायम रहने बताए। उनले अहिले देशमा गठबन्धनको सरकार रहेको भन्दै पहिलो चरणमा प्रचण्ड प्रधानमन्त्री भएको र दोस्रो चरणमा माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने र तेस्रो चरणमा सभापति देउवा प्रधानमन्त्री बन्ने अहिलेसम्मको समझदारी रहेको बताए।

उनले भने, ‘म साथीहरूलाई यही समझदारीको पक्षमा रहन आग्रह गर्छु। यो समझदारीका अहिले बिथोलिनु हुनुहुँदैन। अहिले कांग्रेसका साथीहरूले गठबन्धनको काम छैन भन्ने गरेको सुन्छु। त्यो उपयुक्त नीति र धारणा होइन।’

उनले यही गठबन्धनको पक्षलाई निरन्तरता दिन समेत आग्रह गरेका छन्।

उनले नेपाली कांग्रेस भनेको जनताको अधिकारका लागि लड्ने र समुदायको विकासको काम गर्ने पार्टी भएको बताए। उनले कार्यकर्तालाई २०८४ को निर्वाचनका लागि आजैदेखि लाग्न आग्रह गरे।

उनले भने, ‘एउटा निर्वाचनको परिणाम आएर शपथग्रहण गरेको भोलिपल्टदेखि अर्को ४/५ वर्षमा हुने चुनावको तयारी गर्छौँ। त्यसैले म साथीहरूलाई भन्न चाहन्छु। आगामी २०८४ को चुनावका लागि जुट्नुहोस्।’

उनले समुदायमै पुगेर जनताका कुरा सुन्न ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन भएको दावी गरे। उनले जनताकै घरदैलोमा पुगेर कुरा सुन्ने अभियान भएको बताए। उनले अभियानका क्रममा समुदायमा तीन तहका सरकारले गरेका विकास निर्माण गतिविधि, जनताका समस्या बुझ्नेदेखि समाधानका लागि पहल गर्ने, पार्टीप्रतिको जनताको धारणा बुझ्ने र जनताको पार्टी कांग्रेस भएको विश्वास दिलाउने बताए।

उनले संघीयताको मूल मर्मअनुसार प्रदेशले आफ्नो पूर्ण अधिकार प्रयोग गर्न पाउनुपर्ने भए पनि नपाएको बताए। त्यसका लागि प्रदेश सरकार मातहतमा प्रदेश प्रहरी, कर्मचारी संगठन निर्माणसँगै कामका लागि केन्द्र धाउनुपर्ने बाध्यता अन्त्य हुनुपर्ने बताए।

उनले प्रहरी र कर्मचारीहरू प्रदेश मातहत नआउँदासम्म संघीयता पूर्ण कार्यान्वयनमा नआउने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.