|

काठमाडौं : सुन्धारास्थित धरहरा उद्घाटन भएपछि छ पटक निर्माणको म्याद सकियो तर अझै पनि निर्माण पूरा भएको छैन । 

२०७२ वैशाख १२ गतेको भूकम्पबाट ध्वस्त बनेको धरहराको ठाउँमा नयाँ बनेको धरहरा निर्माण पूरा नहुँदै २०७८ वैशाख ११ गते उद्घाटन भएको थियो । भौतिक प्रगति २५ प्रतिशत मात्र रहेका बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए। 

बुधबारको गोरखापत्र दैनिकमा समाचार छ, २०७५ पुसमा निर्माण शुरु भएको धरहराको २०७७ असोज ६ गते पहिलो पटक नौ महिनाका लागि २०७८ असार १६ गतेसम्म म्याद थपिएको थियो । पहिलो पटक थपिएको म्यादको अन्तिमतिर धरहराको उद्घाटन भएको थियो । यसबीचमा छैटौँ पटक थप गरिएको म्याद पनि यही माघ ४ गते नै सकिइसकेको छ । अब सातौँ पटक म्याद थप्न प्रक्रिया अगाडि बढाइएको छ। अब कति समय दिने भन्ने छलफलकै क्रममा छ।

धरहराको अहिलेको भौतिक प्रगति ९२ प्रतिशत र वित्तीय प्रगति ७८.६ प्रतिशत पुगेको सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) ले जनाएको छ। 

धरहरा पुनर्निर्माण तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत अगाडि बढाइएको थियो भने अहिले शहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) मार्फत भइरहेको छ। 

दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७५ असोज १४ गते तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र निर्माण कम्पनी जीआईईटीसी–रमण (संयुक्त)बीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । सम्झौता अनुसार २०७७ असोज २० गतेसम्म आयोजनाको निर्माण अवधि रहेको थियो । सम्झौतापछि निर्माण कम्पनीले २०७५ कात्तिकदेखि निर्माण शुरु गरेको थियो भने पुस १२ गते धरहराको शिलान्यास गरिएको थियो।

केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) का आयोजना प्रमुख कोषनाथ अधिकारीले जग्गा विवाद, स्थानीयको विभिन्न माग तथा अवरोध, कोभिड–१९ को महामारी तथा बन्दाबन्दी र निर्माण कम्पनीको ढिलासुस्तीका कारण सम्झौता अनुसारको निर्धारित समयमा काम सम्पन्न नहुँदा पटक पटक म्याद थप गर्नु परेको बताए। 

निर्धारित समयमा काम सम्पन्न नहुँदा तत्काल गरिएको डिजाइन अनुसारका सामान नपाउने, पाए पनि अत्यधिक महँगो हुने भएकाले समेत काम ढिलो भएको उनको भनाइ छ। उनले काममा जति ढिलाइ हुँदै गयो त्यति नै यो समस्या थपिँदै जाने स्पष्ट पारे। कुल तीन अर्ब आठ करोड ११ लाख रुपैयाँको लागत रहेको सो आयोजनामा अहिलेसम्म निर्माण कम्पनीलाई दुई अर्ब ४५ करोड ७४ लाख रुपैयाँ भुक्तानी भइसकेको छ ।

आयोजना प्रमुख अधिकारीले धरहरा निर्माणको मुख्य संरचनाको काम सम्पन्न भइसकेको जानकारी दिए। ‘सिभिल इञ्जिनियरिङ अनुसार मुख्य संरचनाको ९९ प्रतिशत काम सम्पन्न भइसकेको छ । मेकानिकलसम्बन्धी काम बाँकी छन्। त्यसै गरी विद्युतीकरण, प्लम्बिङ, सीसीटीभी जडान, रङरोगन र फिनिसिङको काम बाँकी छ’, उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.