बाँके : साइकल चढेको एकजना व्यक्ति रातको करिब १० बजे एकाएक इलाका प्रहरी कार्यालय कोहलपुरको गेटमा पुग्छन्। हतास मनस्थितिमा रहेको उक्त व्यक्ति गेटमा पुग्नासाथ सेन्ट्री बसेका प्रहरी जवानसँग भन्छन्, ‘मैले मेरी श्रीमतीको हत्या गरेर टाउको साथमै ल्याएको छु।’
मुल गेटको सेन्ट्री पोस्टमा रहेकी महिला प्रहरी आत्तिन्छिन् र हतार-हतार कार्यालयमा पुग्छिन्। अनि घटनाबारे कार्यालयम रहेका प्रहरीलाई जानकारी गराउँछिन्। कोहलपुर नगरपालिका-४ का मोहम्मद अफ्ताव बेडुवाले आफ्नै श्रीमतीको हत्या गरी रुमालमा टाउको पोको पारेर इलाका प्रहरी कार्यालय कोहलपुरसमक्ष आत्मसमर्पण गरेका छन्।
श्रीमतीको टाउको लिएर परिसरमा पुग्दा ड्युटीमा खटिएका प्रहरी अधिकृत लगायतका सुरक्षाकर्मीहरु एकछिन् अलमलमा परेका थिए। ‘सुरुमा त हामीलाई पत्याउनै मुस्किल भयो, जघन्य अपराधका मुख्य दोषीहरु कमै मात्र प्रहरीसँग आत्मसमर्पण गर्न आउने गर्छन्, इलाका प्रहरी कार्यालय कोहलपुरका इन्चार्ज प्रहरी नायव उपरीक्षक सुरेशप्रसाद काफ्लेले भने।
इलाका प्रहरी कार्यालय कोहलपुरको इतिहासमा पहिलो पटक यस्तो घटना भएको इलाका प्रहरी कार्यालय कोहलपुरका इन्चार्ज प्रहरी नायव उपरीक्षक सुरेश काफ्लेले बताए। ‘अपराध गरिसकेपछि आत्मसर्पणका लागि प्रमाणसँगै अपराधी प्रहरीसम्म पुगेको यो पहिलो घटना हो,’ उनले भने।
कोहलपुर नगरपालिका-४ की रुपसना बेडुवालाई उनकै श्रीमान् मोहम्मद अफ्ताव बेडुवाले निर्ममतापूर्वक घाटी रेटेर हत्या गरेको पुष्टि भएको छ। कोहलपुर नगरपालिका-१५, अकल घरुवास्थित सिक्टा नहरनजिक घाँटी रेटेर श्रीमतीको हत्या गरेको बयान अफ्तावले प्रहरीसमक्ष बयान दिएका छन्।
घाँटी साथमा लिएर प्रहरी कार्यालय पुगेको अफ्तावले दिएको बयानका आधारमा घटनास्थल पुग्दा ३ महिनाको बच्चा सडकको छेउमा लडिरहेको फेला परेको प्रहरीले जनाएको छ। हिलोमा रहेको बच्चाभन्दा केही पर रुपसनाको शव फेला परेको थियो।
लामो समयदेखि श्रीमान-श्रीमतीको सम्बन्ध चिसिँदै गएको र अफ्ताव दोस्रो श्रीमतीसँगै बस्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालयका डिएसपी काफ्लेले बताए। सोमबार सीमावर्ती बजार रुपैडिहाबाट घर फर्कने क्रममा नेपालगन्ज-कोहलपुर सडक खण्डको हवल्दारपुरदेखि करिब १ किलोमिटर पश्चिममा पर्ने अकल घरुवामा घटना भएको कोहलपुर प्रहरीले जनाएको छ। अफ्तावकी कान्छी श्रीमतीलाई पनि प्रहरीले मंगलबार बिहान नियन्त्रणमा लिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।