|

पर्वत : जिल्लाको बाँसखर्कका किसान सडकका कारण सधैँ चिन्तित हुने गरेका छन्। सुन्तलाका लागि गण्डकी प्रदेशमा लोकप्रिय बाँसखर्कसम्म पुग्ने गतिलो सडक नहुँदा सुन्तला निर्यातमा समस्या भोग्दै आएको स्थानीय कृषकहरू बताउँछन्।

‘बाटो एकदमै अप्ठेरो छ। स्तरोन्नति भएको छैन। फोर ह्वीलर बाहेकका गाडी आउनै सक्दैनन्। सुन्तला फलेर मात्र के गर्नु? बाटो नभएपछि फलेको अर्थै भएन’‚ स्थानीय कृषक जगत खत्रीले भने, ‘नेता गाउँमा आउँदा बाटो बनाउने हो भन्छन्‚जितेर गएपछि आश्वासन सपना बन्छन्। हामीलाई बाटो चाहियो।’

अहिले सबैभन्दा छोटो बाटोको रूपमा वारी बेनी-बगर-बाँसखर्क सडकखण्ड प्रयोग हुँदै आएको छ। सडकको स्तरोन्नति नहुँदा यति दूरी पार गर्न डेढदुई घण्टा लाग्ने गरेको छ। ‘फोर ह्वीलर’ बाहेकका गाडी चढ्न नसक्दा साना सवारीमा महँगो भाडा तिरेर सुन्तला झार्नुपर्ने बाध्यता छ।

जलजलाकै मिलनचोकबाट पनि बाँसखर्क जान सकिने भए पनि त्यो सडकको लम्बाइ करिब १८ किलोमिटर छ। बेनी-बगर-बाँसखर्क सडक भने पाँच किलोमिटर मात्रै छ। मिलनचोकबाट जाने सडक कच्ची र अप्ठ्यारो भएकाले वारी बेनी-बगर-बाँसखर्क सडकबाटै सुन्तला निर्यात गर्ने गरिएको छ। तेस्रो सडकको रूपमा वारी बेनीको मल्लाज चोकबाट जाने सडक रहे पनि यसको दूरी १३ किलोमिटर छ।

गाउँका करिब २२० घरले व्यावसायिक सुन्तला खेती गर्दै आएको र सुन्तलाले उनीहरूलाई आर्थिक रूपमा सम्पन्न बनाएको कृषकहरू बताउँछन्। सहज सडक हुने हो भने थप क्षेत्रफलमा समेत सुन्तला खेती विस्तार गर्न सकिने सम्भावना भए पनि सडक समस्याकै कारण थप खेती हुन सकेको छैन।

विगतमा बाटो बनाउन बजेट आए पनि त्यसको उपयोगिता हुन नसकेकोमा कृषकहरू दुःखी छन्।

‘२०७४ मा पैसा परेको हो। २०७७ र २०७८ मा पनि पैसा परेको हो। पैसा कहाँ गयो‚ गयो। बाटोको अवस्था उस्तै छ। २०७४।०७५ सालमा २२ करोडको टेन्डर भएको थियो’, खत्रीले भने, ‘ठेकेदार आएर काम शुरु गर्ने चरणमा पुगेको थियो। पछि काम गर्दै जाँदा पैसा आएन भनेर बाटो अलपत्र बन्यो। २०७७।०७८ मा ८ करोड परेको थियो। त्यो वेला राजनीतिक नेतृत्व फेरिँदा पैसा घट्यो। दुई करोड त फ्रिज भयो। ठेकेदारले आफूले ४ करोडको काम गरे पनि २ करोडभन्दा नपाएको भन्छन्। अहिले यो बाटोको नाम निसान मेटिए जस्तो भएको छ।’

जलजला गाउँपालिका-२ वारी बेनीदेखि बाँसखर्क जोड्ने सडक कालोपत्रे गर्नका लागि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) स्वीकृत भइसकेको छ। सडकका लागि आवश्यक २२ करोड रुपैयाँ नहुँदा स्तरोन्नति हुन सकेको छैन। गाउँपालिकाका अध्यक्ष राजु आचार्यले पहिले ठेकेदारले काम लिएर पनि काम नगरेका कारण बजेट फ्रिज भएको बताउँछन्।

‘बाटोका लागि आएको बजेट काम नगरेर फिर्ता भयो। त्योभन्दा दुःख के होला? अहिले कच्ची र सास्तीपूर्ण बाटोबाट सुन्तला झार्दा सुन्तलामा क्षति हुने गरेको छ’‚ उनले भने, ‘गाउँपालिकाले एक्स्काभेटर पठाएर बाटो मिलाउने गर्दै आएका छौँ। गाउँपालिकाले अलि अलि सफा गर्न सके पनि त्यो बाटो बनाउने काम स्थानीय तहबाट सम्भव छैन।’

कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका महानिर्देशक वासुदेव रेग्मीले वर्षौ पहिलेदेखि बाँसखर्कलाई जोड्ने गरी सहज र सुलभ सडक हुनुपर्ने भए पनि त्यसो हुन नसक्दा कृषकहरू मारमा परेको बताउँछन्।

प्रदेशमा नै सुन्तलाका लागि लोकप्रिय मानिएको ठाउँमा जसोतसो गाडी लैजानुपर्ने अवस्थाले त्यहाँको उत्पादनलाई बजार पठाउनमा चुनौती हुने उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.