|

काठमाडौँ : नेकपा एमालेबाट विद्रोह गरेर माधवकुमार नेपालको नेतृत्वमा बनेको पार्टी नेकपा एकीकृत समाजवादीको राजनीतिक भविष्य संकटोन्मुख देखिएको छ। पार्टी गठनको साढे दुई वर्ष नबित्दै सयौं नेता–कार्यकर्ताले पार्टी परित्याग गरी ‘पुरानै घर’ नेकपा एमालेमा फर्किएपछि पार्टीको भविष्य नै अन्योलजस्तो देखिएको हो।

एमालेबाट विद्रोह गर्दा महत्त्वपूर्ण भूमिका खेलेका शीर्ष तहका नेताहरूले नै पार्टी छाडेपछि आफूलाई एक मात्र वाम विकल्प दाबी गर्दै आएको एकीकृत समाजवादी क्रमशः खिइँदै गएको छ। केन्द्रीय उपाध्यक्ष, सचिव, पोलिटब्यूरो तथा केन्द्रीय सदस्य, प्रदेश, जिल्ला तथा पालिका कमिटीका गरी सयौंले पार्टी परित्याग गरिसकेका छन्। 

मंगलबार (फागुन १ गते) मात्र एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य प्रतापलाल श्रेष्ठ र केन्द्रीय सदस्य शंकरनारायण श्रेष्ठ एमालेमा फर्किए। 

यसअघि नै तेस्रो वरीयतामा रहेका केन्द्रीय उपाध्यक्ष मुकुन्द न्यौपानेले नेतृत्वलाई पिंध नभएको बाल्टीको संज्ञा दिँदै पार्टी छाडेका थिए। अध्यक्ष नेपाल र सम्मानित नेता झलनाथ खनालपछिको वरीयतामा रहेका उपाध्यक्ष न्यौपानेले आफूले पार्टीमा राखेको फरक मतलाई नजरअन्दाज गरिएको भन्दै पार्टी त्यागेका थिए। 

२०७९ चैत २४ मा पार्टी परित्याग गरेका उनी दुई हप्तापछि वैशाख ९ मा एमाले प्रवेश गरे। न्यौपानेसँगै नेताहरू चूडामणि जंगली, मुना बानियाँ, शान्ता आचार्य, महाप्रसाद सुवेदी, नरेश्वर दयाल ज्ञवाली, हरिकुमार श्रेष्ठ, छविलाल पौडेललगायत झन्डै दुई दर्जन नेता–कार्यकर्ता एमालेमा प्रवेश गरे। 

त्यसको करिब डेढ महिनापछि (जेठ २१ गते) अर्का उपाध्यक्ष केदार न्यौपाने एमालेमा फर्किए। उनले एमाले प्रवेश गर्नुभन्दा केही समयअघि राजीनामा दिएर बसेका थिए। 

उपाध्यक्षहरू मात्र नभई एकीकृत समाजवादीका केन्द्रीय सचिव पनि एमालेमा फर्किसकेका छन्। उपाध्यक्ष केदार न्यौपानेभन्दा पहिल्यै सचिव भागवत विश्वासी एमालेमा फर्किएका थिए।     

गत जेठ ६ मा सचिव विश्वासीसँगै एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं पूर्व स्वास्थ्य राज्यमन्त्री हीराचन्द्र केसी, केन्द्रीय सदस्य शारदा स्वर्णकार, लुम्बिनी प्रदेश कमिटी सदस्य अमित शर्मा, दाङ जिल्ला अध्यक्ष सुरामणि बेल्वासे, उपाध्यक्ष चूर्णबहादुर वली, सचिव डिल्ली डाँगी र उपसचिव जानका रेग्मीसहितका नेताहरू एमालेमा फर्किए थिए। 

यस्तै ५ साउनमा एकीकृत समाजवादीका तनहुँ जिल्ला अध्यक्ष श्रीराम कार्कीसहितका २५ नेता कार्यकर्ता एमालेमै फर्किए। १६ साउनमा एकीकृत समाजवादीका केन्द्रीय सदस्य डिल्लीप्रसाद उप्रेती एमाले प्रवेश गरे। 

२० साउनमा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं सिन्धुपाल्चोक इन्चार्ज सुवास कर्माचार्य एमालेमा फर्किएका थिए। कर्माचार्यसँगै अर्का केन्द्रीय सदस्य उपेन्द्र तामाङसहित एकीकृत समाजवादीका दर्जनौं कार्यकर्ता एमाले फर्किए। 

६ भदौमा एकीकृत समाजवादी सुर्खेतका सिंगो कमिटी एमालेमा फर्कियो। जिल्ला अध्यक्ष मोहन बडुवालसहित ६५ जना नेता तथा कार्यकर्ताहरू एमालेमा फर्किएका थिए। 

१३ असोजमा एकीकृत समाजवादी नवलपुर अध्यक्ष झविलाल रानासहितको सिंगो टिमले पार्टी परित्याग गर्‍यो। रानासहित उपाध्यक्ष प्रेमनारायण पाण्डे, उपसचिव हुमकान्त पराजुली, गोविन्द सुनार, प्रदेश कमिटी सदस्य श्यामप्रसाद भुर्तेल, खगराज कँडेल र समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य खगेन्द्र पराजुली पार्टीबाट बिदा भए। यीबाहेक दर्जनभन्दा बढी जिल्ला सदस्यले पनि एकीकृत समाजवादी छाडे।   

१४ मङ्सिरमा पनि एकीकृत समाजवादीका केन्द्रीय सदस्य र बैतडी जिल्ला अध्यक्षसहितका नेता कार्यकर्ताहरू एमालेमा फर्किए। एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा बैतडी इन्चार्ज नरेन्द्र विष्ट, बैतडी जिल्ला अध्यक्ष महादेव भट्ट, पार्टी कमिटी सदस्य पार्वती भट्ट र चमनकुमार भण्डारीसहितका नेताहरू एमालेमा फर्किएका हुन्। 

त्यसो त पार्टी छाड्ने क्रम गठनको केही समयपछि नै शुरु भएको थियो। २०७८ भदौ पहिलो साता दर्ता भएको एकीकृत समाजवादीबाट शुरुमा पूर्वमन्त्रीसमेत रहेका पोलिटब्यूरो सदस्य यदुवंश झा बाहिरिएका थिए। मधेशमा एकीकृत समाजवादीका प्रभावशाली नेताका रूपमा परिचित उनी पार्टी गठनको पाँच महिनापछि १९ पुसमा पार्टी छाडेर एमालेमा फर्किएका थिए।  

सोही वर्षको अन्तिममा कञ्चनपुरका जिल्ला उपाध्यक्षले एकीकृत समाजवादी छाडे। २०७८ चैत्र २७ गते उनले कञ्चनपुर जिल्ला उपाध्यक्ष रवीन्द्र कुँवर एमालेमा फर्किएका थिए। 

यो क्रम २०७९ मा पनि रोकिएन‚ झन् बढेर गयो। २०७९ वैशाख २ मा एकीकृत समाजवादी दैलेखका जिल्ला सचिव मानबहादुर खड्का एमालेमा फर्किए। यो क्रमलाई केन्द्रीय सदस्य तर्कबहादुर शाहीले निरन्तरता दिँदै २६ वैशाखमा एमाले प्रवेश गरे। उनीसँगै पार्टीको राष्ट्रिय पार्षद एवं प्रदेश कमिटी सदस्य सुस्मिता सिंह एमालेमा फर्किएकी थिइन्। 

आमनिर्वाचनअघि नै दर्जनौं नेता-कार्यकर्ताले एकीकृत समाजवादी त्यागेका थिए। २०७९ भदौमा मात्रै दर्जनभन्दा बढी प्रभावशाली नेता एमालेमा फर्किए। त्यसताका बलियो जनमत भएको सुदूरपश्चिममा समेत एकीकृत समाजवादी परित्यागको लहरै चल्यो। प्रदेश अध्यक्ष विक्रम शाहीले ०७९ भदौ ९ मा पार्टी छाडेका थिए। केही दिनमै उनी एमालेमा फर्किए।  

भदौमा सर्लाहीको जिल्ला नेतृत्वका अधिकांश पदाधिकारी एमालेमा फर्किए। १३ भदौमा एकीकृत समाजवादीका केन्द्रीय परिषद् सदस्य रूपनारायण सिंह, जिल्ला उपाध्यक्ष देवेन्द्र राय, सचिव गोविन्द अधिकारी, उपसचिव लीलादेवी कोइरालालगायतका नेता-कार्यकर्ताले पार्टी छाडेर एमालेमा गएका थिए।  

१५ भदौमा एकीकृत समाजवादीबाट एक संघीय सांसद र प्रदेशसभा सदस्य रहेका दुईजना गरी तीनजनाले एमाले रोजे।

त्यस वेला प्रतिनिधिसभा सदस्य रहेकी विना बुढाथोकी र सुदूरपश्चिम प्रदेशसभा सदस्य रहेका तारा लामा तामाङ र कुरवीर चौधरी, समाजवादी सुदूरपश्चिम प्रदेश कमिटीका पूर्व अध्यक्ष विक्रमबहादुर शाही, वेदकोट नगरपालिकाका पूर्व मेयरसमेत रहेका समाजवादीका जिल्ला उपाध्यक्ष अशोककुमार चन्दसहितका नेता एमालेमा फर्केका थिए।  

एकीकृत समाजवादीका नेता विशभ अधिकारीले सोही भदौको २७ गते पार्टी परित्याग गरेका थिए। त्यसको एक दिनअघि मात्रै एकीकृत समाजवादीका केन्द्रीय सदस्य बालकृष्ण चापागाईं एमालेमा फर्किएका थिए। त्यसअघि कर्णाली प्रदेश कमिटीका सदस्य गणेशबहादुर शाही एमालेमा प्रवेश गरेका थिए। गत वर्षकै १३ असोजमा कर्णालीको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री पाउन फ्लोर क्रस गरेका एकीकृत समाजवादीका केन्द्रीय सदस्य नन्दसिंह बुढा एमालेमा प्रवेश गरे।   

२८ असोजमा एकीकृत समाजवादी बाजुरा जिल्ला अध्यक्ष गगन रावल एमाले प्रवेश गरे। उनीसँगै जिल्लाका केही नेता–कार्यकर्ता एकीकृत समाजवादी छोडेर एमाले प्रवेश गरेका थिए।

यसैगरी एकीकृत समाजवादी कास्की सचिव होमबहादुर नेपाली १२ कार्तिकमा पार्टी छाडेर एमालेमा फर्किए भने २१ कार्तिकमा जुम्लाका अध्यक्षसहितका नेता तथा कार्यकर्ता एमालेमा फर्किए। 

गत वर्षको अन्तिममा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीका प्रमुख स्वकीय सचिव रहेका भुमाण्डव केसी समेत एमालेमै फर्किए। २३ चैतमा केसीसँगै स्वकीय सचिव रहेका गौरवसिंह महरा, एकीकृत समाजवादीका पार्टीकी केन्द्रीय परिषद् सदस्य मीना गुरुङ, नेताहरू सीता चौधरी, हिमाल अधिकारी, किसन भट्टराईलगायतले एमाले रोजेका हुन्। 

एकीकृत समाजवादीका नेता–कार्यकर्ताले नेतृत्वको कार्यशैली र पार्टीकै अस्तित्वमाथि प्रश्न उठाउँदै पार्टी छाडिरहेका छन्। पार्टीभित्र व्यक्तिवादी अहंकारवाद, निरंकुश एवम् स्वेच्छाचारी प्रवृत्ति मौलाउनुनका साथै पार्टीको माध्यमबाट नेपाली कम्युनिष्ट आन्दोलनको शुद्धीकरण हुन नसक्ने ठहर उनीहरूको छ। 

यस्तै पार्टी कांग्रेस र माओवादीको पुच्छर बनेको, देशमा वैदेशिक हस्तक्षेप बढे पनि पार्टीले कुनै प्रयत्न नगरेको, आफू परिवर्तनको आशमा पार्टीमा गए पनि त्यहाँबाट परिवर्तन सम्भव नहुने देखेपछि पुरानै पार्टी एमालेमा फर्किएको बताएका छन्। 

सयौं नेता–कार्यकर्ताले छाडेर पार्टी खिइँदै गए पनि एकीकृत समाजवादीले यसलाई सामान्य रूपमा लिएको देखिन्छ। एकीकृत समाजवादीकी उपाध्यक्ष जयन्ती राई पार्टीमा रहेर बनाउनभन्दा भत्काउन लागेकाहरूले छाडेर जाँदैमा ठूलो असर नपर्ने बताउँछिन्। 

‘पार्टीमा रहेर पनि बनाउनभन्दा भत्काउन लाग्नुभएका कतिपय साथी बाहिरिनुभएको छ। यहाँ केही दिनेभन्दा के पाउँछु भनेर आउनुभएका साथीहरू हुनुहुन्थ्यो’, उनी भन्छिन्, ‘यसले पार्टीलाई ठूलो असर पार्दैन। पार्टीमा आउने जाने क्रम चलिरहन्छ।’ 

उपाध्यक्ष राईले एकीकृत समाजवादी आउने क्रम पनि चलिरहेको बताइन्। हिजो एमाले बनाउन लागिपरेजस्तै अब एकीकृत समाजवादी बनाउन आफूहरू लागिपर्ने उनको भनाइ छ। ‘अहिले पार्टी सानो छ। के दुःख गर्न बस्नु भन्नेहरू जानुभएको हो’, उनले भनिन्, ‘‘हिजो एमाले बनाउने हामी नै हौं। अब एकीकृत समाजवादी पनि त्यसैगरी बनाउँछौं। त्यो इच्छाशक्ति र दृढता भएका हामी पार्टीमै छौं।’  

उपाध्यक्ष राईले अन्याय र क्रान्तिकारी परिवर्तनका लागि एमालेबाट विद्रोह गरेको बताउँदै विचार र कार्यक्रमबारे भने निर्क्योल गरेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याइन्। ‘विचार, कार्यक्रममा निर्क्योल गरेर जाने हो भने अहिले नै ह्वात्तै पार्टी ठूलो बनिनहाले पनि भविष्यमा ढिलोचाँडो कम्युनिष्ट पार्टीको नेतृत्व एकीकृत समाजवादीले गर्छ’, उनले भनिन्।

पार्टी उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडा एमाले र एकीकृत समाजवादीको सम्बन्ध आवतजावतको भएको बताउँछन्। आफूहरूले पनि केही ठूलो तयारी गरिरहेको बताए तर त्यो के हो भन्नेबारे खुलाएनन्। ‘एमाले र हाम्रो सम्बन्ध सामान्य आतजावतको हो’, उनले भने, ‘ज–जसले छाडे त्यो ठाउँमा अर्काले पूर्ति गरिहाल्छन्। साथीहरू तयारी पनि भइरहनुभएको छ। हामी पनि केही ठूलो तयारी गरिरहेका छौं।’  

स्थानीयस्तरको अन्तरविरोधका कारण पार्टी छाड्ने क्रम बढेको उपमहासचिव खतिवडाको ठम्याइ छ। ‘स्थानीय अन्तरविरोधका कारण पार्टी छाड्ने क्रम बढेको हो। कसैले पार्टी छाडेर जानु राम्रो त कदापि होइन’, उनी भन्छन्, ‘तर नेपालको राजनीतिमा आउने जाने क्रम चलिरहन्छ। एमाले छाडेर जाने पनि सुनिएकै छ। कांग्रेस छाड्ने पनि हामीले सुनेकै छौं।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.