काठमाडौँ : जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नयाँ शैक्षिक सत्रका लागि १ करोड ५२ लाख थान नयाँ पाठ्यपुस्तक छपाइ सम्पन्न गरेको छ। सरकारको स्वामित्वमा रहेको जनक शिक्षाका अनुसार २०८१ को शैक्षिक सत्रका लागि १ करोड ७४ लाख थान नयाँ पुस्तक छाप्नुपर्नेमा ८० प्रतिशत छपाइको काम सकिएको छ।
जनक शिक्षाले अहिले दैनिक एक लाख पुस्तक छाप्दै आएको जनाएको छ। ‘८० प्रतिशत पुस्तक छपाइको काम सकिएको छ, अब २२ लाख थान मात्रै छाप्न बाँकी छ’, जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका सूचना अधिकारी रवीन्द्रकुमार शर्माले थाहाखबरसँग भने। उनले बाँकी पुस्तक यही फागुन महिनाभित्र सम्पन्न हुने जानकारी दिए।
केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाका अनुसार पुस्तक छपाइका लागि आवश्यक कागज, मसीलगायत कच्चा पदार्थ पर्याप्त मात्रामा खरिद गरेर राखिसकिएको छ। त्यसैले पुस्तक छपाइको काममा समस्या नआउने र अहिले दुई सिफ्टमा सातै दिन, २४ सै घण्टा चलिरहेको उनले बताए।
नयाँ शैक्षिक सत्रका लागि कक्षा ५ देखि १२ सम्मको पाठ्यपुस्तक छपाइको जिम्मेवारी जनक शिक्षाले पाएको छ भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १ देखि ४ सम्म निजी क्षेत्रका छापाखानालाई छपाइ तथा वितरणको जिम्मेवारी दिएको छ।
फागुन अन्तिमबाट विक्री वितरण खुल्ने
केन्द्र लिमिटेडका सूचना अधिकारी शर्माले यही फागुन अन्तिमबाट छापिएको पुस्तक विक्री वितरण खोलिने जानकारी दिए। ‘फागुन अन्तिम वा चैत पहिलो हप्ताभित्र विक्री वितरण खोल्ने हाम्रो योजना छ’, उनले भने।
जनक शिक्षाका अनुसार अहिले छापिएका पुस्तक जनक शिक्षाका केन्द्रीय कार्यालय बजार व्यवस्था विभाग, प्रदेश १ कार्यालय विराटनगर, मधेश प्रदेश कार्यालय जनकपुर, बागमती प्रदेश कार्यालय भरतपुर, गण्डकी प्रदेश कार्यालय पोखरामा पठाइएको छ। यसैगरी कर्णाली प्रदेश कार्यालय सुर्खेत, सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी र प्रादेशिक प्रेस नेपालगञ्जमा पुस्तक पठाइएको र यी स्थानबाट वितरण गरिनेछ।
‘शैक्षिक सत्र शुरु हुँदा विद्यार्थीको हातहातमा पुस्तक पुग्छ’
केन्द्रका प्रबन्ध निर्देशक झाले चैतदेखि पुस्तक वितरण शुरु गरी शैक्षिक सत्र शुरु हुँदा विद्यालय विद्यालयमा पुस्तक पुर्याएर विद्यार्थीको हातहातमा पुस्तक पुग्ने दाबी गरे। कुनै हालतमा पनि पुस्तक अभाव नहुने र वितरणमा पनि ढिलाइ नहुने उनको भनाइ छ।
जनक शिक्षाका सूचना अधिकारी शर्माले पनि समयमै विद्यार्थीहरूको हातमा नयाँ पाठ्यपुस्तक पुग्ने बताए। ‘यो वर्ष पनि पुस्तक अभाव र ढिलाइ हुँदैन, समयमै सम्बन्धित ठाउँमा पुस्तक पुगेर विद्यार्थीहरूले पढ्न पाउँछन्’, उनले भने।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले २०८१ को नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक खरिद गर्न मंसिर महिनामै ३ अर्ब ५७ करोड ९८ लाख ९० हजार विनियोजन गरी सबै स्थानीय तहलाई हस्तान्तरण गरिसकेको छ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रको पाठ्यक्रम तथा सामग्री शाखाकी निर्देशक सविता दङ्गाल (गौतम)ले अबदेखि पाठ्यपुस्तक अभाव र विक्री वितरणमा कहिल्यै ढिलाइ नहुने बताइन। उनले भनिन्, ‘देशभर चैत मसान्तभित्र पुस्तक पुर्याउने हाम्रो कार्य योजना छ।’
उनका अनुसार समयमा पुस्तक छापेर पनि फागुन मसान्तमा विकट जिल्लामा पुस्तक पुर्याइनेछ। वर्षेनि समयमा पुस्तक नपुग्ने गुनासो आए पनि यो वर्ष अर्थात् २०८० को नयाँ शैक्षिक सत्रमा भने समयमा सम्बन्धित ठाउँमा पाठ्यपुस्तक पुगेको छ।
वैशाख ११ गते नै जनक शिक्षाका प्रबन्ध निर्देशक अनिलकुमार झाले यस वर्ष समयमै ७७ वटै जिल्लाका सम्बन्धित ठाउँमा पुस्तक पुगेको बताएका थिए। पुस्तक छपाइ, वितरण लगायतमा राम्रो व्यवस्थापन भएका कारण यस वर्ष समयमा पुस्तक पुगेको उनको दाबी छ।
यो वर्ष पनि समयमा पुस्तक पुगोस् भनी अर्थमन्त्री डा. प्रकाशशरण महतले गत मंसिर ६ गते सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमै गए स्थलगत अनुगमन गरेका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।