|

पर्वत : संयुक्त राष्ट्र सङ्घको सदस्य बनेका १९३ देशका नाम र झण्डा राखेर पोखराको महेन्द्रपुलमा ‘अन्तर्राष्ट्रिय झण्डा पार्क’ निर्माण गरिएको छ। लायन्स क्लब इन्टरनेशनलको आर्थिक सहयोगमा पोखरा महानगरपालिकाले ‘पार्क’ निर्माण गरेको हो। 

पार्कको शनिवार एक कार्यक्रमबिच पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र लायन्स क्लब अन्तर्राष्ट्रियका निर्देशक बालकृष्ण बुर्लाकोटीले संयुक्त रूपमा उद्घाटन गरेका छन्।

चार तहको प्याराफिट शैलीमा निर्माण गरिएको पार्कमा संयुक्त राष्ट्र सङ्घमा आबद्ध १९३ वटै देशको नामसहितका पोलमा झण्डा राखिएका छन्। पार्कको सबैभन्दा अगाडि नेपालको झण्डा राखिएको छ भने एक स्थानमा पत्रपत्रिका अध्ययन केन्द्र र अर्को स्थानमा डिजिटल अध्ययन केन्द्र पनि स्थापना गरिएको छ। 

सात महादेशको भिन्नभिन्न ‘ब्लक’हरू छुट्टाइएको पार्कमा दोस्रो विश्वयुद्धपछि विश्व शान्ति स्थापना र मानवअधिकार प्रवर्द्धनका लागि स्थापित संयुक्त राष्ट्र सङ्घमा आबद्ध देशहरूको आबद्धताको मितिसमेत उल्लेख गरिएको छ।  ‘पार्क’मा संयुक्त राष्ट्र सङ्घ, पोखरा महानगरपालिका, लायन्स क्लब अन्तर्राष्ट्रिय र एनआरएनएको झण्डा पनि राखिएको छ।

‘झण्डा पार्क केवल रमाइलोका लागि मात्र होइन लर्निङ सेन्टरका रूपमा पनि रहने छ। यो पार्क आसपासको क्षेत्रलाई वाईफाई फ्री जोन पनि बनाइएको छ। कुनै पनि देशको राष्ट्रिय झण्डा त्यस देशको राष्ट्रिय एकता र गौरवको प्रतीक हो’, महानगरपालिकाका प्रमुख आचार्यले भने, ‘राष्ट्रिय झण्डाले नागरिकहरूलाई देशको साझा उद्देश्य, हित, देश प्रेम र स्वाभिमानको पक्षमा उभ्याउँछ। यिनै पृष्ठभूमिमा संयुक्त राष्ट्र सङ्घको उद्देश्य अनुरूप विश्व शान्ति, एकता र भातृत्वको प्रवर्द्धनमा सघाउ पुराउने उद्देश्यले,यसका सदस्य राष्ट्रहरूको राष्ट्रिय झण्डा र सदस्यता प्राप्त मिति समेत उल्लेख गरी महानगरपालिकाले महेन्द्रपुलमा अन्तर्राष्ट्रिय झण्डा पार्क निर्माण गरिएको हो।’

अन्तर्राष्ट्रिय ‘झण्डा पार्क’ले पोखराको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान गर्ने उनले विश्वास व्यक्त गरेका छन्।

‘पर्यटनको राजधानी’ घोषणा हुने क्रममा समेत रहेको पोखरामा विश्वभरबाट घुम्न आउने पर्यटकहरूको एक गन्तव्य स्थलका रूपमा ‘झण्डा पार्क’ बनेको उनको भनाइ छ। आफ्नो देशको प्रतिकका रूपमा राष्ट्रिय झण्डा पोखरामा फहराएको देखेपछि पर्यटकहरूमा समेत नयाँ उत्साह मिल्ने उनले बताए।

लायन्स क्लब अन्तर्राष्ट्रियका निर्देशक बुर्लाकोटीले पोखराको अन्तर्राष्ट्रिय बजारमा प्रचारप्रसारका लागि यसले महत्त्वपूर्ण सहयोग पुग्ने उनले बताएका छन्। संसारभर सेवामा समर्पित लायन्सहरुको गौरवका रूपमा पोखरामा निर्माण गरिएको अन्तर्राष्ट्रिय ‘झण्डा पार्क’ सम्बन्धित देशका पर्यटकहरूका लागि गर्वको विषय हुने उनको भनाइ छ। पोखराको विकास र समृद्धिको यात्रामा लायन्स क्लब अन्तर्राष्ट्रिय स्थानीय सरकारसँग सहकार्य र समन्वय गर्न सदैव तयार रहेको पनि निर्देशक बुर्लाकोटीले बताएका छन्।

पोखरा सौन्दर्यीकरण अभियान अन्तरगत लायन्स क्लब अफ इन्टरनेशनल डिस्ट्रिक्ट तीन सय २५ आई, जे, के, एल र एमको तर्फबाट सहयोग प्राप्त भएपछि ‘पार्क’ निर्माण भएको हो। पार्क निर्माणका लागि लायन्स क्लब अफ इन्टरनेशनलका डिस्ट्रिक्टहरूले ७० लाख बढी आर्थिक सहयोग प्रदान गरेका छन्।

महेन्द्रपुलको अर्को भागमा भने गैरआवासीय नेपाली सङ्घ एनआरएनएको सहयोगमा अत्याधुनिक सार्वजनिक शौचालय निर्माण गरिएको छ। हाल त्यस स्थानमा ‘वायो ग्याँस’को  ‘डाइजेस्टर’ जडान कार्य चलिरहेको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.