|

काठमाडौँ : नेपालमा नवजात शिशु विरामी भएर कुनै अस्पतालको एनआईसीयूमा भर्ना गरी उपचार गर्नु परे एउटा दम्पतीले औसत ४८ हजार रुपैयाँ खर्च गर्नुपर्ने एउटा अध्ययनले देखाएको छ।

सरकारी र निजी गरी ४ अस्पतालका एनआईसीयूमा भर्ना भएका ३ सय विरामीका आफन्तलाई गत वैशाख २५ देखि असार ७ गतेसम्म विभिन्न चरणमा प्रश्न, अन्तरवार्तालगायत गरेर तथ्यांक संकलन गरेर नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययनले यस्तो देखाएको हो।

नेपालमा एनआईसीयूमा भर्ना भएका नवजात शिशु (जन्मेदेखि २८ दिनसम्मका) को उपचारका लागि परिवारले सरदर कति खर्च गर्नुपर्छ भन्ने पत्ता लगाउन परिषद्‌ले अध्ययन गरेको हो।

सोही अध्ययनअनुसार नेपालमा नवजात शिशु विरामी भएर अस्पतालमा एनआईसीयूमा भर्ना भएर उपचार गर्नु पर्दा एउटा दम्पतीले सरदर ४८ हजार रुपैयाँ खर्च हुने गरेको देखिएको हो।

उक्त अध्ययनअनुसार सरकारी अस्पतालमा एकजना नवजात शिशु भर्ना भएर उपचार गराउँदा २९ हजार ४८५ रुपैयाँ र निजी अस्पतालमा ४७ हजार ९७५ रुपैयाँ लाग्ने देखिएको छ। नवजात शिशुलाई कम्तीमा एक दिनदेखि ३२ दिनसम्म एनआईसीयूमा भर्ना गरेर उपचार गरेको पाइएको छ।

अध्ययनमा सहभागी भएका नवजात शिशुको परिवारको औसत कमाई ३३ हजार ९५ रहेको पाइएको छ। जसमा ९५ प्रतिशतका पिता काममा रहेको र ५० प्रतिशत आमाहरु मात्र कामकाजी रहेको पाइएको छ।

२० प्रतिशत आमा २० वर्ष नै नपुगी आमा बनेको र १३ प्रतिशतले शल्यक्रियामार्फत शिशु जन्म दिएको पाइएको छ। एनआईसीयूमा भर्ना भएका नवजात शिशुमध्ये २५ प्रतिशतको तौल कम रहेको पाइएको अध्ययनले देखाएको छ।

यसैगरी भर्ना भएका विरामीमध्ये ९४ दशमलव ७ प्रतिशत डिस्चार्ज भएको र ५ दशमलव ३ प्रतिशतको मृत्यु भएको पनि अध्ययनले देखाएको छ।

अध्ययनले नवजात शिशुको उपचारमा लाग्ने खर्च, एनआईसीयूमा सरकारले कस्तो लगानी र सुधार गर्नुपर्ने विषयको बारेमा छलफल गर्न र नीति निर्माणमा सहयोग पुग्ने सूचना दिएको परिषद्‌का निवर्तमान सदस्य सचिव डा प्रदिप ज्ञवालीको भनाइ छ।

‘सानै भए पनि भविष्यमा नवजात शिशुको एनआईसीयूमा उपचार गर्नु पर्दा सरकारले कस्तो लगानी र सुधार गर्नुपर्ने अवस्था छ भन्ने विषयमा कार्ययोजना गराउन सहयोग हुन्छ भन्ने हाम्रो अपेक्षा रहेको छ‚’ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.