|

हेटौँडा : बागमती प्रदेश सभाको सर्वदलीय बैठकमा सहमति नजुट्दा पुनः दिउँसो २  बजे बस्ने भएको छ।

बिहान ८ बजे सभामुख भुवन कुमार पाठको निवासमा बसेको सर्वदलीय बैठकका सरकार र विपक्षी दलहरुबीच सहमति नजुट्दा पुनः दिउँसो २ बजे बस्ने निर्णय भएको एमाले संसदीय दलका प्रमुख सचेतक मधुसुदन पौडेलले जानकारी दिए।

पौडेलका अनुसार आजै बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै संसदीय दलको बैठक बसेर निष्कर्षसहित दिउँसो २ बजे सर्वदलीय बैठक बस्ने तयारी भएको बताए। अहिले प्रदेश सभाका सबै संसदीय दलको बैठक बस्दै छ।

आइतबार बसेको सर्वदलीय बैठकमा सदन चलाउन दिने समझदारी भए पनि बजेटका सन्दर्भमा रहेका विवाद भने समाधान हुन नसक्दा बैठक आज बिहान बस्ने गरी निर्णय भएको थियो। प्रदेशसभाका प्रतिपक्षी दलहरूले सरकारसँग भएको सहमति कार्यान्वयन गर्न माग गर्दै आइरहेको छ। सहमति अनुसारको बजेट विनियोजन नभए संसद् बैठक पनि सञ्चालन गर्न नदिने चेतावनी प्रतिपक्षी दलले दिएका छन्।

तर दलहरू फागुनभित्रै संसदीय समितिलाई पूर्णता दिन सहमत भएका छन्। नेतृत्व चयनका लागि बैठकले दलहरूका सचेतकको नेतृत्वमा एउटा कार्यदल समेत गठन गरेको छ। कार्यदललाई १० दिनभित्र आवश्यक छलफल गरी प्रतिवेदन तयार गर्न निर्देशन दिएको नेकपा माओवादी केन्द्रका मुख्य सचेतक रत्न ढकालले बताए।

विगतमा प्रतिपक्षी दलसँग भएको सहमति कार्यान्वयन गर्न सरकारले अधिकतम प्रयास गर्ने पनि उनले बताए। मुख्य सचेतक ढकालले प्रदेशसभाको हिउँदे अधिवेशन प्रभावकारी बनाउन सत्तापक्ष र प्रतिपक्षबीच सकारात्मक ढंगले छलफल अघि बढेको पनि दाबी गरे। प्रदेश सभा बैठक मंगलबार दिउँसो ३ बजेका लागि बोलाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.