|

इलाम : इलामको माइजोमाई गाउँपालिका–५ तुम्लिङ पुगेका टीकाराम बास्तोलालाई कञ्चनजंघा हिमालको दृश्यले आकर्षित बनायो। तीन हजार १०० मिटर उचाइको तुम्लिङबाट विश्वकै तेस्रो अग्लो (८,५८६ मिटर) हिमाल  प्रस्ट देखिन्छ भन्ने उनलाई लागेको थिएन। ‘हिमाल हेरेरै बसिरहूँ लाग्यो, फुत्त उफ्रिदा छोइएलाजस्तो, चिसो हावाको स्पर्श कति आनन्द,’ उनले भने। 

तुम्लिङसहित नयाँबजार, थुम्के, मेग्मा, जौबारी, कालपोखरीलगायत इलामका उत्तरी भेगका लेकाली क्षेत्र नेपाल भारत सीमामा पर्ने पर्यटकीयस्थल हुन्। हिमाल हेर्न, झुल्के घामको दृश्यावलोकन गर्न, लोपोन्मुख वन्यजन्तु रेडपाण्डा हेर्न र औषधीय गुण भएका जडीबुटी खोज्न पाइने भएपछि खोज, अनुसन्धान र अवलोकन गर्न नेपालसहित भारत, भुटान, बंगलादेशलगायत मुलुकबाट पर्यटक आउने गरेका छन्। 

फिक्कल बजारदेखि माइजोगमाईको केन्द्र नयाँबजारसम्म जोडिने २० किलोमिटर सडक कालोपत्रे भएपछि सडक सहजताका कारण पर्यटक भित्रिने क्रम वृद्धि भएको गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेबेले बताए। ‘सडक बनेपछि सजिलो भएको छ, तराईबाट आउने पर्यटक कन्याम, फिक्कल हुँदै सिधै नयाँबजार आएर हिमाल हेर्न, रेडपाण्डाबारे बुझ्न र जडीबुटी खोजी गर्न तुम्लिङतिर जाने गर्नुभएको छ,’ उनले भने।

थुम्केरानीबाट झुल्के घामको दृश्यावलोकनका साथै १० वटै स्थानीय तह, भारतका विभिन्न ठाउँ र तराईका फाँटको दृश्यावलोकन गर्न सकिन्छ। पर्यटकले गाउँपालिकाको केन्द्र नयाँबजारदेखि थुम्केरानी, जौबारी, तुम्लिङ, टङ्लु, मेग्मासम्मको पैदलयात्रा गर्छन्। जंगल सफारी र दुर्लभ रेडपाण्डाको अवलोकन पर्यटकका लागि थप आकर्षक बनेका छन्। विश्वको तेस्रो अग्लो हिमशृङ्खला, दुर्लभ वन्यजन्तु हाब्रे रेडपान्ड, एसियाको दोस्रो पुरानो मेग्मा गुम्बा अवलोकन गर्न सकिने अध्यक्ष थेबेले बताए।

माइजोगमाई गाउँपालिका २ र ६ को संगमस्थलमा पर्ने थुम्के डाँडामा पर्यटकको चहलपहल बढ्दै गएको हो। लेकाली जीवजन्तुको अवलोकन, सूर्योदयको मनोरम दृश्यले भरिएको यस क्षेत्रमा दैनिक दर्जनौँ पर्यटक पुग्ने गरेका छन्। थुम्के र जौवारीमा गरिएको केसर खेतीले समेत पर्यटकलाई तान्न थालेको छ। अध्यक्ष थेबेले गाउँपालिकाको थुम्केसहित माथिल्लो लेकाली क्षेत्रको विस्तृत अध्ययन गरी पर्यटन पूर्वाधारका काम थालिएको बताए। पालिकामा उत्तरे पोखरी, शिव मन्दिर बौद्धगुम्बासहित विभिन्न देवस्थलसहितका धार्मिक पर्यटकीयस्थल रहेका छन्।

‘नयाँबजारस्थित उत्तरे पोखरीमा पानीको सतह घटेपछि पानी पहिलाकै अवस्थामा फर्काउन प्रयास थालेका छौँ,’ उनले भने, ‘तुम्लिङ, थुम्केरानी, उत्तरे पोखरी, साततले झरनालगायत ठाउँ हाम्रा प्रमुख पर्यटकीय गन्तव्य हुन्। औषधीय गुण भएका जडीबुटी प्रशस्त पाइन्छन्। यी कुराको संरक्षणमा हामी जुटेका छौँ।’ पर्यटन पूर्वाधारका काम केही भएका छन् भने बाँकी काम निर्माणाधीन रहेको थेबेको भनाइ छ। 

५६१ मिटरदेखि तीन हजार १०० मिटरसम्मको उचाइमा माइजोगमाईको भूगोल पर्दछ। यो क्षेत्र कृषि उत्पादनको उर्वर भूमि भएकाले कृषि पर्यटनलाई विकास गर्ने पालिकाको तयारी छ। धान, अलैँची, आलु, एभोकार्डो, किबी, खेतीदेखि केशर, चिराइतोलगायत उच्च हिमाली जडीबुटीसमेत पाइने भएकाले खेतीबाट नै आर्थिक समृद्धि हासिल गर्ने यात्रामा पालिका अघि बढेको पालिका उपाध्यक्ष प्रवीना राईले बताइन्।

‘किसानलाई  खेतीमा प्रोत्साहन दिन कृषि शाखामार्फत बजेट छुट्याएर लगानी गरेका छौँ। किसानलाई व्यावसायिक बनाउन र उत्पादनलाई गुणस्तरीय बनाउन विगत वर्षदेखि नै हाम्रो प्रयत्न जारी छ,’ उपाध्यक्ष राईले भनिन्, ‘युवापुस्तालाई वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता हटाएर गाउँमा नै खेतीबाट आर्थिक समृद्धि ल्याउन पालिकाले सहयोग गर्नेछ।’

थुम्केरानी जोड्ने सडक स्तरोन्नतिको काम सम्पन्न भएकाले यहाँ आउने पर्यटकलाई सहज भएको छ। यस क्षेत्रमा ऐतिहासिक जौवारी बजारसहित नेपालकै ठूलो आलु विकास केन्द्र रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.