|

नवलपरासी : हिन्दू र मुस्लिम धर्मावलम्बीको आस्थाको केन्द्र मदारबाबा मेला आज (बिहीवार) शुरु भएको छ। नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयीत्रिवेणी गाउँपालिका–६ स्थित दाउन्नेडाँडामा रहेको मदारबाबा मेलामा दर्शनार्थीको बाक्लो चहलपहल छ।

हिन्दू र मुस्लिम धर्मावलम्बीले श्रद्धापूर्वक पूजाआजा गर्ने मदारबाबा मेलामा नेपाल र भारतका हजारौँ भक्तजन आएका छन्। 

मेला आज शुरु भए पनि गत सोमवारदेखि नै दर्शनार्थी र बजार राख्नेहरूको भीडभाड लागेको विनयीत्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताए।

पूर्वपश्चिम राजमार्गको बर्दघाटबाट २१ किलोमिटर पूर्वमा रहेको मदारथानमा हिन्दूको पर्व शिवरात्रि शुरु हुनुभन्दा एक हप्ता अघिदेखि ठूलो मेला लाग्ने गर्छ। 

महाशिवरात्रिसम्म सञ्चालन हुने उक्त मेलामा नेपाल र भारतका गरी लाखौँ दर्शनार्थीको घुइँचो लाग्ने गर्छ। मेला व्यवस्थित गर्न त्यस क्षेत्रमा सुरक्षाको राम्रो व्यवस्था गरिएको अध्यक्ष गिरीले बताए।

“मदारबाबा स्थान मुस्लिम समुदायको नेपालकै ठूलो र ऐतिहासिकस्थल हो। विशेषगरी मुस्लिम समुदायको धार्मिकस्थल भए पनि त्यहाँ हिन्दू, बौद्ध धर्मावलम्बीको पनि आगमन हुने गरेको छ”, उनले भने, “यो स्थानको प्रवेशद्वार नवलपरासी (बर्दघाट सुस्तापश्चिम) को सुस्ता गाउँपालिका–२ महलबारीमा र मुख्य समाधिस्थल भने नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयीत्रिवेणी गाउँपालिका मदारीडाँडामा रहेको छ। मदारीडाँडामा हिँडेर पुग्न सकिन्छ।”

मेलामा महलबारी मस्जिदका मठाधीश अमिरुल्लाह अन्सारी नै परम्परादेखि मदारीडाँडाको गद्दीमा आसिन हुने परम्परालाई यस वर्ष पनि निरन्तरता दिइएको विनयीत्रिवेणी गाउँपालिका–६ का वडाध्यक्ष नुरेन शाहले बताए। 

“यस वर्षको मेलामा करिब ७ लाख भक्तजनले अवलोकन गर्ने अनुमान गरिएको छ”, शाहले भने।

मदारबाबाले धेरै मुलुकसहित नेपालको नवलपरासी र बुटवलस्थित फूलबारीपार्क क्षेत्रमा समेत तपस्या गरेको इतिहास पाइन्छ। यहाँ भाकल गर्नाले सन्तान नहुनेले सन्तान प्राप्त गर्छन् भन्ने जनविश्वाससमेत रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.