|

मकवानपुर : हेटौँडा दुग्ध वितरण आयोजनाले तराईका जिल्लाबाट अहिले दैनिक करिब २० हजार लिटर दूध सङ्कलन गर्ने गरेको छ। 

सङ्कलित दूधमध्ये विराटनगरमा धुलो दूध उत्पादनका लागि दैनिक १२ हजार लिटर र हेटौँडा दूध विकास बोर्डलाई छ हजार लिटर गरी कूल १६ हजार लिटर दूध पठाउने गरेको आयोजनाले जनाएको छ। 

आयोजनाले पर्साको वीरगञ्ज, चितवनको भरतपुर र नारायणगढ तथा मकवानपुरको हेटौँडामा दैनिक चार हजार लिटर स्थानीय उपभोक्तालाई दूध वितरण गर्दै आएको छ। आयोजनाले मधेस प्रदेशको सर्लाही, रौतहट, बारा, पर्सा र बागमतीको मकवानपुरमा गरी दुई सय दूध उत्पादक सहकारी संस्थाबाट दूध खरिद गर्ने गरेको जनाएको छ। 

आयोजनाका प्रमुख राजीव खनालले तराईका जिल्लाका किसानले अहिले पशुपालन गरी त्यस भेगबाट दैनिक दुई लाख लिटरभन्दा बढी दूध उत्पादन गर्दै आएको भएता पनि वीरगञ्ज, नारायणगढ र हेटौँडा बजारमा स्थानीय उपभोक्ताको माग वृद्धि हुन नसक्दा ती किसानले उत्पादन गरेको दूधलाई आयोजनाले थप खरिद गर्नुपर्ने चुनौती थपिएको बताए।

उनका अनुसार आयोजनाले अब ती सहरमा थप दूधको माग बढाउन वीरगञ्ज, भरतपुर महानगरपालिका, हेटौँडा उपमहानगरपालिका र चितवनको रत्ननगर नगरपालिकाका जनप्रतिनिधि तथा स्थानीय उपभोक्ताबीच सहकार्य र प्रविधिक पक्षमा छलफल गर्न केही दिनभित्र प्राविधिक टोली त्यसतर्फ खटाउने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.