|

बैतडी : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता समीकरणले पार्टी सिध्याउने अभियान टुटेको बताएका छन्।

एमाले जिल्ला अधिवेशनका लागि बैतडी पुगेका वरिष्ठ उपाध्यक्ष पोखरेलले पाटनमा प्रेस चौतारी बैतडीले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन्।

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका पोखरेलले देशभित्र र बाहिरका केही शक्तिले एमाले सिध्याउने प्रयोजनका लागि बनाएको कांग्रेस नेतृत्वको अपवित्र गठबन्धन टुटाएर नयाँ समीकरण बनाउन आफूहरू सफल भएकाले यसलाई सकारात्मक रूपमा लिएको पनि बताएका छन्।

सम्मेलनमा बोल्दै उनले नयाँ सत्ता समीकरणलाई पनि मिशन–२०८४ पूरा गर्न सहयोगीको रूपमा प्रयोग गर्ने योजनासमेत सार्वजनिक गरेका थिए।

वरिष्ठ उपाध्यक्ष पोखरेलले २०८४ सालको निर्वाचनमा पार्टीलाई एक्लै बहुमतमा पुर्‍याउने लक्ष्यसहित अघि बढाएको मिशन ८४ जारी रहने र त्यस अभियानलाई सहयोग गर्न सरकार र सत्तारुढ गठबन्धनलाई पनि उपयोगमा ल्याउने पार्टीको योजना रहेको बताए।

उनले नयाँ सत्ता समीकरणमार्फत मुलुकको बेथितितर्फ गइरहेको राजनीतिलाई सही दिशामा ल्याउन सक्दो कोसिस गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकलाई सही बाटोमा अघि बढाउनका लागि भ्रष्टाचारविरोधी अभियानमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए।

सुदूरपश्चिम प्रदेशमा नयाँ गठबन्धनसँग सरकार गठन गर्न बहुमत नरहेको प्रसंगमा पोखरेलले सबै पक्षसँग संवाद भइरहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.