जनकपुर : नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले वर्तमान सरकार बढीमा ६ महिना टिक्ने बताएका छन्।
सहमहामन्त्री यादवले भने‚ ‘सत्ताधारीहरू नै एक महिना मात्र भनिरहेका छन्। यो सरकार बढीमा ६ महिनाभन्दा टाढा जान सक्दैन।’
बुधबार धनुषाको लक्ष्मिनियाँ गाउँपालिका- ७ लक्ष्मिनियाँ बजारस्थित नवनिर्मित शहीद कामेश्वर कुशेश्वर स्मृति प्रतिष्ठान भवनको उद्घाटन गर्दै पूर्वमन्त्री समेत रहेका यादवले अब देशमा दुई समूह मात्र रहने बताए।
वामपन्थी र लोकतान्त्रिक दुईवटा गठबन्धन मात्र देशको हितमा रहेको बताउँदै यादवले भने‚ ‘जसपा, नेकपा समाजवादी जस्ता पार्टीहरूको पतन निश्चित छ।’
चीनले नेपालको दक्षिणसम्म वन बेल्ट वन रोड ऋण दिएर बनाउन खोज्दा कांग्रेसले अस्वीकार गरेपछि वामपन्थीले नयाँ गठबन्धन बनाएको सहमहामन्त्री यादवले दावी गरे।
बारामा उपेन्द्र यादवलाई जिताएर भुल भएको बताउँदै सहमहामन्त्री यादवले कांग्रेसको भोट लिएर मन्त्री भएका उपेन्द्र यादवको पतन हुने चेतावनी दिए।
कामेश्वर कुशेश्वर स्मृति प्रतिष्ठान भवनको उद्घाटनमा नेपाली कांग्रेस मधेश सभापति एवं भौतिक पूर्वाधारमन्त्री कृष्णप्रसाद यादवले माधव नेपालले कांग्रेसको २३ हजार मत लिएर जितेको र अहिले घात गरेको आरोप लगाए।
कार्यक्रममा केन्द्रीय सदस्य मीनाक्षी झा‚ मधेश प्रदेशसभा सदस्य रामसरोज यादव, शेषनारायण यादव, कुमरकान्त झा, अञ्जना पण्डित‚ लक्ष्मिनियाँ गाउँपालिका अध्यक्ष भोगेन्द्र मिश्र, नेपाली कांग्रेस महोत्तरी सभापति नागेश्वर यादव, मैथिली विकास समिति अध्यक्ष जीवनाथ चौधरी लगायत उपस्थित थिए।
स्मृति प्रतिष्ठान भवन १ कट्ठामा रहेको र भवन निर्माणमा अहिलेसम्म करिब १ करोड लागेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।