|

काठमाडौँ : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसले आफूमाथि लगाएको आरोपको जवाफ दिने मौकाको पर्खाईमा रहेको र संसदमा ९ मिनेट १८ सेकेन्ड पढाउने इच्छा रहेको बताएका छन्।

सहकारी ठगीमा मुछिएको आरोप लगाउँदै कांग्रेसले शुक्रवार सदन अवरुद्ध गरेपछि उनले सञ्चारकर्मीमाझ आफूमाथि लगाइएका सबै आरोपको जवाफ मौका पाउनासाथ सदनमा नै दिने बताएका हुन्। 

संसद भवन परिसरमा सञ्चारकर्मीमाझ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले सदनमा मौका पाउने बित्तिकै आफूमाथि उठेका प्रश्नको जवाफ दिने बताए। 

‘संसदमा विधेयक नै प्रस्तुत गर्न नदिने, कानून नै बनाउन नदिने हो भने के गर्न सकिन्छ र! जवाफ दिनका लागि तयार छु‚ जवाफ सुनेपछि उहाँहरु बेहोस हुने हो कि थाहा छैन। कुन कुरा सडकमा गर्ने, कुन सदनमा गर्ने भन्ने कांग्रेसजस्तो इतिहास बोकेको लोकतान्त्रिक दललाई भर्खरै आएको दलले पढाउन सुहाउँछ? कांग्रेसले आफैँ पढोस्‚’ उपप्रधानमन्त्री लामिछानेले भने, ‘यसमा मैले जवाफ दिन पाउँ भनेको छु। मलाई सभामुखले रुलिङ भएको एकछिनमा ९ मिनेट १८ सेकेन्डमा यो सबै कुरा क्लियर गरिदिन्छु‚ रुलिङको प्रतीक्षा गरिरहेको छु।’

उपप्रधानमन्त्री लामिछानेले आफूले सुशासनको पक्षमा काम गर्दै जाने र त्यसो गर्दा जसले राजीनामा मागे पनि जनताले दिएको म्याण्डेटको शक्तिमा काम गरिरहने बताए। उनले कांग्रेसलाई ९ मिनेट १८ सेकेण्ड पढाउने इच्छा रहेको बताए। 

उनले सुन तस्करीमा संलग्न जो कोहीलाई कारबाही हुने र त्यसको प्रक्रिया आजैबाट शुरु गरिएको पनि दावी गरे।

‘हामी गृह मन्त्रालयको तर्फबाट राम्रो कामहरु, नागरिकको पक्षमा काम गरिरहन्छौँ। कांग्रेसले राजीनामा दे, दे कि दे भन्ने होला। म आफ्नो काम गरिरहन्छु‚’ उनले भने‚ ‘अब म संसदमा समय पाएपछि कांग्रेसले उठाएको कुराको वास्तविकता के रहेछ? म राम्रोसँग बताइदिन्छु। त्यति कुरा चाहिँ एक पटक सदनमा मौका पाएँ भने कांग्रेसलाई पढाउने इच्छा छ ९ मिनेट १८ सेकेण्डमा।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.