|

काठमाडौँ : नेपाल समाजवादी पार्टी (नेसपा) दुई वर्ष नपुग्दै फुटेको छ। पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईको सहमतिविपरीत अर्का अध्यक्ष महेन्द्र राय यादवले माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेपछि नेसपा दुई चिरा भएको हो। 

माओवादी केन्द्र र नेसपा अध्यक्ष यादव पक्षबीच शनिबार बालुवाटारमा एकताका लागि सहमतिपत्रमा हस्ताक्षर भइसकेको छ। बैठकमा माओवादीबाट अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङ तथा नेसपाबाट दोस्रो वरीयताका अध्यक्ष यादवसहित सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव सहभागी थिए। 

दुई पक्षबीच भएको चारबुँदे सहमतिमा पार्टीको नामका सन्दर्भमा आगामी महाधिवेशनमा टुंगो लगाउने उल्लेख छ। 

नामको विषय मात्र नभई अन्य धेरै शर्त पूरा नभएकाले एकता असम्भव रहेको भट्टराई पक्षको ठहर छ। नेसपाले गत असारमै पार्टीको नाम, नेतृत्व, चुनाव चिह्न, झन्डा, वैचारिक सिद्धान्त, कार्यदिशा, संगठनात्मक संरचनालगायत विषयमा ९ बुँदे शर्त अघि सारेको थियो। यीमध्ये कुनै पनि शर्त सम्बोधन गर्न माओवादी तयार नभएकाले एकता कुनै हालतमा सम्भावन नरहेको नेसपा उपाध्यक्षसमेत रहेकी भट्टराईपत्नी हिसिला यमी बताउँछिन्। 

आफूहरूले माओवादीसँग रूपान्तरणसहितको एकता चाहेको तर माओवादी अहिले अझ विकृत हुँदै गएको टिप्पणी गरिन्। ‘कुरा के हो भने हामीले एकताको आधार भनेर ९ बुँदे शर्त अघि सर्‍यौं। त्यसको एकरति पनि सम्बोधन भएको छैन’, उनले भनिन्, ‘हामीले त रूपान्तरणसहितको एकता भनेका हौँ।’

अहिले माओवादी सत्तामा रहँदा देशको हालत बिग्रेको र एकपछि अर्को नेताका छोराहरू सुन तस्करी प्रकरणमा मुछिएका वेला एकता झन् असम्भव बनेको नेतृ यमीको धारणा छ। ‘अहिले सत्तामा रहेका दलहरूले देशको हालत खराब बनाएका छन्, यसमा हामी फेरि किन मिसिन जानुपर्‍यो?’, उनी भन्छिन्, ‘त्यसमाथि अहिले हेर्नुस् त, नेताका छोराहरूको हालत। हिजो हामी एउटै बिरासतबाट आएका हौँ‚ बरु हामीलाई लाज लागिरहेको छ।’  

त्यसो त गत वर्षको चुनावपछि माओवादीसँग एकता गर्न भट्टराई पनि सहमत थिए तर माओवादीमा रूपान्तरणको कुनै संकेत नदेखेपछि एकताको सम्भावना नरहेको निष्कर्षमा उनी पुगिसकेका थिए।

भट्टराई पछिल्लो समय अन्य कुनै पनि राजनीतिक दलसँग एकता नगर्ने, बरु नेसपालाई बलियो बनाउने सोचमा देखिन्छन्। शुक्रबारमात्रै उनी पक्षीय नेता विश्वदीप पाण्डेले फेसबुकमा लामो स्टाटस लेखेर आफूहरू नेसपालाई वैकल्पिक राजनीतिक यात्रामा नै लैजाने विचारमा रहेको स्पष्ट पारेका थिए। 

यसमा विमति राख्नेहरू अलग हुनु स्वभाविक रहेको नेता पाण्डेले उल्लेख गरेका छन्। ‘हाम्रो विचारमा केही समय अलि कष्ट खेपौँ भन्ने नै छ। यसमा कष्टकर बाटो हिँड्न रुचि नहुने साथीहरू अलग हुनुहुन्छ। यो सामान्य कुरा हो।’ 

गत ३० भदौमा एकताका लागि आह्वान गर्दै माओवादीले पहिलाे वरीयताका अध्यक्ष भट्टराईलाई बेवास्ता गर्दै अर्का अध्यक्ष यादवलाई पत्र पठाएको थियो। त्यो पत्रले नेसपामा तरंग ल्याएकाे थियाे। त्यो पत्रपछि नै  अध्यक्षद्वय भट्टराई र यादवबीचकाे सम्बन्ध थप चिसिएको थियो। 

फुटको अपजस लिन चाहँदैन यादव पक्ष 

पार्टी महासचिव समेत रहेका यादव पक्षीय नेता महेशप्रसाद यादवले नेसपाले राखेका ९ बुँदे शर्तह केही पूरा भएको र केही पूरा हुने क्रममा रहेकाले एकता गर्ने निष्कर्षमा पुगेको बताए। ‘एकता गर्ने सहमतिसँगै नाम फेर्ने सहमति पनि भएको छ’, उनले भने, ‘हामीले अघि सारेको ९ बुँदेमा अब बाँकी रहेका अन्य विषयमाथि चरणबद्ध छलफल गर्दै आगामी एकता महाधिवेशनसम्म टुंगोमा पुग्ने भनेका छौँ।’ 

आफूहरू पार्टी फुटाएर भन्दा पनि सबैलाई समेटेरै जान चाहेको महासचिव यादवको स्पष्टोक्ति छ। हिजो एकता गर्ने चाहना राखेर आफैँले प्रक्रिया अघि बढाएको भन्दै अब पार्टी फुट्ने/नफुट्ने अध्यक्ष डा. भट्टराईमै निर्भर रहने उनले बताए। 

‘हामी त सबैलाई मिलाएरै जान खोजेको हो तर अब पार्टी विभाजित हुने/नहुने कुरा डा. साबमाथि निर्भर रहन्छ’, उनले भने, ‘किनभने हिजो उहाँले नै सबै गर्नुभएको हो। पार्टीका सबै समितिबाट माओवादीसँग एकता गर्ने निर्णय गराएर, वार्ताटोली, संयोजन समिति सबै आफैंले बनाउनुभयो तर अहिले के कारण उहाँ पछाडि हटिरहनुभएको छ‚ थाहा छैन।’ 

माओवादीसँग एकता गर्न तयार रहेका नेसपा सहअध्यक्ष गंगानारायण श्रेष्ठको तर्क पनि महासचिव यादवसँग मिल्दो छ। पार्टीको आधिकारिक बैठकबाटै भएको निर्णयअनुसार शनिबार माओवादीसँग एकताका लागि सहमतिपत्रमा हस्ताक्षर भएको उनको जिकिर छ। 

९ बुँदे शर्त भने माओवादीबाट पूरा नभएको स्वीकार गर्दै श्रेष्ठ त्यसैका लागि चार सदस्यीय कार्यदल बनाइएको बताए। ‘उहाँ(अध्यक्ष भट्टराई)को असहमति अहिले होला तर मंसिर ६ मा बसेको केन्द्रीय कमिटी बैठकले गरेको निर्णय के हो भने पार्टी एकता संयोजन समिति बैठक गर्ने, यसैले एकता घोषणा गर्ने हो। यसैअन्तर्गत हामी अघि बढेका हौँ’, उनले भने, ‘हाम्रो ९ बुँदे शर्तलाई कार्यान्वयन गराउनकै लागि आजै चारसदस्यीय कार्यदल बनाइएको हो।’

सहअध्यक्ष श्रेष्ठले नमिलेका विषय छलफल गर्दै जानुपर्ने भन्दै ‘मेरो गोरुको बाह्रै टक्का’ गर्न नहुने बताए।  

तर अहिले पार्टी एकताका लागि भट्टराईकै नेतृत्वमा वार्ता समिति छ। उनै भट्टराईलाई 'बाइकट' गरेर अर्का अध्यक्ष यादवकाे सक्रियतामा एकताकाे घाेषणा गरिएकाे हाे। 

के सांसदलाई मात्रै पार्टीमा भित्र्याउने योजनामा छ माओवादी ?

पार्टी एकता गर्ने भनेरै २०७९ मंसिरको आमनिर्वाचनमा नेसपाका उम्मेदवारहरू पनि माओवादी केन्द्रकै चुनाव चिह्नबाट लडेका थिए। माओवादीको चुनाव चिह्नबाट प्रतिनिधिसभामा अध्यक्ष महिन्द्र राय यादव र उमरावती यादव विजयी भए। 

प्रदेशसभामा पनि नेसपाका दुई नेता माओवादीको चुनाव चिह्नबाट निर्वाचित भएका छन्। बागमती प्रदेशसभामा नेसपा सहअध्यक्षसमेत रहेका गंगानारायण श्रेष्ठ, जो बागमतीका आन्तरिक मामिला मन्त्रीसमेत हुन्। उता, गण्डकी प्रदेशमा पनि नेसपाका नेता फणिन्द्र देवकोटा माओवादीकै चुनाव चिह्नबाट निर्वाचित भएका हुन्।

माओवादी पार्टी एकताभन्दा पनि नेसपाका ती सांसदहरूलाई पार्टीमा भित्र्याउने योजनामा मात्र रहेको भट्टराई पक्षका नेताहरूको आरोप छ।

तर सांसदलाई मात्र भित्र्याउने नभई समग्र पार्टी एकताको पक्षमा माओवादी रहेको महासचिव देव गुरुङले बताए। ‘अब एकता हुने पक्का भयो’, सांसदलाई मात्रै भित्र्याउन खोजेको आरोप अस्वीकार गर्दै उनले भने, ‘त्यो त उहाँहरूले भन्ने कुरा मात्रै हो। हामीले त नेसपासँगै गरौँ भन्या हो।’

यादव पक्षीय नेता तथा सहअध्यक्ष श्रेष्ठले पनि कानुनी रूपमा आफूहरू माओवादीकै सांसद भएकाले त्यसमा माओवादीले थप खेल्नुपर्ने आवश्यकता नै नरहेको बताए। ‘माओवादीको चुनाव चिह्नबाट हामी ४ जनाले चुनाव लडेर जितेका हौं’, उनले भने, ‘त्यसकारण अहिले पनि हामी माओवादीकै सांसद हौँ अनि माओवादीले किन खेल्ने र।’

गोलाकारभित्रको हसिया–हतौडा चुनाव चिह्नबाट निर्वाचित नेसपाका ती ४ सांसद कानुनी रुपमा माओवादीकै हुन्। राजनीतिक दलसम्बन्धी ऐन २०७३ को धारा ४९ (३) मा जुन दलको चुनाव चिह्नबाट निर्वाचित भएको छ, सोही दलको संसदीय दलको सदस्य हुने भनिएको छ। 

तर हालै भट्टराईले माओवादीको चुनाव चिह्नबाट जितेका आफ्ना सांसदलाई नेसपाकै सांसदको रूपमा मान्यता दिन आग्रह गर्दै निर्वाचन आयोगलाई पत्र लेखिसकेका छन् तर आयाेगले यसबारे कुन निर्णय गरेकाे छैन।

माओवादीसँग एकता गर्ने गरी नै नेसपा अध्यक्ष भट्टराईले गत वर्षको चुनावमा आफ्नो निर्वाचन क्षेत्र गोरखा–२ माओवादी अध्यक्ष प्रचण्डका लागि छाडिदिएका थिए तर एकता नगर्ने निष्कर्षमा पुगेसँगै उनले आगामी निर्वाचन आफैँ लड्ने घोषणा गरिसकेका छन्। 

बैठक राख्ने र रोक्ने प्रयास

अध्यक्ष डा. भट्टराईले भोलि र पर्सि (चैत ४ र ५ गते) पार्टीको बैठक बोलाएका छन्। भट्टराई पक्षले भोलि ४ गते कार्यकारिणी समिति र ५ गते केन्द्रीय समितिको बैठक बोलाएको छ तर उक्त बैठक पार्टीको आधिकारिक नभएको भन्दै रोक्ने प्रयासमा अर्का अध्यक्ष यादव छन्। 

महासचिव समेत रहेका यादवपक्षीय नेता महेशप्रसाद यादवले बैठक नरोकिए आफूहरूले बहिष्कार गर्ने घोषणा गरेका छन्। ‘त्यो कुनै सरसल्लाह नगरी एकपक्षीय रूपमा बोलाइएको छ। महासचिव भएको नाताले मसँग पनि त केही सरसल्लाह हुनुपर्थ्यो। अर्का अध्यक्षसँग पनि केही सल्लाह नगरी आफूखुसी बैठक बेलाउनुभएको छ’, नेता यादवले भने, ‘त्यसकारण बैठक रोक्नुस् भन्दा मान्नुभएको छैन। हामी बैठकमा जाँदैनौं।’

भट्टराई पक्षले भने बैठक कसैले रोकेर नरोकिने स्पष्ट पारेको छ। पार्टीको आगामी महाधिवेशन र सांगठनिक अभियान चलाउनेबारे छलफल गर्न बैठक बोलाइएको बताइएको छ। उक्त बैठक ३ चैतदेखि राख्न खोज्दा अर्को पक्षसँगको सल्लाहमै ४ गतेदेखि राखिएको भट्टराई पक्षका नेताहरूको दाबी छ। 

तत्कालीन जनता समाजवादी पार्टी (जसपा) मा विवाद उत्पन्न भएपछि भट्टराई पक्षीय नेताहरूले २०७८ माघ १० मा समावेशी लोकतान्त्रिक पार्टी गठन गरेका थिए। २०७९ असारमा उक्त पार्टीको नाम परिवर्तन गरी नेपाल समाजवादी परिवर्तन थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.