|
फाइल तस्वीर

काठमाडौँ : सांसद डा. अमरेशकुमार सिंहले आगामी वर्षको बजेटलाई ‘बाहुबली विनियोजन विधेयक’ राख्न व्यंग्यात्मक सुझाव दिएका छन्।

बुधवार प्रतिनिधिसभा बैठकमा आगामी आव ०८१/८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको सम्बन्धमा छलफलमा भाग लिँदै सांसद सिंहले यस्तो व्यंग्य गरेका हुन्।

उनले ठूला नेताहरुको क्षेत्रमा धेरै बजेट राखेर बजेट आउने गरेकाले बाहुबली विनियोजन विधेयक नाम राख्दा हुने बताए। उनले सरकारले आगामी वर्षको बजेटलाई बाहुबली बजेटका रुपमा प्रस्तुत गरे हुने टिप्पणीसमेत गरे। 

उनले ठूला नेताको क्षेत्र केन्द्रित २ देखि ४ अर्ब रुपैयाँ छुट्याएर बजेट आउने गरेकाले मुलुकको विकास हुन नसकेको आरोप पनि लगाए।

उनले अब सबै नेताहरुले देश बिग्रन नदिने अठोट गर्न आवश्यक रहेको बताए। उनले सरकारले बजेट ठूला नेता भएको आधारमा भन्दा पनि आवश्यकताका आधारमा विनियोजन हुन आवश्यक रहेको उल्लेख गरे। 

उनले परियोजना बैंकको आधारमा बजेट विनियोजनमा जोड दिनुपर्ने बताए। उनले  मुलुक अहिलेसम्म पछाडि पर्नुको कारण उचित ठाउँमा लगानी नहुनु रहेको दाबी गरे। सांसद सिंहले लगानीको प्रतिफल आउन नसकेको बताए। उनले कृषिको प्रतिफलसमेत आउन नसकेको बताए।

‘आगामी वर्षको बजेटमा बाहुबली बजेट राख्न छुटेको छ। बाहुबली विनियोजन विधेयक राख्नुपर्छ। बाहुबली नेताहरु छन्। उनीहरुको क्षेत्रमा २ अर्ब ४ अर्ब बजेट जान्छ‚’ उनले भने, ‘बजेट आवश्यकताको आधारमा विनियोजन होस्। अहिलेसम्म देश पछाडि पर्नुको कारण अहिलेसम्म उचित ठाउँमा लगानी भएन। लगानीको प्रतिफल आउन सकेन। दिन प्रतिदिन सरकारमाथि नेपालीको विश्वास गुमेको छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.