|

सुर्खेत : पाँच वर्षअघि सडक, खानेपानी र विद्युतको समस्यले हैरानी खेप्दै आएको जाजरकोटको नलगाड नगरपालिका–३ स्थित कैना स्वास्थ्य चौकी अहिले सुधारिएर लोभलाग्दो भएको छ।

स्वास्थ्य चौकीको नेतृत्व हेमा पुनले गरेकी छन्। उनी इन्चार्ज भएर उक्त स्वास्थ्य संस्था सञ्चालन गरेको लामो समय नभए पनि छोटो समयमा स्वास्थ्य संस्थाको मुहारमा उल्लेख्य परिवर्तन आएको छ।

 कात्तिक १७ गते गएको भूकम्पमा परी स्वास्थ्य संस्थामा क्षति भए पनि टेन्टमा सञ्चालनमा रहेको उक्त स्वास्थ्य संस्थामा अहिले टेन्टबाटै अल्ट्रासाउण्ड सेवा, ल्यापसेवा र प्रसूति गृहसमेत सञ्चालन हुँदै आएको छ।

गर्भवतीको नियमित जाँचदेखि अन्य उपचारहरु कैनामै हुँदै आएको छ। भूकम्पबाट थिलोथिलो भएको संरचनाको बीचबाट स्वास्थ्य चौकी विभिन्न निकायको सहयोगबाट आफ्नौ सेवालाई गतिशीलता प्रदान गर्दै आएको छ।

इमान्दार भएर काममा लाग्ने हो भने हरेक संस्थाको मुहार भारी मात्रामा सुधार हुने रहेछ भन्ने प्रमाण यही स्वास्थ्य संस्थाबाट लिन सकिन्छ नलगाड नगरपालिका–३ कैनाका प्रचण्ड ओलीले बताए।

नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीबाट पैदल चार घण्टाको दूरीमा रहेको कैना बाक्लो जनसंख्या बसोबास रहेको क्षेत्र हो। छेउमा सूर्योदय माध्यमिक विद्यालय सञ्चालनमा रहेको छ।

दैनिक स्वास्थ्य संस्थाबाट विद्यालयमा समेत स्वास्थ्य सेवा प्रवाह हुने गरेको छ। स्वास्थ्य संस्थाको भवन निर्माण भोगेको समस्य र अहिले फेरि भूकम्पबाट स्वास्थ्य संस्थामा भएको क्षतीका कारण आफूहरु पीडामा भए पनि टेन्टको मद्दतबाट स्थानीयवासीलाई सन्तुष्ट हुनेगरी सेवा दिने प्रयास गरिरहेको इन्चार्ज पुनले बताइन्।

पुन राति १० बजेसम्म स्वास्थ्य संस्थाका खटिनुपरेको बताए। गाउँ, गाउँबाट बिरामी भएर समस्य भएको खबर फोनमा आउन बित्तिकै आफूहरु बिरामीको घरमै पुगेर आवश्यक उपचार सेवा दिने गरेको उनको भनाइ छ।

दुर्गम गाउँमा  स्थानीयवासीहरु सबै स्वास्थ्य संस्था आउनसक्ने सम्भावना नभएका कारण आफूहरूलाई घरमै बोलाएमा आफूहरु गएर सेवा दिने गरेको उनले जानकारी दिइन्।

बिरामीको घरमै गएर उपचार गर्दा आफूलाई सबैभन्दा खुसी मिल्ने गरेको बताए। आफूहरूलाई स्वास्थ्यकर्मीको रूपमा नभई घरमै छोरीको रुपमा व्यवहार हुने गरेको उनको भनाइ छ। गाउँ घरमा धामी, झाँक्रीदेखि अनेक खालका कुराहरुको वैकल्पिक माध्यम प्रयोग गरी बिरामीका आफन्तहरु रोगसँग मुकाबिला गर्ने गरिरहेकाले गाउँमा अझै भारी मात्रामा सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने स्वास्थ्यकर्मीको भनाइ छ।

पुरुषहरु स्वास्थ्य संस्थामा सजिलै आउने गरे पनि महिलाहरु बिरामी भए पनि रोग लुकाएर बस्ने चलन भारी मात्रामा भएकाले महिला स्वास्थ्यकर्मीले नै नेतृत्व गरेको कैना स्वास्थ्य चौकीमा अहिले महिलाहरु खुलेर उपचारका लागि आउने गरेको पाइन्छ।

महिला स्वास्थ्यकर्मीसँग सबै आन्तरिक कुराहरु खुलेरै कुरा सुनाउने र स्वास्थ्यकर्मीले दिएको निर्देशनसमेत सजिलै रुपमा ग्रहण गर्ने गरेको पाइएको छ।

 जिल्लाकै उत्कृष्ट सेवा प्रदान गरेको भन्दै अघिल्लो वर्ष कैना स्वास्थ्य चौकीलाई पुरस्कारसमेत दिइएको थियो। भूकम्पका कारण समस्यमा परेका कारण सहयोगीदाताले नयाँ भवन निर्माणका लागि पहल गरिदिन इन्चार्ज पुनले आग्रह गरिन्। ५ वर्षे छोरीकी आमा समेत रहेकी पुनलाई बिहान ६ बजे देखि बेलुकी १० बजे सम्म बिरामीको फोन आउने गर्दछ।

झोलामा औषधि र अन्य स्वास्थ्य सामग्री बोकेर उनी बिरामीको घरमा पुग्दा बिरामीहरु खुसी हुने गरेको उनले बताइन्। सबै सर्वसाधारणहरुको पहुँचमा अस्पताल नभएका कारण धेरै मानिसहरु लामो समयदेखि रोग लुकाएर बस्ने गरेको समेत पाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.