|

काठमाडौँ : सभामुख देवराज घिमिरेले विश्वव्यापी उष्णता बढाउन बढी योगदान गर्ने मुलुकले यसको प्रभाव बढी भोग्ने मुलुकप्रति गरेका प्रतिबद्धता कार्यान्वयन गर्न ध्यानाकर्षण गराएका छन्।

स्विट्जरल्याण्डको जेनेभामा आयोजित अन्तर व्यवस्थापिका सङ्घ (आईपीयू) को १४८औँ महासभालाई आज (आइतवार) सम्बोधन गर्दै उनले जलवायु परिवर्तनको गम्भीर खतराबाट प्रभावित सबै राष्ट्रहरूले अन्तरराष्ट्रिय मञ्चहरूमा एउटै स्वर उठाउन आह्वानसमेत गरे।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले अक्टोबर २०२३ को नेपाल भ्रमणका क्रममा नेपालको संसदबाटै जलवायु परिवर्तनले निम्त्याएका समस्याप्रति निकै जोडका साथ विश्व समुदायको ध्यानाकर्षण गराएकोप्रति सभामुख घिमिरेले स्मरण गराएको उनको सचिवालयले जनाएको छ।

उनले आफ्नो राष्ट्रले गरेका वाचा इमान्दारीका साथ पूरा गर्न सरकारलाई झक्झक्याउनु सबै सांसदहरूको कर्तव्य भएको बताए। 

“नेपाल आफैँमा अत्यन्त न्यून कार्बन उत्सर्जन गर्ने मुलुक हो तर नेपालले जलवायु परिवर्तनको धेरै ठूलो मार सहन गर्नु परिरहेको छ। नेपालमा रहेका उच्च हिमालहरूको हिउँ पग्लिने क्रम तीव्र हुँदा त्यसमुनिका पर्यावरण चरम जोखिममा परेका छन्। यो गम्भीर खतराबाट प्रभावित सबै राष्ट्रले अन्तरराष्ट्रिय मञ्चहरूमा एउटै स्वर उठाउनुपर्छ,” उनले भने, “विश्वव्यापी उष्णता बढाउन बढी योगदान गर्ने मुलुकहरूले यसको प्रभाव बढी भोग्ने मुलुकहरूप्रति गरेका प्रतिबद्धताहरू कार्यान्वयन हुनुपर्छ। म यहाँ उपस्थित सबै सांसदलाई हामी सबै राष्ट्रका सांसदहरू निष्ठापूर्वक यो कर्तव्य निर्वाह गरौँ भनी आह्वान गर्छु।”

उनले महासभामार्फत नेपाल सदैव शान्ति र सहअस्तित्वको पक्षधर रहँदै आएको सन्देश दिए। सम्बोधनमा क्रममा सभामुख घिमिरेले कूटनीतिको पुरातन र परम्परागत अवधारणामा परिवर्तन आइसकेको बताए। 

उनले यसको दायरा फराकिलो भइसकेको जनाउँदै वैकल्पिक कूटनीतिका औजारमध्ये संसदीय कूटनीति निकै महत्वपूर्ण औजारका रूपमा विकसित भएको बताए।

उनले संसारका विभिन्न भागमा राष्ट्रहरूबीच तनाव र द्वन्द्वको स्थिति सृजना भएको भन्दै राज्यको नेतृत्वले संसद् र नागरिकको भावना नबुझी आफूखुशी चालेका कदमबाट धेरैजसो तनावको उत्पत्ति भएको बताए।

उनले विवादको समयमै निरुपण गर्दै सहकार्य प्रवर्द्धन र साझा हितको बढावा गर्ने कूटनीतिमार्फत मात्रै राष्ट्रबीच संवाद, सहकार्य र सम्मानका माध्यमबाट सम्पूर्ण मानवजातिकै अधिकतम कल्याणका लागि अघि बढ्ने सिङ्गो विश्वको सामूहिक प्रयास सफल हुन सक्ने धारणा व्यक्त गरे।

आईपीयू विश्व शान्तिका लागि संसदीय कूटनीतिको अभ्यास गर्दै आएको संस्था हो। यसले शान्ति, अन्तरराष्ट्रिय सुरक्षा, लोकतन्त्र, मानव अधिकार, दिगो विकासजस्ता समसामयिक विषयमा विश्वभरका सांसदबीच छलफल, मन्थन र सहकार्यको मञ्च प्रदान गर्दै आएको छ।

नोबेल शान्ति पुरस्कार प्रदान गर्न थालिएको पहिलो र तेस्रो वर्षमै यसका २ सहसंस्थापक पेसी र क्रेमरले उक्त पुरस्कार पाएबाट उच्च रहँदै आएको गरिमालाई आईपीयूले कायम राख्न सफल भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.