|

काठमाडौं : मुलुकमा खाद्यान्न आयात १६ प्रतिशतले घटेको छ। भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको आठ महिना (साउन-फागुन) मा खाद्यान्न १६ प्रतिशतले घटेर ३२ अर्ब २९ करोड ९६ लाख रुपैयाँ बराबरको आयात भएको छ। 

बिहीबारको गोरखापत्र दैनिकमा समाचार छ, गत वर्ष यो अवधिमा ३८ अर्ब ८३ करोड ८५ लाख ७५ हजार रुपैयाँ बराबरको खाद्यान्न आयात भएको थियो। गत वर्षको तुलनामा छ अर्ब रुपैयाँ बराबरको खाद्यान्न आयात कम हो। मुलुकमा अधिकांश वस्तुको आयात घटिरहेका बेला खाद्यान्नको आयातमा समेत कमी आएको हो । गत वर्षको तुलनामा चामल, धान र मकैको आयातमा कमी आएको छ। आन्तरिक  उत्पादन वृद्धिसँगै बजारमा खाद्यान्नको माग कम हुँदा आयातमा समेत कमी आएको हो ।

भन्सार विभागको तथ्यांक अनुसार आठ महिनामा छ अर्ब ३९ करोड ६२ लाख १३ हजार रुपैयाँको चामल आयात भएको छ । गत वर्ष सो अवधिमा ११ अर्ब ७६ करोड ३८ लाख ३५ हजार रुपियाँको आयात भएको थियो । भारतले गत भदौ महिनादेखि बासमती चामलको निर्यातमा भन्सार महसुल बढाएका कारण चामल आयातमा कमी आएको हो ।  

यस्तै आठ महिनामा आठ अर्ब ६४ करोड ८८ लाख ८९ हजार रुपैयाँको धान आयात भएको छ । गत वर्ष सो अवधिमा १४ अर्ब ३० करोड ३१ लाख २६ हजार रुपैयाँको धान आयात भएको थियो । 

यस्तै आठ महिनामा नौ अर्ब २७ करोड ५५ लाख चार हजार रुपैयाँको मकै आयात भएको विभागको तथ्याङ्क छ । गत वर्ष सो अवधिमा ११ अर्ब ३९ करोड नौ लाख २१ हजार रुपैयाँको मकै आयात भएको थियो । यस्तै आठ महिनामा दुई अर्ब ६७ करोड ९६ लाख ८४ हजार रुपैयाँको गहुँ आयात भएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.