|

पर्वत : नेताद्वय पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारी प्यानलबीचको प्रतिस्पर्धाका कारण भएको निर्वाचनबाट नेकपा (एमाले) कास्कीको अध्यक्षमा बैनबहादुर अधिकारी निर्वाचित भएका छन्।

अधिवेशन गत शनिबार उद्घाटन भएको भए पनि दुई नेताका प्यानलबीच नेतृत्व र पदाधिकारीमा कुरा नमिलेपछि अन्ततः मङ्गलबार साँझदेखि मतदान सुरु भएको थियो। दुवै प्यानलका नेताहरूले आफूहरूले गुटगत राजनीति नगरेको बताउँदै आएको भए पनि उनीहरूबीच कुरा नमिलेपछि अधिवेशन निर्वाचनमा धकेलिएको थियो।

निर्वाचनको अन्तिम मत परिणामअनुसार गुरुङ पक्षको प्यानललाई पन्छाउँदै अधिकारी प्यानलका उम्मेद्वारहरु निर्वाचित भएका छन्। अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका बैनबहादुर अधिकारी क्षत्रीले दुई सय चार मतको अन्तरले माधव बास्तोलालाई पराजित गरेका छन्।

पृथ्वीसुब्बा पक्षका बास्तोलाले तीन सय ४७ मत पाउँदा खगराज पक्षका बैनबहादुरले पाँच सय ५१ मत ल्याएका छन्। कुनै पनि गुटमा सहभागी नभई स्वतन्त्र रूपमा अध्यक्षमा प्रतिस्पर्धा गरेका विवेक त्रिपाठीले १७ मत मात्रै पाएका छन्।

उपाध्यक्षमा अधिकारी प्यानलका भेषराज बरालले गुरुङ प्यानलका शिव आचार्यलाई एक सय ३९ मतले जितेका छन्। बरालका पक्षमा पाँच सय २७ मत आउँदा आचार्यको पक्षमा तीन सय ८८ मत आएका छन्। सचिव पदमा पनि अधिकारी प्यानलका दर्शन लामाले गुरुङ प्यानलका सुरेन्द्र गुरुङलाई दुई सय ७५ मतको अन्तरमा पराजित गरेका छन्।

लामाले पाँच सय ९५ मत मत प्राप्त गर्दा गुरुङले तीन सय २० मत प्राप्त गरेका छन्। सचिवमा विजयी दर्शन लामा यसअघिको कार्यकालमा उपसचिव थिए। यस्तै महिला उपसचिवमा अधिकारी प्यानलकै सन्तुदेवी सुवेदीले प्रतिस्पर्धी गुरुङ प्यानलकी राधिका शाही योगीलाई एक सय ६६ मतले पराजित गरेकी छिन्।

सुवेदीले पाँच सय १० मत पाउँदा योगीले तीन सय ४४ मत पाएकी छिन्। अर्की प्रतिस्पर्धी सङ्गीता सुवेदीले ६१ मत पाएकी छिन्।

अर्को एक उपसचिवमै अधिकारी प्यानलकै लालबहादुर परियार विजयी भएका छन्। उनले प्रतिस्पर्धी गीतादेवी विश्वकर्मालाई दुई सय ४७ मतको अन्तरमा पराजित गरेका हुन्। परियारले पाँच सय ८१ मत प्राप्त गर्दा पराजित विश्वकर्माले तीन सय ३४ मत प्राप्त गरेका छन्।

पाँचजना खुल्ला सदस्यमा मोहन सुवेदी (६१९), तोरणबहादुर बानिया (५७७),  झपट रानाभाट (५६७), इमानराज पौडेल (५३५), बलराम पौडेल (५०८) विजयी हुँदा तीन जना महिला सदस्यमा उषा बरुवाल (५२९), विष्णु सुवेदी (५०५) र कल्पना भवाँजी क्षेत्री (४९७) विजयी भएका छन्।

२०७८ मा भएको कास्की जिल्ला निर्वाचनमा पनि पृथ्वीसुब्बा र खगराज प्यानलबिच नै प्रतिस्पर्धा भएको थियो। त्यो बेलामा दुवै प्यानलबाट मिश्रित नतिजा आएको थियो।

पृथ्वीसुब्बा प्यानलबाट अध्यक्षमा मनबहादुर गुरुङ, उपाध्यक्षमा तेजनारायण अधिकारी र खगराज समूहबाट सचिवमा बैनबहादुर अधिकारी क्षेत्री, उपसचिव नवराज ओझा र दर्शन लामा विजयी भएका थिए। तर यस पटकको ११ औँ जिल्ला अधिवेशनमा भने खगराज समूह नै हाबी भएको छ। 

नेकपा (एमाले) भित्र गुटगत राजनीति नरहेको र हरेक निर्णय सर्वसम्मत रूपमा नै हुँदै आएको एमालेका नेताहरूले बताउने गरेका छन्। एमालेको कास्की जिल्लाको अधिवेशनले भने एमालेभित्रको गुटगत लडाइँ कति पेचिलो छ भन्ने देखाएको छ। गण्डकी प्रदेशमा एमालेको राजनीतिमा मुख्यतः लमजुङका पृथ्वी सुब्बा गुरुङ र कास्कीका खगराज अधिकारीबीच गुटगत राजनीति सक्रिय रूपमा देखिँदै आएको छ।

यी दुई पक्षलाई मिलाउने र सकेसम्म सर्वसम्मत रूपमा अधिवेशन पूरा सक्ने प्रयास भएको भए पनि नेताहरूका गुटगत नेतृत्वका कारण सर्वसम्मत हुन नसकेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.