|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले वित्तीय समानीकरण अनुदान घटाउने पक्षमा सरकार नरहेको बताएका छन्। प्रदेश र स्थानीय सरकारले संघीय सरकारले सो अनुदान घटाउने आशंका गरिरहेका बेला प्रधानमन्त्री दाहालले सो स्पष्टीकरण दिएका हुन्।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ५२औँ बैठकमा उनले सो अनुदान सरकारले बढाउँदै लैजाने नीति लिएको स्पष्ट पारे।

प्रधानमन्त्री दाहालले वित्तीय समानीकरण अनुदान आगामी आर्थिक वर्षमा पनि जस्ताको तस्तै कायम गर्ने बताए। उनले सशर्त अनुदानलाई भने सरकारले घटाउँदै लैजाने योजना सार्वजनिक गरे। विशेष अनुदान भने नयाँ ढंगले अघि बढाउने प्रधानमन्त्री दाहालको भनाइ थियो।

उनले भने, ‘यो वित्तीय समानीकरण अनुदान घटाइँदैन। त्यसलाई जस्ताको जस्तै कायम गरिन्छ। र सरकारको जोड सशर्त अनुदानलाई घटाउनेतिर हुन्छ। सशर्त अनुदान घटाउँदै लैजाने, सामान्यीकरण अनुदान बढाउँदै लैजाने नीति नै वास्तवमा संघीयता कार्यान्वयनसँग सम्बन्धित सही नीति हो। विशेष अनुदानको बारेमा विशेष रुपले नै सोच्नुपर्छ भन्ने मलाई लागेको छ। त्यसको बारेमा पनि हामीले अलिकति नयाँ ढंगले विचार गर्नु नै छ।’

प्रधानमन्त्री दाहालले आगामी आर्थिक वर्षदेखि सरकारको काम कारबाहीलाई तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता दोहोर्‍याए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.