जथाभावी औषधि नखाऔँ, कुन संक्रमण हो पुष्टि गरी चिकित्सकको निगरानीमा बसौँ

|

काठमाडौँ : कलंकीका गणेश शर्मा (नाम परिवर्तित) रुघाखोकी ज्वरो आएपछि सामान्य संक्रमण होला भनेर घरमै बसे। एक हप्तासम्म ठिक नभएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जचाए। रुघाखोकी‚ ज्वरो तथा घाँटी पनि दुख्ने र स्वाद थाहा नपाउने लक्षण देखिएको बताएपछि चिकित्सकले कोभिड परीक्षण गर्न भने। उनलाई फ्लु हो कि कोभिड निश्चित भएर बस्न सुझाव दिएपछि पिसिआर परीक्षण गरे। रिपोटमा कोभिड संक्रमण आयो। अहिले उनी घरमै आराम गरिरहेका छन्।

यस्तै शुक्रबार अस्पतालको बहिरंगग विभागमा यस्तै समस्या लिएर कीर्तिपुरका नरेश श्रेष्ठ (नाम परिवर्तित) पुगेका थिए। चिकित्सकले पनि उनलाई एकैसाथ फ्लु र कोभिडको परीक्षण गर्न सुझाव दिए। यी दुई बिरामी जस्तै पछिल्लो समय काठमाडौंमा इन्फ्लुएन्जा अर्थात् फ्लुका विरामी समुदायस्तरमै बढेका छन्। योसँगै कोभिडका बिरामी भेटिन थालेका छन्। के पछिल्ला दिनमा पुनः कोभिड र फ्लुका विरामी बढेका हुन्? यस विषयमा सरुवा रोग विशेषज्ञ समेत रहेका संक्रामक रोगको उपचार गरिने देशकै प्रमुख अस्पताल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान शाखा संयोजक डा. शेरबहादुर पुनसँग गरिएको कुराकानी:-

फेरि कोभिडका संक्रमित बढ्न थालेका हुन्?

हो, एक, डेढ हप्तायता कोभिड संक्रमित भेटिने दर अलि बढेको छ। अहिले अप्रत्यासित तरिकाले कोभिड संक्रमण बढेको छ। हुनत अहिलेसम्म हामीले कोभिडको संक्रमणदर बढ्ने समय कुन हो भनेर निश्चित भन्न सक्ने अवस्था छैन। किनभने विगतमा हाम्रोमा देखिएका विभिन्न खालका भेरियन्ट फरक फरक मौसममा देखिएर फैलिएको अवस्था छ। त्यसैगरी अहिले पुनः कोभिड संक्रमित देखिने दर बढेको देखिन्छ। एकदुई हप्ताको विरामीको दर हेर्ने हो भने एकदुई प्रतिशत रहेको संक्रमणदर अहिले दुईतीन प्रतिशतको दरले बढेको छ। यो शुभ संकेत होइन। अझै अचम्मको कुरा त अहिले कोभिडसँगै फ्लुको संक्रमण पनि व्यापक रूपमा समुदायमा फैलिरहेको छ‚ जसले गर्दा धेरैजनामा रुघाखोकी ज्वरो लगायतका समस्या हप्ता दिनसम्म पनि सन्चो नभएको भन्दै अस्पताल आउने विरामी धेरै हुनुहुन्छ।

भनेपछि अहिले फ्लु र कोभिड संक्रमण समुदायमा फैलिरहेको छ?

हो, अहिले काठमाडौँ उपत्यकामा फ्लु र कोभिड संक्रमण एकै साथ फैलिरहेको छ। जुन अझै केही हप्ता रहन सक्छ किनभने सामान्य अवस्थामा पनि यो मौसम हाम्रोमा फ्लु संक्रमण फैलिने मौसम हो। अहिले फैलिरहेको फ्लुमा पनि विशेषगरी पेन्डेमिक इन्फ्लुएन्जा H1N1 (स्वाइन फ्लु) र हङकङ फ्लु (एच थ्री एन टु) का साथै कोभिड संक्रमणले समुदाय स्तरमै मानिसलाई विरामी बनाइरहेको छ। धेरैले यो फ्लु र कोभिड संक्रमणलाई सकेसम्म सामान्य रुघाखोकी भनेर घरमै बस्नु भएको छ। एक हप्तासम्म ठिक नभएपछि बल्न अस्पताल आएको विरामीले नै बताइरहनु भएको छ।  

किन फ्लु र कोभिड सँगसँगै देखिन थालेको छ?

सामान्यतया यो सिजन ( मौसम) भनेको फ्लु संक्रमण बढ्ने मौसम हो। जसले गर्दा अघिल्ला वर्षहरूमा यो सिजनमा स्वाइन फ्लु, हङकङ फ्लु जस्ता संक्रमणले गर्दा विरामी अस्पताल आएको पाइन्थे। अर्को विशेष कुरा फेरि यस्ता फ्लु संक्रमण बढेका वेला कोभिड संक्रमण घटेको यसअघिको हाम्रो अनुभवले देखाएको थियो। तर योपटक कोभिड संक्रमण र फ्लु संक्रमण सँगसँगै समुदायस्तरमा फैलिरहेको छ। जुन हाम्रा लागि नयाँ अनुसन्धानको विषय बनिरहेको छ। फ्लु र कोभिड संक्रमण सँगसँगै बढ्दा धेरै जना विरामी अलमलमा परेर बसेको पनि हामीले पाएका छौँ किनभने फ्लु र कोभिड संक्रमण विशेषगरी ओमिक्रोन भेरियन्टको लक्षण लगभग सबै मिल्लाजुल्दा छन्। यसैले गर्दा धेरै विरामीलाई झुक्काइरहेको छ। फेरि फ्लु र कोभिड संक्रमण सँगै फैलिनु भनेको जनस्वास्थ्यको हिसाबले राम्रो मानिदैन किनभने फरक फरक प्रकारका संक्रमण समुदायस्तरमा फैलनु भनेको जनस्वास्थ्यको हिसाबले नराम्रो संकेत हो।

स्वाइन फ्लु, हङकङ फ्लु तथा कोभिड कुन संक्रमणले आफूलाई आक्रमण गरिरहेको छ भनेर विरामीले कसरी छुट्याउन सक्छन् त?

हो, मुख्य कुरा यही छ। संक्रमितहरूले आफूलाई कुन खालको संक्रमण भएको हो भनेर छुट्याउन नसक्दा कोभिड संक्रमितलाई अस्पतालसम्म आइपुग्दा निमोनिया समेत भइसकेको देखेका छौँ। फेरि यो तीनै खालको संक्रमणको प्रायः लक्षण समान भएको हुँदा पनि विरामी अलमलमा परेको पाइएको छ। यी तीनै खालको संक्रमणमा घाँटी दुख्ने, नाकबाट पानी बग्ने, आलस्य हुने, शरीर दुख्ने ,जाडो महसुस हुने, कडा खालको रुघाखोकी, ज्वरो आउने लक्षण देखिन्छ। तर कोभिडमा भने केहीमा स्वाद र गन्ध हराउने र छाती दुख्ने लक्षण देखिन्छ।

यसले गर्दा हामीले पनि कडा खालका लक्षण लिएर आएका यस्ता विरामीमा उपचारका क्रममा कोभिड र फ्लु कुन हो भनेर छुट्याउन परीक्षण गर्दा मात्रै कोभिड फ्लु कुन संक्रमण हो भनेर पुष्टि हुन्छ। तर अहिले उपचारमा आउनेहरू भने सामान्य रुघाखोकी भनेर घरमै बस्ने तर एक हप्तासम्म पनि ठिक नभएपछि आउने विरामी धेरै हुनुहुन्छ।

यस्ता लक्षण भएका विरामीले आफूलाई  कुन संक्रमण हो भनेर छुट्याउन किन आवश्यक छ?

सर्ने तरिका तथा लक्षण समान भए पनि कोभिड र हङकङ- स्वाइन फ्लुको उपचार पद्धति र  परामर्श दुबै फरक हुन्छ। यसले गर्दा यस्ता लक्षण देखिएपछि एक हप्तासम्म ठिक भएन भने चिकित्सककोमा गएर आफूलाई कुन खालको संक्रमण भएको हो भनेर पुष्टि गर्न आवश्यक छ। कोभिड संक्रमणले हामीलाई निमोनिया समेत बनाउँछ। यसरी आफूलाई फ्लु भएको भनेर बस्दा भित्र निमोनिया भइसकेको हुन्छ। अहिले हाम्रोमा आइसियुमा पुगेका विरामीमा पनि यस्तै सामान्य फ्लु भनेर बस्दा ठिक नभएपछि आएर जचाउँदा कोभिड संक्रमणले निमोनिया बनाइसकेको पाइएको हो।

अर्को कुरा भनेको यी तीनै खालका संक्रमणको लक्षण भएका विरामीले चिकित्सकको प्रेस्क्रिप्सनविना जथाभावी एन्टिबायोटिक तथा दुखाइ कम गर्ने जस्ता  औषधि खानु हुँदैन। यसले झन् असर गर्न सक्छ। बरु संक्रमणको लक्षण देखिएपछि झोलिलो खानेकुरा तथा फलफूल सहितका घरमै बनाइने अन्य खानेकुरा खान सकिन्छ।

अहिले यसरी फैलिरहेको संक्रमणले कस्ता मानिसलाई बढी प्रभावित बनाएको छ त?

त्यो त स्वाइन फ्लु, हङकङ फ्लु तथा कोभिड जस्ता संक्रमणले सबैभन्दा पहिला सताउने भनेको ज्येष्ठ नागरिक, दीर्घरोगी तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसलाई हो। यो सिजनमा फैलिरहेको यो संक्रमणले पनि यही समूहलाई बढी प्रभावित बनाएको छ। तर मुख्य कुरा भनेको अहिलेसम्म यो संक्रमणले मृत्यु भने गराइसकेको छैन तर यस्ता संक्रमितलाई आइसियुमा पुर्‍याएको छ।

यो तीनै खाले संक्रमणबाट बच्न कस्ता सावधानी अपनाउन जरुरी छ?

विशेषगरी अहिलेको अवस्थामा भिन्नभिन्न प्रकारका तीन थरी संक्रमण फैलिरहेको अवस्थामा मानिसहरूले परीक्षण नगरी घरमै बसेका छन्। यस्ता वेला संक्रमण झन् छिटो फैलने जोखिम हुन्छ। यस्तो अवस्थामा सकभर भीडभाडमा नजाने‚ मास्क लगाउने र आफूलाई शंका लागेमा परीक्षण गरेर आइसोलेशनमा बस्नु राम्रो हुन्छ।

अहिले काठमाडौँ उपत्यकामा समुदायस्तरमै फैलिएका यी संक्रमणको प्रायः लक्षण समान भएजस्तै बच्ने उपाय पनि समान छ। यो संक्रमणको उपचार प्रक्रिया मात्रै फरक हो। विशेषगरी स्वाइन फ्लु, हङकङ फ्लु तथा कोभिड संक्रमणबाट बच्न खोक्दा वा हाच्छ्युँ गर्दा मुख छोप्ने‚ संक्रमितले प्रयोग गरेका सामग्री अरूले प्रयोग नगर्ने‚ जथाभावी सामान नचलाउने‚ संक्रमित भइसकेको छ भने सकेसम्म सार्वजनिक स्थानमा नजाने‚ सार्वजनिक स्थानमा गएर आएपछि साबुनपानीले राम्ररी हातधुने, घर बाहिर निस्कँदा अनिवार्य रूपमा मास्क लगाउने, खोक्दा, खाना खानुअघि साबुनपानीले हात धुने, धेरै भीडभाडमा नजाने‚ जोखिम समूहमा पर्ने व्यक्तिहरूले कोभिडविरुद्धको जस्तै फ्लुको खोप पनि लगाउन सकिन्छ।

टेकु अस्पतालमा फ्लु बहिरंग विभागका सामु जचाउन बस्नेको लाइन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.