|

काठमाडौँ : चालु आव ०८०/८१ को ८ महिनामा १० खर्ब ३० अर्ब २२ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ।

नेपाल राष्ट्र बैंकले आज (बिहीवार) सार्वजनिक गरेको विवरणअनुसार कूल आयातमा २ दशमलव ७ प्रतिशतले कमी आएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १९ दशमलव १ प्रतिशतले कमी आएको थियो। 

वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलुकबाट भएको आयात क्रमशः २ दशमलव ८  प्रतिशत र २२ दशमलव ९ प्रतिशतले घटेको छ। यस्तै चीनबाट भएको आयात ३३ दशमलव ७ प्रतिशतले बढेको छ।

सो अवधिमा स्पेयर पार्टपुर्जा, हवाईजहाजको स्पेयर पार्टपुर्जा, विद्युतीय उपकरण, लत्ताकपडालगायत वस्तुको आयात बढेको छ भने कच्चा सोयाबिन तेल, सुन, पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, धान, चामललगायत वस्तुको आयात घटेको छ। 

निर्याततर्फ भैरहवा, सुक्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, मेची, रसुवा तथा तातोपानीबाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ।

आयाततर्फ भैरहवा, सुक्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, नेपालगञ्ज, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ। 

चालु आवको ८ महिनामा कुल वस्तु व्यापार घाटा २ दशमलव ५ प्रतिशतले कमी आइ ९ खर्ब २९ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १७ दशमलव ९ प्रतिशतले घटेको थियो।

समीक्षा अवधिमा भारतबाट परिवर्त्य विदेशी मुद्रा भुक्तानी गरी ९८ अर्ब २९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ८५ अर्ब १२ करोड रुपैयाँ बराबरको भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.