|

पर्वत : शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पर्वत, स्याङ्जा र लमजुङका प्राथमिक तहका डेढसय शिक्षक दरबन्दीहरू बागलुङका विभिन्न स्थानीय तहमा स्थानान्तरण गरेको छ।

गत चैत १९ गते मन्त्रालयको सचिवस्तरको निर्णयका आधारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको चैत २०को पत्रअनुसार दरबन्दी स्थानान्तरण गरिएको हो। 

कतिपय विद्यालयमा शिक्षक अपुग भएको र कतिपय विद्यालयमा विद्यार्थी अभावमा कामविहीन बनेपछि देशभर नै  दरबन्दी मिलनको काम सुरु भएको र सोही क्रममा ती जिल्लाका पनि दरबन्दी स्थानान्तरण गरिएको हो । 

केन्द्रले स्याङ्जा, लमजुङ, पर्वत र बागलुङका शिक्षा विकास तथा समन्वय इकाईलाई पत्राचार गर्दै दरबन्दी कट्टा गरिएको स्थानीय तहहरुलाई त्यहाँबाट पत्राचार गरी त्यसको जानकारी केन्द्रलाई दिन निर्देशन दिएको छ। 

जसमा पर्वत, स्याङ्जा र लमजुङका एक सय ५० रिक्त दरबन्दीलाई बागलुङका विभिन्न स्थानीय तहमा स्थानान्तरण गरिएको छ।

जसमा गल्याङ नगरपालिकाका २१ दरबन्दी, वालिङ नगरपालिकाका २८ दरबन्दी र चारराहत गरी ३२ र कालीगण्डकी गाउँपालिकाका सात दरबन्दी र एक राहत गरी आठ खुद दरबन्दी रहेका छन्। 

यस्तै लमजुङको बेंसीशहर नगरपालिकाका २३ वटा दरबन्दी तथा पर्वतका जलजला गाउँपालिकाका तीन दरबन्दी र एक राहत गरी चार, कुश्मा नगरपालिकाका २९ दरबन्दी र एक राहत गरी ३०, मोदी गाउँपालिकाका १० दरबन्दी र तीन राहत गरी १३, फलेवास नगरपालिकाका २७ दरबन्दी, महाशिला गाउँपालिकाका २० दरबन्दी र एक राहत गरी कुल २१ दरबन्दीलाई स्थानान्तरण गरिएको हो।

ती दरबन्दीहरू बागलुङको ढोरपाटन नगरपालिकामा २३ दरबन्दी र दुई राहत गरी २५, बडिगाड गाउँपालिकामा ३६ दरबन्दी र तीन राहत गरी ३९, बागलुङ नगरपालिकामा १४ दरबन्दी र एक राहत गरी १५, ताराखोला गाउँपालिकामा १२ दरबन्दी तथा बरेङ गाउँपालिकामा चार दरबन्दी स्थानान्तरण गरिएका छन्। 

यस्तै काठेखोला गाउँपालिकामा १४ दरबन्दी र एक राहत गरी १५, तमानखोल गाउँपालिकामा आठ दरबन्दी, गलकोट नगरपालिकामा ११ दरबन्दी र निसीखोला गाउँपालिकामा २० दरबन्दी र एक राहत गरी २१ दरबन्दी सारिएका छन्।

पर्वत, स्याङ्जा र लमजुङबाट दरबन्दीतर्फका कुल एक सय ४२ र राहततर्फका आठ गरी कुल एक सय ५० दरबन्दी सारिएका हुन्। 
केन्द्रको पत्रमा बागलुङकै जैमिनी नगरपालिकाका २१ दरबन्दी कट्टा गरिएको उल्लेख छ। जैमिनी नगरपालिका दरबन्दीसमेत गणना गर्दा दरबन्दीतर्फका एक सय ८९ र राहततर्फ ११ गरी कुल दुई सय दरबन्दी काटिएका छन्। 

काटिएकामध्ये सबै दरबन्दी भने बागलुङका स्थानीय तहहरूमा स्थानान्तरण गरिएका छैनन्। काटिएका दरबन्दीको संख्या दुई सय रहेको भए पनि स्थानान्तरण गरिएका दरबन्दीको संख्या एक सय ५० रहेको केन्द्रका शाखा अधिकृत भुवनेश्वर जोशीले बताए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.