विराटनगर : एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले अल्पमतमा परेका मुख्यमन्त्रीले दीर्घकालीन असर गर्ने काम गर्न नहुने बताएका छन्।
सोमबार मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएका नेकपा एमाले र माओवादी केन्द्रले मंगलबार पत्रकार सम्मेलन आयोजना गरी यस्तो बताएका हुन्। उनले दीर्घकालीन असर गर्ने काम नगर्न आग्रह समेत गरेका छन्।
संविधानको धारा १८८ बमोजिम सहभागी दलले समर्थन फिर्ता लिएमा विश्वासको मत लिनुपर्ने बताउँदै उनले मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत नलिए प्रदेश प्रमुखले नयाँ प्रक्रिया शुरु गर्ने बताए।
‘हाम्रो सुझाव १६८ को २ बमोजिम सरकार गठनको प्रक्रिया शुरु गर्नका लागि छ। उहाँले राजीनामा गरेर मार्गप्रशस्त गर्नु राम्रो हुन्छ’‚ उनले भने‚ ‘वैशाख २५ भित्र संसद्को बैठक बोलाउनुपर्नेमा जेठ ११ गते बोलाउन सिफारिस गर्नुले उहाँ सत्तामा रहिरहने चाहना देखिन्छ।’
मुख्यमन्त्रीको व्यवहार हेरेर संकल्प प्रस्ताव अगाडि बढाउने तर्क राख्दै उनले मत विभाजनको प्रक्रियामा पनि जान सक्ने जिकिर गरे।
‘सरकार हुन बहुमत चाहिन्छ त्यो हिजोबाट गुम्यो’‚ उनले भने‚ ‘शासन बहुमतको तागतले गर्ने हो।’
यता नेकपा माओवादी केन्द्रका सांसद एवं पूर्व मन्त्री दुर्गाप्रसाद चपागाईंले अब बलियो सरकार गठन हुने र त्यसको प्रक्रिया अघि बढ्नेमा जोड दिए।
उनले कोशी प्रदेश मध्यावधिमा नजानेमा ढुक्क रहेको समेत दावी गरे।
वैकल्पिक सरकार बन्न सक्ने आधार प्रदेश प्रमुखसमक्ष प्रस्तुत भइसकेको बताउँदै उनले ट्रयाक आउट भएको राजनीति अब ट्र्याकमा आएको उनको भनाइ थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।