|
फाइल तस्वीर

काठमाडौँ : काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले ठमेल र दरबारमार्गको सुरक्षा स्थिति हेरेर नयाँ बसपार्क क्षेत्र पनि २४सै घण्टा खोल्ने बताएका छन्।

मित्रनगर विकास तथा सुधार समितिले आज (शुक्रवार) नयाँ बसपार्कमा आयोजना गरेको ‘नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम’ मा ठमेल र दरबारमार्गको सुरक्षा स्थितिलाई हेरेर नयाँ बसपार्कलाई २४सै घण्टा खुलाउने बताएका हुन्।

“देशभरिका मानिस आवतजावत गर्ने ठाउँ नयाँ बसपार्कलाई पनि २४सै घण्टा सञ्चालन गर्न जरुरी छ, वैशाख १ गतेदेखि ठमेल र दरबारमार्ग खुला गर्न लागिएको छ, त्यहाँको स्थितिलाई हेरेर नयाँ बसपार्क पनि २४सै घण्टा सञ्चालन गछौँ, जसले यस क्षेत्रको अर्थतन्त्र चलायमान हुन्छ”, उनले भने। 

उनले बजार २४सै घण्टा खोल्दा स्थानीयलाई असर पर्न नहुने उल्लेख गरे। वडाध्यक्ष तिवारीले अब २ महिनाभित्र नयाँ बसपार्क आसपासका सडक कालोपत्रे भइसक्ने उल्लेख गरे। 

काठमाडौँ महानगरपालिकाको वडा नं २६ मा ठमेलसहित नयाँ बसपार्कसमेत पर्छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले ठमेल र नयाँ बसपार्कलाई एकआपसमा जोड्न सकेमात्र नयाँ बसपार्क क्षेत्रको अर्थतन्त्र चलायमान हुने बताए।

“राति नयाँ बसपार्कमा सवारीसाधन ओहोरदोहोर गर्ने भएकाले यस क्षेत्रको बजार २४सै घण्टा खोल्न जरुरी छ”, उनले भने। 

मित्रनगर विकास तथा सुधार समितिका अध्यक्ष गङ्गा पन्तले नयाँ बसपार्क क्षेत्रलाई सुन्दर र व्यवस्थित बनाउन समितिले काम गरिरहेको उल्लेख गरे। 

उनले नयाँ बसपार्क क्षेत्रको विकृति विसङ्गति अन्त्यका लागि स्थानीय टोलबासी, तीनै तहका सरकार र प्रहरीबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे। उक्त समितिले विगत वर्षमा ‘प्रथम नयाँ बसपार्क सडक महोत्सव’ समेत आयोजना गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.