|

पर्वत : कास्कीको पोखरा महानगपालिका–२५ हेम्जामा आयोजना भएको १२ औँ संस्करणको हेमजा आलु महोत्सवमा आलुमा मात्रै ३० लाख बढीको कारोबार भएको छ।

गत चैत २५ गतेबाट सुरु भई बुधवार साँझ सकिएको महोत्सवमा प्रतिकिलो ४० रुपैयाँका दरमा आलु बिक्री गरिएको थियो। उक्त अवधिमा ३० लाख ६५ हजार सात सय २० रुपैयाँ बराबर आलुको कारोबार भएको छ।

करिब  ७५ हजारभन्दा बढीले महोत्सव अवलोकन गर्दा कुल तीन हजार चार सय ४५ परिवारले आलु खरिद गरेका कृषि उपज व्यवस्थापन उपसमितिका संयोजक जयराम तिम्सिनाले बताए।

उनले कास्की, गोरखा, म्याग्दी, मुस्ताङ, स्याङ्जा, चितवन, बुटवल, बागलुङ, तनहुँ, लगायत काठमाडौंबाट आएका उपभोक्ताहरूले समेत आलु खरिद गरेको जानकारी दिए। प्रति परिवारले न्यूनतम पाँच किलोग्रामदेखि अधिकतक तीन  सय किलोग्रामसम्म आलु खरिद गरेका थिए। हेम्जामा फलेको आलु स्वादिलो, छिटो पाक्ने तथा स्वस्थ हुने भएकाले पनि विभिन्न जिल्लाका उपभोक्ताले आलु खरिद गरेका हुन्।

आलुको प्रदर्शनीमा उत्कृष्टता हासिल गर्ने कृषक भीममाया नेपाली, एकबहादुर कार्की, पार्वती बानियाँ, हरिमाया रोका तथा कृषि अधिकृत चन्द्रकान्त तिमिल्सीनालाई नगद सहित सम्मान गरिएको छ।

महोत्सव अवधिभर आलु लगायत अन्य सामग्री समेत गरी तीन करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको मूल आयोजक समितिका महासचिव वसन्तकुमार श्रेष्ठले बताए।

महोत्सवको आकर्षणका रूपमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन, माटो र बोटबिरुवाको परीक्षण तथा रोगको निदान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, कृषि विज्ञ र किसानबिच अन्तरक्रिया, विभिन्न कृषि उपज, बिउ बिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक तथा विज्ञ सम्मान एवम् पुरस्कार, रत्यौली गीत प्रतियोगिता, हास्य व्यङ्ग्य एवम् लाइभ पप कन्सर्ट लगायतका कार्यक्रम राखिएका थिए।

‘सुन्दर ठाउँ हेमजा जाऔँ, आलुका स्वादिष्ट परिकार खाऊँ, आलु एक परिकार अनेक’ भन्ने नाराका साथ विष्णु पादुका क्लबको आयोजनामा महोत्सव भएको हो। हेमजाको कुल १२ हजार पाँच सय हेक्टर क्षेत्रफलमध्ये पाँच सय हेक्टरमा आलु खेती गर्ने गरिएको छ। हेम्जाका पाँच सय ४० परिवारले व्यावसायिक रूपमा आलु खेती गर्दै आएका छन्।

कृषक सम्मान गर्दै पोखरा महानगरपालिका प्रवक्ता समेत रहेका पोखरा २५ का वडाध्यक्ष मोतीलाल तिमिल्सीनाले महोत्सवमा महानगरको साथ रहेको स्पष्ट पार्दै नगर परिषद्ले महोत्सव व्यवस्थापनका लागि १० लाख सहयोग गर्ने निर्णय गरेको जानकारी दिए। आलु महोत्सव किसानको चाड भएको उल्लेख गर्दै उनले सबै हेम्जावासी खटेर महोत्सव सफल पारेकोमा प्रशंसा गरे।

महोत्सवकै अवसरमा क्लबको बहुउद्देश्यीय भवन शिलान्यास हुनु अर्को खुसीको कुरा हो भन्दै प्रवक्ता तिमिल्सीनाले महोत्सवमा कृषिका गतिविधिलाई प्राथमिकता दिनुपर्ने औँल्याए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.