|

सर्लाही : आँपको बतिला झर्ने समस्याले यति वेला सर्लाहीका आँप खेती गर्ने किसान चिन्तित भएका छन्।

सयौँ हेक्टरमा लगाइएको आँप खेतीमा सिँचाइको अभाव र प्राविधिक ज्ञान नहुँदा बतिला झर्ने समस्याले किसान चिन्तित बनेका हुन्।

सर्लाहीको सबैभन्दा बढी आँप खेती हुने अत्रौली र सासापुरका किसानले सिँचाइ अभावमा खेती गर्न समस्या भइरहेको गुनासो गरेका छन्।

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने हरिवन–१, २, ३ र ४ साविकको अत्रौली र सासापुर गाविसका अधिकांश किसानले व्यावसायिक रुपमा आँप खेती गर्दै आएका छन्।

हरिवन–३ डाबरीका  किसान विनोद लोप्चनले ४ बिगाहा क्षेत्रफलमा व्यावसायिक आँप खेती गर्दै आइरहेका छन्। सिँचाइको अभावमा भने जस्तो फाइदा लिन नसकेको गुनासो उनले गरेका छन्।

कुनै वर्ष समय समयमा पानी पर्दा आँप उत्पादन राम्रो हुन्थ्यो तर यो पटक पानी नपर्दा उत्पादन घट्ने उनले बताए। उनका अनुसार यतिखेर रुखमा आँपका साना साना दाना लागेको छ जसलाई पानी अति आवश्यक हुन्छ तर वर्षा नहुँदा आँपको दाना झर्ने समस्या भइरहेको छ। 

‘पानी छैन, फूल र बतिलाको लागि भिटामिन र बिषादीको आवश्यकता पर्छ प्राविधिक ज्ञान छैन, हचुवाको भरमा खेती भैरहेको छ। भगवान भरोसा के गर्ने, सिँचाइ सुविधा नभएकाले र कुनै पनि निकायबाट प्राविधिक सहयोग नपाउँदा खेती गर्न गाह्रो भएको छ‚’ उनले गुनासो गरे। 

हरिवन–२ का अर्का किसान माधव मैनालीका अनुसार यहाँका अधिकांश किसानले प्राविधिक ज्ञानविनै बिषादीको प्रयोग गर्छन्। 

‘जुन पसलबाट बिषादी ल्याएको हो, त्यही पसलेको सल्लाहअनुसार प्रयोग गर्छौं, जसबाट कहिलेकाहीँ फल झर्ने फूल डढ्नेजस्ता समस्यासमेत देखिने गरेको छ‚’ उनले बताए। यतिखेर बतिला जोगाउन पर्याप्त सिँचाइ चाहिने प्राविधिकहरु बताउँछन्।

यस विषयमा हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल)ले सुक्खा क्षेत्र अत्रौली र सासापुरमा व्यावसायिक आँप खेती गर्ने किसानका लागि बिषादी छर्न पम्प वितरण गरेको र केही स्थानमा डिप बोरिङमार्फत समेत सिँचाइको व्यवस्था गरेको उनले बताए।

यस वर्ष पनि वाटरपम्प वितरण र डिप बोरिङमार्फत सिँचाइ सुविधा पुर्‍याउने र प्राविधिक ज्ञानका लागि तालिम दिने तयारीमा रहेको बताए।

यता कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख देवानन्द रायले आँप खेतीलाई चाहिने वेलामा पानी नपर्दा सिँचाइ नपुगेका सर्लाहीको उत्तरी क्षेत्रमा आँपको बतिला झर्ने समस्या देखिएको बताए। 

गत वर्षको तुलनामा यस वर्ष ५० प्रतिशतमात्र आँप उत्पादन हुने अनुमान गरिएको प्रमुख रायको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.