|

काठमाडौं : सगरमाथा आरोहणका लागि यो वसन्तमा नयाँ बाटो सञ्चालनमा ल्याइएको छ।

शुक्रबारको गोरखापत्रमा समाचार छ, पर्यटन विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङका अनुसार पहिलो आधार शिविरनजिक रहेको ल्हो ला पिक आसपास सन् २०१४ अगाडि प्रयोग भएको रुटनजिकै भएर नयाँ बाटो तयार पारिएको हो। 

‘सगरमाथा आरोहणका लागि बाटो बनाउन गएका आठ अनुभवी ‘आइसफल डाक्टर’ (हिमालमा बाटो बनाउने व्यक्ति) शेर्पाले सगरमाथाको आधार शिविरदेखि दोस्रो शिविरसम्मको बाटो तयार पारेका छन्’, उनले भने, ‘यो पटक विगतका वर्षमा प्रयोग भएको रुटमा हिउँ अस्थिर देखिएकाले पुरानो रुटनजिकै भएर दोस्रो शिविरसम्मको ‘रोप फिक्सिङ’ पूरा भएको छ।’

सन् २०१३ देखि सन् २०१४ सम्म प्रयोग भएको बाटोमा हिउँको अवस्था अस्थिर देखिएकाले नयाँ बाटो निर्माण गरेको उनले बताए। 

उनका अनुसार सगरमाथा आधार शिविरदेखि दोस्रो शिविरसम्मको बाटो बनाउन सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) बाट चैत १ गते आधार शिविरमा क्षमापूजा गरी हिउँ कुल्चिएर अघि बढेका आठ जना अनुभवी शेर्पाको समूह दोस्रो शिविरसम्मको बाटो तयार पारेर आधार शिविर फर्किएका छन्। 

दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा यो पटक पर्वतारोहण सञ्चालक संघका तर्फबाट ‘सेभेन समिट ट्रेक्स’ ले पाएको छ । सेभेन समिट ट्रेक्सका देण्डी शेर्पाको नेतृत्वको १० जना आइसफल डाक्टरको टोली दोस्रो आधार शिविरदेखि चुचुरोसम्मको बाटो बनाउने तयारीमा लागेको गुरुङले जानकारी दिए।

​एसपीसीसीले २०५४ सालदेखि पर्यटन विभागको पर्वतारोहण महाशाखासँग सहकार्य गरेर दोस्रो शिविरसम्म बाटो बनाउने र मानव मलमूत्रको व्यवस्थापनको जिम्मा लिँदै आएको छ । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.