|

विराटनगर : कोशीका मुख्यमन्त्रीलाई ३० दिनभित्र विश्वासको मत लिन निर्देशन दिने र नलिएमा नयाँ सरकार गठनको प्रक्रिया थाल्न प्रदेश प्रमुखलाई सन्देश दिने प्रस्ताव प्रदेशसभाबाट पारित भएको छ।

प्रदेशसभाको आजको बैठकमा प्रस्तावमाथि छलफलपछिको मत विभाजनमा प्रस्ताव ५२ मतसहित पारित भएको सभामुख अम्बरबहादुर बिष्टले घोषणा गरे।

प्रस्तावको विपक्षमा कसैले मत दिएनन भने राप्रपाका ३ जना तटस्थ रहे। ध्वनि मतबाट प्रस्ताव पारित भैसकेपछि विपक्षमा रहेका प्रदेशसभा सदस्यहरुले मतदानबाट मत विभाजनको माग गरेका थिए। त्यसपछि सभामुख बिष्टले उभ्याएर संख्या गणना गर्ने घोषणा गरेका थिए।

गणना गर्न सभामुखले प्रक्रिया थाल्दा एमाले, माओवादी र जसपाका ५२ जना उभिएका थिए। 

राप्रपाका ३ जना तटस्थ बस्न उभिए भने विपक्षमा कोही पनि उभिएन। 

सत्तापक्षका २४ जना बैठकमा सहभागी भए पनि उनीहरु मत विभाजन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै मतदान प्रक्रियामा सहभागी भएनन्।

एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी प्रस्तावक, माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेशप्रसाद उप्रेती र एमालेका प्रदेशसभा सदस्य किशोरचन्द्र दुलाल समर्थक रहेको संकल्प प्रस्ताव पारित भएसँगै प्रदेश प्रमुख पर्शुराम खापुङ्गले एमाले र माओवादीका सांसदको मागबमोजिम बिहीवार शुरु भएको प्रदेशसभाको अधिवेशन पनि अन्त्य भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.