|

‘खाना, व्यायाम र व्यवहारबाट हाडजोर्नीको समस्या हटाउन सकिन्छ। नेपाली समाजमा मेरुदण्डको अप्रेशन गर्दा कुँजो भइन्छ भन्ने भ्रम छ। यसले पनि समाजमा हाडजोर्नी र मेरुदण्डका विरामी घट्न सकेका छैनन्। मानिसहरूले खाइरहेको खानाले हड्डी कमजोर बनाइरहेको छ। यसै विषयमा केन्द्रित रही नेपाल अर्थोपेडिक एशोसिएशनका अध्यक्ष डा. विमलकुमार पाण्डेसँग न्युज एजेन्सी नेपालले लिएको अन्तरवार्ता।

हड्डीको समस्या बढेको हो कि उपचार गर्न आउने कारणले बढेको जस्तो देखिएको हो?

दुईवटै कारण छ। मान्छेहरू पहिले गाउँघरमा रोग पालेर बस्थे। अहिले सुविधासम्पन्न भएकाले दूरदराजबाट पनि आउने भएकाले बढेको हो। यसैगरी पहिले रोग लाग्दा यो यस्तै हो भनेर सहेर बस्थे भने अहिले केही समस्या भए स्वस्थ हुनुपर्छ भनेर अस्पताल आउने संख्या बढेको छ। सवारीसाधन बढेपछि दुर्घटना पनि बढेको छ। त्यसले गर्दा पनि हड्डीका विरामी बढेका हुन्।

बढेको हो भन्नलाई अरू सूचक केके छन्?

पहिले दुईचारवटा अस्पताल मात्रै थिए। अहिले मेचीदेखि महाकालीसम्म धेरै अस्पताल छन्। ७–८ सय जति अर्थोपेडिक सर्जन हुनुहुन्छ। जति जनतामा पहुँच पुग्छ, स्वास्थ्यको विरामीको संख्या बढ्ने भयो। उपचार खोज्ने विरामीको संख्या बढ्ने भयो नि त।

मेरुदण्डसम्बन्धी समस्या धेरै छन्, भौतिक रूपमा यो देखिन्छ?

मान्छेको आयु लम्बिदा पनि मेरुदण्डको समस्या बढेको छ। पहिले सर्वसाधारण ५७ वर्ष बाँच्थे भने अहिले ७०–८० वर्षसम्म बाँच्छन्। ४०–५० वर्षसम्म हड्डी राम्रै रहन्छ। त्यसपछि खिइन थाल्छ। मान्छे जति बढी बाँच्यो त्यति हड्डीको समस्या बढ्छ।

अर्को कारण अहिले पौष्टिक खानेकुरा छैन। बजारमा सबै मिसावट र विषादीयुक्त छ। गुणस्तरीय खाना छैन। त्यसले प्रत्यक्ष रूपमा हड्डी कमजोर बनाउँछ। प्रदूषण त्यत्तिकै छ।

मान्छे पहिलेको जस्तो विश्राम गर्दैनन्। प्रतिस्पर्धा बढी छ, बिहानदेखि बेलुकासम्म काममा खटिएका हुन्छन्। दैनिक ४०–५० किलोमिटर यात्रा गरेका हुन्छन्। त्यसले हाडजोर्नीमा भार पर्छ। त्यसले प्रत्यक्ष हड्डीमा समस्या पर्छ।

यो हाम्रो जीवनशैलीको उपजमात्र हो वा अरू कारण पनि छन्?

जीवनशैलीको उपज पनि हो र अहिले स्वस्थकर जिउने अवस्था अहिले छैन। खानादेखि वासको तौरतरिका राम्रो छैन। दुई पाइला हिँड्ने ठाउँमा अहिले मोटरसाइकल र गाडीमा जान्छ। दिनभर टेबुलमा बसेर काम गर्छ। व्यायाम छैन। व्यायाम नभए हड्डी कमजोर हुनु स्वाभाविक हो। हड्डी कमजोर भएपछि विभिन्न रोगले आक्रमण गर्छ। भौतिक र खाद्यान्नको पनि असर परेको छ। वातावरण र खाद्यान्न र प्रदूषणले हाम्रो जीवनशैली प्रभावित छ।

नेपालमा हड्डीको समस्याबारे आमबुझाइ कस्तो छ?

प्रायः दुई प्रकारका मान्छे देखिन्छन्। एक प्रकारका मान्छे स्वस्थ रहन चाहन्छन्। म स्वस्थ तरिकाले बस्न चाहन्छु भन्छन्। केही समस्या हुनासाथ अस्पताल जान्छन्। ढाड दुख्यो, नसा च्यापियो, गोडा झमझम गर्न थाले उपचार खोज्छन्। कतिपय चाहिँ उपचार गर्नुहुँदैन। नसा अप्रेशन गरियो भने कुँजो भइन्छ। यसैगरी दुःख सहेर बाँच्नुपर्छ भन्ने छन्। उहाँहरूलाई बुझाउन नसक्दा प्रायजसो ६०–६५ वर्षपछिका मान्छेमा हड्डीको समस्या देखिन्छ। व्यायाम, खानपान र अप्रेशनबाट उहाँहरूलाई स्वस्थ बनाउन सक्ने अवस्था हुँदाहुँदै पनि मान्छेले चाहँदैनन्। यस्तै हो भनेर त्यसलाई स्वीकारेर बस्ने पनि देखिएको छ।

युवामा पनि यस्तो समस्या देखिएको छ, किन?

युवामा पनि धेरै समस्या देखिएको छ। हामी स्कुलबाट घर पुगेपछि एकदुई घण्टा खेल्थ्यौँ, उफ्रिन्थ्यौँ। अहिले बालबालिकाहरू दिनभर स्कुलमा बेन्चमा बस्छन्। घर गएपछि ल्यापटप, आइप्याड चलाउँछन्। कम्प्यूटरमा गेम खेलेको छ। आजकालका युवाहरूमा व्यायाम कमी देखिन्छ। त्यसको असर हड्डीको स्वास्थ्यमा पर्छ। त्यसले गर्दा पछिल्लो पुस्तामा समस्या आउने हो कि भन्ने छ।

हाम्रोमा उपचार सेवा कस्तो छ ?

अहिले त धेरै राम्रो भएको छ। हड्डी र मेरुदण्डसम्बन्धीको धेरै राम्रो भएको छ। पूर्वदेखि पश्चिमसम्म अस्पताल छन्। महेन्द्रनगर होस् वा जुम्ला, त्यहाँ पनि सेवा छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काठमाडौँमा जस्तो अप्रेशन गरिन्छ। दक्ष जनशक्ति बाहिर गएर तालिम लिएर आउनुभएको छ। विभिन्न मेडिकल कलेजमा वर्कशप भइरहेको छ। त्यसकारण जनशक्तिको ले पछिल्लो दशपन्ध्र वर्षमा हाडजोर्नीको उपचारमा राम्रो सुधार देखिएको छ।

नेपालमा आमजनताको उपचार कत्तिको महँगो छ ?

अरूको दाँजोमा हाम्रोमा धेरै सस्तो छ। तैपनि सर्वसाधारण जनताको आर्थिक अवस्थाले गर्दा सबैले गुणस्तरीय स्वास्थ्य पाउन सकेका छैनन्। दबाइ त केही किनेर खाउँला। हाडजोर्नीको अप्रेशनको कुरा आउनासाथ घुँडा फेर्नुपर्‍यो। घुँडा फेर्ने मेसिन चाहियो। मेरुदण्डको नसा च्यापिएको छ। ढाड बाङ्गोटिङ्गो छ, सोझो पार्नुपर्‍यो। सामानै चाहियो। ती चिज महँगो छ। जनताले राम्रोसँग बीमा पनि पाएका छैनन्। यसले गर्दा जनताले सर्वसुलभ रूपमा स्वास्थ्य सेवा पाएका छैनन्। डाक्टरको क्षमता, विशेषज्ञको क्षमता छ। अस्पताल पनि धेरै छन्। तैपनि गरिबीको कारणले गर्दा सबैले पाएका छैनन्।

हजुरकोमा विरामीहरू कस्तो अवस्थामा आउने गरेका छन्?

रोग लागिसकेपछि विरामी समयमै अस्पताल आउन सकेका छैनन्। अस्तिन म मुगु गएको थिएँ। त्यहाँका जनता काठमाडौँ त परैको कुरा नेपालगन्जसम्म पनि आउन सकेका छैनन्। चाहिएका वेला उपचार पाउँदैनन्। पछि समस्या जटिल भइसकेपछि उपचार खोज्दा त्यसको उपलब्धि हुन सक्दैन।

गलत बुझाइका कारण समस्या भोग्नुपरेको त होइन?

अझै पनि मकहाँ ढाडका विरामी आउनुहुन्छ। अप्रेशन ग¥यो भने कतिपयलाई राम्रो गर्न सकिन्छ। उहाँहरूले केही समय व्यायाम गर्नुहुन्छ। औषधि पनि खानुहुन्छ। ढाडमा सुई लगाउन सम्झाउनुपर्छ। अहिले पनि जनमानसमा मेरुदण्डको अप्रेशन गर्नुहुँदैन, गर्‍यो भने हातगोडा चल्दैन, पक्षघात हुन्छ भन्ने धारणा छ। हामीले आफ्नो शैलीमा उपलब्ध स्रोत, साधनबाट हामीले गर्नसक्छौँ। अहिले दक्ष जनशक्ति प्रशस्त छ। त्यसकारण जहाँ दक्ष जनशक्तिले उपचार हुन्छ, त्यो ठाउँ पत्ता लगाएर उपचार गर्‍यो भने जटिल छैन। मेरुदण्डको उपचारबाट फाइदा नै हुन्छ।

मेरुदण्डको अप्रेशन गरेको विरामी धेरै समय बाँच्दैन भन्ने आमबुझाइ छ नि?

अब त्यो छैन। मेरुदण्डको उपचार गरिसकेपछि झन् उभिएर हिँड्न सकिन्छ। मेरुदण्डमा नसा च्यापिएर हातखुट्टा नचल्ने विरामी पहिले ओछ्यानमा पर्थे। ओछ्यानमा परेपछि विभिन्न समस्याले घाउ हुन्थ्यो र बित्थे। अब त्यस्ता विरामीलाई हामी ओछ्यानमा सुताउँदैनौँ, जति सक्यो अप्रेशन गरेर ढाड सिधा बनाएर ह्वीलचेयरमा बसाउने, डुलाउने गर्छौं। जब मान्छे आफ्नो काम आफैँ गर्न थाल्छ तब आयु लम्बिन्छ। ढाडको अप्रेशन गरेपछि मान्छे मर्छन् भन्ने छैन।

दुर्घटनापछि अस्पतालमा उपचार गराउन आउने क्रममा के कस्ता व्यावहारिक र नीतिगत समस्या भोग्नुपरेको छ?

सबै कुरा आर्थिक भारमा आएर ठोक्किन्छ। हाडजोर्नीका धेरै रोगी दुर्घटनाबाटै आउनुहुन्छ। उहाँहरूको उपचारमा आर्थिक समस्या छ। उपचार महँगो छ। डाक्टरले उपचार गर्न जानेको छ तर यो आवश्यक उपकरण महँगो छ। सबै अस्पतालमा सबै चिजको सुविधा छैन। दुर्घटना भइसकेपछि कुन अस्पतालमा जाने भन्ने कुनै मापदण्ड छैन। जता पायो त्यता दौडियो। विरामीलाई बचाउने क्षमताको पूर्वाधार छ कि छैन, त्यो हेरिएको छैन। त्यस्तो नीति छैन। त्यसले गर्दा रुमल्लिएको छ।

अन्तिममा जनतालाई यहाँको सन्देश के छ?

रोग लाग्नुपूर्व हामीले विचार गर्नुपर्छ। दुर्घटना हुनुअघि यसबाट बच्नुपर्छ। हाडजोर्नीको रोग छ भने एकदुई दिन हेरौँ भनेर नबसौँ। दुर्घटना भयो भने तत्काल अस्पताल जाऔँ। स्वस्थ रहनुपर्‍यो। सबैले दैनिक व्यायाम गर्नुपर्‍यो। दैनिक कमसेकम ४५ मिनेट हिँड्नुपर्‍यो। स्वच्छ खानेकुरा खानुपर्‍यो। बिहानदेखि बेलुकीसम्म काम मात्रै होइन। बीच बीचमा समय निकालेर व्यायाम गर्नुपर्‍यो।

यसैगरी मद्यपान र धुम्रपान गर्नुभएन। धुम्रपानले हड्डी कमजोर हुन्छ। पान गुट्खाले पनि हड्डी पातलो बनाउँछ। हड्डी बलियो बनाउन प्रोटिन र क्याल्सियममा जोड दिनुपर्‍यो। जंकफुड खानु भएन। त्यसमा भएका रासायनिक पदार्थले हाम्रो हड्डी पातलो बनाउँछ। महिलाहरूको महिनावारी रोकिइसकेपछि आठदश वर्षमा हड्डी धेरै पातलो हुँदै जान्छ। त्यस्तो अवस्थामा व्यायाम गर्ने, क्याल्सियमयुक्त भोजन खानुपर्छ। भिटामिन डी खान मेरो सुझाव छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.