|

काठमाडौँ : गत २१ फागुनमा नयाँ सत्ता समीकरण निर्माणसँगै फेरि वामपन्थी एकता तथा समाजवादी ध्रुवीकरणको चर्चा चलेको थियो। सत्ता समीकरणमा अधिकांश वामपन्थी दल सहभागी रहेकाले यो चर्चा अस्वाभाविक थिएन। सत्ता सहकार्यका लागि सहमत दलका कतिपय नेताले ‘वामपन्थी एकता तथा ध्रुवीकरणको शुरुवात’कै रूपमा सत्ता समीकरणलाई अर्थ्याएका थिए। 

तर सत्ता समीकरणभित्रको प्रमुख घटक नेकपा एमाले नै तयार नदेखिँदा वामपन्थी एकता तथा ध्रुवीकरणको सम्भावना टरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकमा पेश गरेका राजनीतिक प्रतिवेदनमा अहिल्यै यो कदम उचित, व्यावहारिक र लाभदायी नहुने निष्कर्ष निकालिएको छ। 

मुलुकका गम्भीर प्रश्नहरूमा सबै दलबीच न्यूनतम समझदारीको खाँचो रहेकाले कसैलाई निषेध गर्दै वामपन्थी एकता तथा समाजवादी ध्रुवीकरण तत्काल उचित नहुने ओलीको प्रतिवेदनमा औँल्याइएको छ। प्रतिवेदनमा त्यसका लागि विश्वासको वातावरण बन्न पनि बाँकी रहेको उल्लेख छ। 

‘मुलुकमा जस्ता गम्भीर समस्या छन्, तिनको समाधानका लागि सबै राजनीतिक दलहरूबीच निरन्तर संवाद आवश्यक छ। मुख्य प्रश्नहरूमा न्यूनतम समझदारीको खाँचो छ। अनि विचार मिल्नेहरूमाझ सहकार्य आवश्यक छ। त्यसैले यति नै वेला निश्चित दल, विचार या शक्तिलाई निषेध गर्ने गरी अगाडि बढाइने वामपन्थी एकता या समाजवादी ध्रुव या अन्य कुनै नाममा गरिने ध्रुवीकरण उचित, व्यावहारिक र लाभदायी हुँदैन’‚ प्रतिवेदनमा भनिएको छ, ‘सहकार्य गहिरो हुँदै र विश्वासको वातावरण निर्माण हुँदै जाँदा भोलि विचार मिल्नेहरू क्रमशः एकै ठाउँमा हुँदै जानेछन्। त्यसो हुनु पनि पर्छ तर आजको दिनमा भने सबै सकारात्मक शक्तिलाई साथ लिएर अगाडि बढ्नु बढी महत्त्वपूर्ण छ।’ 

त्यसो त एमालेले शुरुदेखि नै वर्तमान सत्ता समीकरणलाई वामपन्थी एकता वा ध्रुवीकरणका रूपमा नलिन आग्रह गर्दै आएको थियो। एमाले महासचिव शंकर पोखरेलले निरन्तरजसो अहिलेको सहकार्य न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्पको आधारमा मात्र भएकोले यसलाई वामपन्थी एकताको दिशातर्फको यात्राका रूपमा नबुझ्न आग्रह गर्दै आएका छन्। 

‘अहिलेको सरकार वा पाँच दलको सहकार्य वामपन्थी सहकार्य होइन। यद्यपि त्यहाँ वामपन्थी दलको सहभागिता बढी छ। यो सहकार्य न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्पमा आधारित सहकार्य हो। त्यसमा सहमत भएका दलहरूको सहकार्य हो’, १३ चैतमा एमाले बागमतीको बैठकमा उनले भने, ‘हामीले जे हो त्यही रूपमा बुझ्नुपर्छ। यो वामपन्थी मोर्चा वा गठबन्धन वा त्यस दिशातर्फको यात्रा भनेर जुन टिप्पणी छ, त्यसमा उद्वेलित हुनुपर्ने वा प्रभावित हुनुपर्ने आवश्यकता छैन।’

महासचिव पोखरेलले त्यसअघि १० चैतमा एमाले कास्कीको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै यही आशयको अभिव्यक्ति दिएका थिए। माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आत्मालोचना गरेपछि मात्रै सहकार्य पनि अघि बढेको उनको दाबी थियो।

सत्ता समीकरणभित्रको अर्को दल नेकपा समाजवादी पनि एमालेकै लाइनमा देखिन्छ। शनिबार मात्रै नेकपा समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले वर्तमान परिस्थितिमा कम्युनिष्ट पार्टीहरूबीच तत्काल एकताको सम्भावना नरहेको बताए।

धादिङ–काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा उनले कम्युनिष्ट एकताका लागि विचार, कार्यदिशा र सिद्धान्तमा आवश्यक छलफल गर्न बाँकी रहेकाले अहिले एकता नहुने बताए।

नेकपा समाजवादीका सम्मानित नेता झलनाथ खनालले भने निरन्तर वामपन्थी एकताको पक्षमा वकालत गर्दै छन्। वर्तमान गठबन्धन बन्दै गर्दा उनी केही उत्साहित थिए। उनकै पार्टी र एमाले यसका लागि तयार नभए पनि उनले भने अहिले पनि मुलुकमा अस्थिरता, दिशाहीनता र अकर्मण्यता अन्तका लागि वाम घटकहरू एक हुनुपर्ने बताउँदै आएका छन्। 

सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र शुरुदेखि नै वामपन्थीहरूबीचको ध्रुवीकरणकै रूपमा वर्तमान सत्ता समीकरणलाई व्याख्या गर्दै आएको छ। माओवादी सचिव देवेन्द्र पौडेलले नेपालको राजनीतिलाई ‘कोर्स करेक्सन’ गरेर वामपन्थी ध्रुवीकरणतर्फ लैजानुपर्छ भनेर नयाँ गठबन्धन बनाइएको दाबी २१ फागुनमै गरेका थिए। 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग उनले भनेका थिए, ‘वामपन्थी दलहरू एक होऊन् भन्ने नेपाली जनताको चाहना हो, वामपन्थी कमजोर हुने अवस्था आउन नदिन उक्त ‘स्टेप’ चालिएको हो।’

माओवादी अहिले पनि यसैमा अडिग छ। वामपन्थी एकता तथा ध्रुवीकरणबाहेक अर्को बाटो नै नभएको सचिव पौडेल बताउँछन्। ‘सहकार्यसँगै वामपन्थी एकता शुरुवात भएकै हो’, उनी भन्छन्, ‘तर अहिले एमालेले त्यसो भने पनि जाने त्यतै हो‚ अर्को बाटो छैन।’ 

प्रचण्ड स्वयंले पनि वामपन्थी शक्तिलाई एकै ठाउँमा ल्याउने लक्ष्यका साथ नयाँ समीकरण निर्माण गरिएको बताउँदै आएका छन्। १२ चैतमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको बागमती प्रदेश समितिको बैठकलाई सम्बोधन गर्दै वामपन्थी शक्तिलाई एकै ठाउँमा ल्याउने लक्ष्य राखिएको बताएका थिए। 

एकीकरणको आवश्यकता र औचित्यबारे वाम घटकहरूबीच नै मतैक्य नभएपछि तत्काललाई यो सम्भावना दूर भएको छ। ३ जेठ २०७५ मा एक भएर सर्वोच्च अदालतको आदेशबाट करिब तीन वर्षपछि पुरानै अवस्थामा फर्किएका एमाले र माओवादीलाई फेरि एक गराउन लागेका वामदेव गौतम पनि एमालेको निष्कर्षसँगै निराश बनेका छन्।

‘गएको स्थानीय तहको निर्वाचनमा ओली सहमत हुनुभएको थियो, प्रचण्ड र माधव नेपालले ओलीको नाम सुन्नै चाहनुभएन, बिग्रिहाल्यो। निर्वाचनपछि बाँकटे हानेर दुई महिना प्रचण्डले सरकार चलाउनुभयो तर फेरि फर्किहाल्नुभयो। फेरि अहिले सहकार्य शुरु त भयो तर एमालेले जसरी प्रतिक्रिया दिइराख्या छ‚ त्यसले असम्भव तुल्यायो।’ 

वामशक्तिलाई एक गराउने प्रयासमा अब आफू विफल भएको नेता गौतम स्वीकार्छन्। ‘मेरो उद्देश्य वामपन्थी एकता हुनुपर्छ भन्ने नै हो तर म एउटाले भनेर मात्र नहुने रहेछ। पछाडि शक्ति निर्माण हुनुपर्दो रहेछ। शक्ति निर्माण भएन। त्यसो भएर मैले गर्न सकिनँ’, उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.