|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले कम्युनिष्टहरुको पुनः वाम एकता हुने संकेत गरेका छन्।

सोमबार नेकपा एमालेको पार्टीक केन्द्रिय कार्यालय च्यासलमा भएको नरबहादुर कर्मचार्यको तेस्रो वार्षिक केन्द्रिय सभालाई सम्बोधन गर्दै उनले यस्तो संकेत गरेका हुन्।

उनले कम्युनिष्टहरुलाई एकतावद्ध गर्नु नै अबको देशको, गणतन्त्रको, राजनीतिक संघर्षको निम्ति आवश्यकता रहेको मनन गरेर ०७४ सालमा वाम एकता गरेको स्मरण गर्दै उनले राम्रो कामका लागि प्रयास जारी राख्ने बताए।

उनले कम्युनिष्टहरुको वाम एकतालाई आम जनताबाट अनुमोदन भएको भन्दै सही कामको निम्ति प्रयास जारी राख्ने बताए।

उनले राष्ट्रिय स्वाधिनता, सुदृढिकरण, लोकतन्त्रको सुदृढिकरण र जनताका दैनिक समस्या समाधानका निम्ति समाजवादको विकल्प नरहेको बताए। उनले समाजवाद नै अबको क्रान्तिको बाटो भएको बताए।

उनले कम्युनिष्टहरु कुनै न कुनै रुपले सहकार्य र एकतामा जान आवश्यक रहेको बताए। उनले चुनौतीको सामना र जोखिमहरु उठाउँदै अघि बढ्ने कम्युनिष्ट आन्दोलन र वर्ग संघर्षको नियम भएको बताए।

राष्ट्रिय एकताको निम्ति जोखिम उठाउन, राष्ट्रिय स्वाधिनता, वामपन्थी एकताको निम्ति जोखिम उठाउनु, कम्युनिष्ट आन्दोलनको राम्रो भविष्यको निम्ति जोखिम उठाउनु राम्रो भएको भन्दै सबैले साथ र सहयोग गर्नुपर्ने बताए।

उनले भने, ‘नरबहादुर कर्मचार्यले कम्युनिष्टहरु एक ठाउँमा हुनुपर्छ भन्नुभएको थियो। हामी कम्युनिष्टहरु एकतावद्ध हुँदै पनि गयौँ। सायद नरबहादुर कर्मचार्य जस्ता पुराना पिढीका निष्ठावान नेताकै कारण हामीले पनि कम्युनिष्टहरुलाई एकतावद्ध गर्नु नै अबको देशको, गणतन्त्रको, राजनीतिक संघर्षको निम्ति आवश्यकता छ भन्ने चेतना प्राप्त भयो। त्यही चेतनाको बलमा हामीले प्रयोग पनि गरेकै हो। विभिन्न कारणले त्यसलाई बचाउन सकेनौँ। तर एक पटक असम्भव भयो भन्दैमा सही कामको निम्ति हामीले प्रयासलाई छोड्न हुँदैन। हामी निरन्तर प्रयास गरि नै राख्नुपर्छ।'

प्रधानमन्त्री दाहालले मानव जाति जतिसुकै विकसित भए पनि जलवायु परिवर्तनको कारणले यदि प्रकृति, समाज र मानव चिन्तन भन्दा बाहिर गएर गतिविधि गर्न थाले प्रकृतिले जवाफ दिने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.